बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
कर्णालीमा कांग्रेस रुपान्तरण अभियान

देउवाका कारण कांग्रेसको भविष्य संकटमा परेको निष्कर्ष !

मङ्गलबार, २३ जेठ २०८०, १९ : ३६
मङ्गलबार, २३ जेठ २०८०

 सुर्खेत । नेपाली कांग्रेसका युवा नेताहरुले चलाइरहेको कांग्रेस रुपान्तरणको अभियान मंगलबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा चल्यो । जहाँ सहभागी अधिकांश नेता, कार्यकर्ताले कांग्रेस सभापति शेरबहादुर देउवाको कारण कांग्रेसको भविष्य संकटमा परिरहेको बताए । 

निकै लामो समयसम्म चलेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई जिज्ञासा राख्न दिइएको थियो । सो क्रममा अधिकांश युवा नेताहरुले कांग्रेस कमजोर हुनुको प्रमुख कारण देउवा रहेको बताए । 

कांग्रेस रुपान्तरण अभियानका कर्णाली प्रदेश संयोजक एवं युवा नेता भुपेन्द्रजंग शाहीले नेपाली कांग्रेसलाई सशक्त, लोकप्रिय र  गतिशील पार्टीका बनाउन रुपान्तरणको अभियान नै चलाइनु परेको बताए । 

उनले पार्टीभित्र बढ्दै गएको अराजकता, पक्षपात, नातावाद, धनवाद र डनवादको अन्त्य गरिनुपर्ने तर्क राखे । ‘हाम्रो अभियान कसैलाई कमजोर पार्न, कसैको जय–जयकार गर्ने र निश्चित समूहको स्वार्थ र हितमा काम गर्ने अभियान होइन,’ शाहीले भने,‘सिङ्गो पार्टीलाई बलियो बनाउने र पाटीकै हितका लागि अग्रसर गराइएको अभियान हो ।’ 

शाहीले अगाडि थपे,‘पार्टीलाई केही व्यक्ति, गुट, स्वार्थ समूहले परम्परावादी रुपमा संचालन गर्ने कि, रुपान्तरणयुक्त लोकप्रिय पार्टीका रुपमा स्थापित गर्ने भन्ने बिषयमा यो अभियानले दिशानिर्देश गर्नेछ ।’ 

कांग्रेसका युवा नेता गुरुराज घिमिरेले कांग्रेस रुपान्तरण अभियानले पार्टी भित्रको फोहोर बढारिने बताए । पार्टीभित्र विधि भन्दा व्यक्ति हाबी भएकोले समस्या जटिल रहेको घिमिरेको तर्क छ । 

‘कांग्रेस कांग्रेस जस्तो छैन, विधि भन्दा व्यक्ति प्रधान भएको छ,’ उनी भन्छन्,‘ जे गरे पनि टुलुटुल हेर्न नसकेर रुपान्तरणको अभियानमा लागेका हौँ । पार्टी रुपान्तरण गर्ने हाम्रो संकल्प हो ।’ पार्टीका भ्रातृसंस्थामा एकजना मात्र मनोनीत गरेर सभापति देउवाले तदर्थवादलाई बल पु¥याएको उनले आरोप लगाए ।  

युवा नेता जगदीश्वर नरसिंह केसीले कांग्रेस कमजोर हुनु नेतृत्व अर्थात् देउवा दोषी रहेको बताए । देउवाकै भूमिका गलत भएकाले पार्टी दिन–प्रतिदिन अलोकप्रिय बन्दै गएको उनको भनाई थियो । 

उनले ०७४ सालमा पार्टीले प्राप्त गरेको समानुपातिक मत भन्दा ०७९ सालको निर्वाचनमा समानुपातिक मत घट्नुको मुख्य दोषी सभापति देउवा रहेको बताए । ‘कांग्रेस पुरानो ढर्राले चल्दैन, त्यसका लागि गुटरहित अभियान हामीले सञ्चालन गरेका हौँ,’ उनले भने । 

नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष रञ्जित कर्णले अहिलेको कांग्रेसमा वीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाबाबु जस्ता आदर्श नेताहरुको अनुहार, विचार, सिद्धान्त र आदर्श केही पनि नदेखिएको बताए । खाली अवसरवाद पार्टीभित्र हाबी भइरहेको भन्दै उनले पार्टीको हित भन्दा पनि आफ्नो हित कसरी गर्नेमा नेतृत्व व्यस्त रहेको आरोप लगाए । 

‘हरेक निर्णय गर्दा पार्टी र कार्यकर्तालाई केन्द्रमा नराखी आफ्ना व्यक्तिगत स्वार्थ केन्द्रमा राखेर निर्णय गरिन्छ,’ उनले भने,‘अब यो कुरा सह्य हुँदैन, विद्रोह हुन्छ ।’  

यस्तै देवराज चालिसे, रिता शाही, सुभाष पोख्रेल, युवराज पाण्डे, नविन श्रेष्ठ, लक्ष्मी पाण्डे, धर्मेन्द्र नेम्वाङ, बिजुला बर्मा लगायतले पार्टी रुपान्तरणको विकल्प अब नरहेको बताए । साथै, उनीहरुले नेतृत्वलाई रुपान्तरण हुनका लागि बाध्य पारिने र नभए विकल्पको खोजी गरिने दाबी समेत गरे ।  

खाणलाई निलम्बन गरिनुपर्ने आवाज

कार्यक्रममा सहभागी कर्णालीका नेता तथा कार्यकर्ताहरुले भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टीका नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने बताएका थिए । 

कांग्रेस सल्यान जिल्ला सदस्य रमेश केसी र रुकुमका युवा नेता चिरन्जीवी मल्ले पार्टीभित्रको फोहोर कार्पेटमुनि किन लुकाइँदैछ भन्दै प्रश्न उठाए । दैलेखकी महिला नेतृ कमला शाहीले पार्टीको समावेशीताको कार्यन्वयन नेताका आसेपासेमा मात्र लागु भएको बताइन् । उनले कांग्रेसमा लोकतान्त्रिक आचरण र समानुपातिक समावेशीताको सिद्धान्त हराउदै गएको भन्दै आक्रोश पोखिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप