बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

लोकतन्त्रलाई सुदृढ तुल्याउन राजनीतिक इमान्दारी अपरिहार्य : पूर्वराष्ट्रपति यादव

सोमबार, २९ जेठ २०८०, २२ : ४१
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले लोकतान्त्रिक प्रणालीलाई सुदृढ तुल्याउन विधिको शासन र राजनीतिक मूल्यमान्यताको असल अभ्यासलाई स्थापित गर्न जरुरी भएको बताएका छन् । शैलजा आचार्य आदर्श समाजले आज यहाँ आयोजना गरेको ‘शैलजा आचार्यको प्रेरणा र सान्दर्भिकता : भ्रष्टाचार विरोधी हाम्रो प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उनले राजनीतिक दलभित्र देखिएका विकृतिलाई सुधार गरी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको दिशामा सबै अग्रसर हुनुपर्नेमा जोड दिए। 

“लोकतान्त्रिक प्रणाली रह्यो भने समग्र शासन प्रणाली राम्रो हुन्छ”, पूर्वराष्ट्रपति यादवले भने, “त्यसैले प्रणाली बचाएर गयो भने सुधार हुन्छ, अहिले युवापुस्तामा छटपटी बढेको छ । पुराना नेताको योगदान र कदरलाई आत्मसात् गरेर अघि बढ्न सकेमात्र लोकतन्त्र बलियो हुन्छ ।”

यादवले राजनीतिमा निष्ठा र इमान्दारीको खडेरी परेको टिप्पणी गर्दै उनले गठबन्धन संस्कृति, राज्य संयन्त्र, संवैधानिक निकायलगायतमा भागबन्डा र दलगत स्वार्थको संस्कृतिले लोकतन्त्रलाई कमजोर तुल्याउने बताए ।
उनले भने, “राजनीतिमा लाग्ने व्यक्तिले जनतालाई सर्वोपरि ठानेर आफ्नो निष्ठा र समर्पण भावका साथ अगाडि बढाउनुपर्छ । राजनीतिक पार्टीभित्रै प्रणालीको सुधार हुनुपर्छ । जबसम्म विधि र कानूनको शासन सही ढङ्गले जाँदैन र नेतृत्व सही ढङ्गले अघि बढ्दैन तबसम्म प्रणाली र पद्धति स्थापित हुन सक्दैन ।”

पूर्वराष्ट्रपति यादवले प्रजातन्त्र र लोकतन्त्रलाई स्थापित गर्न भूमिका निर्वाह गरेका निष्ठावान् राजनीतिज्ञ शैलजा आचार्यको त्याग र योगदानलाई नेतृत्वले अनुसरण गरेर युवापुस्तामाझ पुस्तान्तरण गर्नसकेको खण्डमा उनीप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गरे ।

उनका अनुसार राजनीतिक दलभित्र प्रणाली सुधार गर्नुपर्छ । पार्टीभित्र जनप्रतिनिधि चयनमा विभिन्न चलखेल हुने गरेको छ । समानुपातिक टिकट वितरणमा ठूलो समस्या प्रजातान्त्रिक पार्टीमै छ । कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले मूल्य र मान्यताको संस्कृति हराउँदै गएको तर भ्रष्टाचार र बेथिति बढेको छ भन्दै यसले लोकतन्त्रलाई कमजोर पार्ने आशङ्का व्यक्त गरे ।

उनले भने, ‘थोत्रो घरमा मुसाले दुःख दिएजस्तो नेपालमा भ्रष्टाचारले त्यस्तै रूप लिएको छ । भ्रष्टाचारी र बेइमानीको हाईहाई हुने तर असल र इमान्दार व्यक्तिको आत्मसम्मान छैन, यो विडम्बना हो असल मान्छेको खोजीको संस्कृति भएन ।”

शैलजा आचार्यको मूल्यमान्यता र आदर्शलाई नयाँ पुस्तामा कसरी पुर्याउने भन्ने चुनौती रहेको पनि उनले बताए । वरिष्ठ पत्रकार हरिबहादुर थापाले ‘इमान्दार’ शब्द नै हराउँदै गएको, आपराधिक व्यक्तिहरू सङ्गठित हुँदै गएको र इमान्दारहरू छिन्न भिन्न हुँदै गएको भन्दै संसदीय व्यवस्था र लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि निरन्तर खबरदारी जरुरी भएको उल्लेख गरे ।

उनले मुलुकमा लोकतान्त्रिक प्रणाली बलियो बनाउन तथा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा शैलजा आचार्यको महत्त्वपूर्ण योगदान रहेको बताए । सांसद कमला पन्तले शैलजा आचार्यको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको आदर्शलाई आत्मसात् गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले जलविद्युत्को विकासमा समेत आचार्यको महत्त्वपूर्ण योगदान रहेको बताए । कार्यक्रममा भ्रष्टाचारविरुद्ध निरन्तर खोज तथा अनुसन्धानमा सक्रिय रही असल शासन प्रवर्द्धनमा भूमिका खेलेको भन्दै पत्रकार हरिबहादुर थापालाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । संस्थाका तर्फबाट पूर्वराष्ट्रपति यादवले पत्रकार थापालाई सम्मान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप