बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
पौराणिक कथा

राजा बलिको चातुर्य

शनिबार, ०२ असार २०८०, १० : ४१
शनिबार, ०२ असार २०८०

राजा बलिको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनी अष्ट चिरञ्जीवीमध्येमा पनि पर्छन् । चिरञ्जीवी भन्नाले कल्पान्त जीवी भनेर बुझिन्छ, जसमा ४ अर्ब ३२ करोड वर्ष पर्छ । एक पटक उनी सत्कर्मको बलले स्वर्गको समेत राजा हुन पुगेका थिए । 

यहाँ उनै राजा बलि पूर्व जन्ममा को थिए र अर्को जन्ममा कसरी राजा बलि बनेर चिरञ्जीवमा गनिन पुगे भन्नेसम्बन्धी कथा प्रस्तुत गरिएको छ ।

राजा बलि पूर्व जन्ममा नामूद जुवाडे थिए । जुवाबाटै उनको सर्वस्व गुमेको थियो । प्रायः सबै जुवाडेको उद्देश्य अर्काको सम्पत्ति हत्याउने भन्ने नै हुन्छ । उनी पनि यही चाहन्थे । तर, सधैँ चाहेजस्तै हुन्छ भन्ने भने हुँदैन । 

जसले जुन उद्देश्यले खेले पनि जुवा भनेको आखिर जुवा नै हो । खेल्न त सबैले जित्छु भनेर नै खेलेका हुन्छन् तर सधैँ जितिन्न । अनि जसले हार्छ, उसले यही हारेको सम्पत्ति फर्काउँछु भनेर थप बाजी लगाउँदै जान्छ र कति बेला सर्वस्व सकिन्छ पत्तै हुँदैन । ती जुवाडेलाई पनि त्यस्तै भएको थियो ।

जुवामा सम्पत्ति सकिनु के थियो, उनको भाउ पनि सकियो । संसारमा सबै शक्ति र सम्पत्तिको पूजारी हुन्छन् । शक्ति र सम्पत्ति छउन्जेल सबैले हाइहाई गर्छन्, सकिएपछि कसैले पनि वास्ता गर्दैनन् । यसमा उनी मात्र अपवादमा पर्ने कुरै थिएन । 

जब सम्पत्ति सकियो तब बिस्तारै अरूले वास्ता गर्न छाड््दै गए । हुँदा हुँदा यस्तो दिन पनि आयो, परिवारकै सदस्यले समेत वास्ता गर्न छाडे । 

त्यसपछि उनी बेवारिसे बने । जहाँ पुग्यो त्यहीँ बस्थे, जे मिल्थ्यो त्यही खान्थे । यसरी भौँतारिने क्रममा एक दिन उनको एउटी नगरबधुसित भेट भयो । नगरबधुसँग भेट हुनु के थियो, उनी उनकै दास बन्न पुगे । 

उनी नगरबधुलाई माया गर्थे । नगरबधु पनि उनलाई माया गरेको देखाउने त गर्थिन् तर उनको माया भने देखावटी थियो । नगरबधुको माया भने उनीसित नभई उनको जवानीसित थियो । उनी मायाको नाटक गर्थिन् । जुवाडे त्यसैलाई सत्य ठानी पछि लाग्ने गर्थे ।

एकदिन उनी कतै जाँदै थिए, बाटामा एउटा सुन्दर माला देखे । माला देख्नासाथ उनलाई उनै नगरबधुको याद आयो । र, किनेर उनकै घरतिर लागे तर भइदियो के भने उनको घर नपुग्दै नराम्रोसित दुर्घटना परी मरणासन्न अवस्थामा पुगे । 

त्यस्तो अवस्थामा पनि उनको ध्यान भने नगरबधुमा नै थियो । उनी चाहन्थे, जसरी भए पनि माला नगरबधुसमक्ष पु¥याउनै पर्छ तर गर्ने के ? आफैँ हिँड्न सक्दैनथे, अरूहरू कसलाई भन्ने ? भने पनि सुन्ने को ? त्यत्तिकैमा नजिकै कुनै एउटा शिवलिङ्ग देखिएकाले माला त्यहीँ समर्पित गरी प्राण त्याग गरे । 

त्यसपछि उनी यमदूतका साथमा तत्कालै यमलोक पुगे । उनलाई देखेपछि यमराजले सोधे–

‘मनुवा ! तिमीसँग पाप धेरै र पुन्य थोरै रहेछ । भन पहिले कुन भोग्छौ ?’

यमराजको कुरा सुनेर उनी सोच्न लागे– ‘हो, यमराजले ठीकै भनेका छन् । मैले जीवनमा पाप धेरै गरेको छु । साँच्चै भन्नुपर्दा पाप मात्रै गरेको छु । त्यतातिर लाग्ने हो भने थाहा छैन कति कति युग बित्ने हो । त्यसैले पहिले पुन्य नै भोग्छु भन्नुपर्छ होला ।’ 

उनलाई सोचमग्न देखेर यमराजले भने–

‘के सोच्दै छौ मनुवा ! भन पाप र पुन्यमध्ये पहिले कुन भोग्न चाहन्छौ ? तर भोग्न भने दुवै पर्छ । आफूले गरेको कर्मको फल नभोगी देव, दानव र मानव कसैले पनि छुट पाउँदैनन् ।’ 

त्यसपछि उनले दुई हात जोर्दै भने–

‘भगवान् ! ठीकै छ, त्यसो हो भने त्यही सही । भरेको कुरा भरे नै होला, अहिलेलाई पुन्य नै भोग गर्ने अवसर मिलाइदिनु होला ।’

त्यसपछि उनलाई यमराजले केही समयका लागि स्वर्गको राजा बनाइदिए । जब स्वर्गको राजा बने, तब त्यहाँका श्रीसम्पत्ति एक एक गरी गरिब, दीन, दुःखी र असहायको  नाममा लुटाउन थाले । फलतः चाँडै नै उनले यति बढी पुन्य कमाए कि त्यसैको प्रभावले स्वर्गबाट फर्कनै नपर्ने अवस्थामा पुगे ।  

अब पहिलेका राजा इन्द्रलाई आपत प¥यो । केही समयको लागि भनेर दिएको सदाका लागि उनकै हुने भो । त्यसैले उनी भगवान् विष्णुसमक्ष हारगुहार गर्न पुगे तर विष्णुले पनि के गरुन् । बलिले त्यो राज्य सत्कर्मको प्रभावले पाएका थिए । यस्तो अवस्थामा सिधै खोसेर लिने तागत उनीसँग पनि थिएन । 

त्यसैले, त्यसलाई फिर्ता गर्न उनलाई वामन बटुक बनेर राजा बलिसमक्ष भिक्षा माग्न जानुपरेको थियो । 

आफ्नो एकै वचनमा सर्वस्व दान गरेकाले वामन भगवान्ले खुसी भएर उनलाई कल्पान्त जीवी बन्ने आशीर्वाद मात्र दिएनन्, सुतलमा गएर आरामसँग बस्ने प्रबन्धसमेत मिलाइदिए ।  

यस पौराणिक कथामा के कति सत्यता छ, त्यो त व्यासजी नै जानून् तर गरिब, दीन, दुःखी अशक्त, असहाय र विरामीको हितमा दिएको दानको पुन्य बढी हुन्छ भन्ने कुरा भने सत्य हो । ‘परोपकार पुन्याय’ अर्थात् परोपकारभन्दा ठूलो पुन्य अर्को छैन भन्ने त नीतिमै उल्लेख छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप