मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
बजार

स्वदेशी गोलभेँडा दुई रूपैयाँमा बिकेन, भारतीय गोलभेँडाले पाउँछ ४५ रूपैयाँ

आइतबार, ०३ असार २०८०, १२ : ४२
आइतबार, ०३ असार २०८०

काठमाडौँ । स्वदेशी उत्पादनले बजार र बजार भाउ नै नपाएको भन्दै किसानले आज विरोधस्वरूप सडकमा गोलभेँडा फालेका छन् । स्वदेशी उत्पादन प्रतिकिलो ८ रूपैयाँ थोक मूल्य हुँदा पनि बिक्री नभएको भन्दै उपत्यकाका किसानले सडकमै गोलभेँडा फालेर बजार सुनिश्चितताको माग गरेका हुन् ।

भक्तपुरका किसान रमेश फुयालले गोलभेँडाको मुख्य उत्पादन सिजनमै बजार र बजार भाउ नपाउँदा आफूहरू मारमा परेको बताए । बजार भाउ नपाएको विरोधमा र सरकारलाई सचेत गराउन आज कालिमाटी फलफूल तथा तरकारी बजारमा सडकमा गोलभेँडा फालेर विरोध गरेको समेत उनले बताए ।

अर्गानिक युवक किसान सङ्घको सचिवसमेत रहेका फुयालले काठमाडौँ उपत्यकामा ३५ सय रोपानी क्षेत्रफलमा गोलभेँडा (टनेल) खेती भइरहेको बताए । यस क्षेत्रफलमा लगाइएका बोटमा औसतमा ८ किलो गोलभेँडा उत्पादन हुन्छ । यसअनुसार जेठ, असार र साउनमा उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) को उत्पादनले देशको सम्पूर्ण माग धान्ने उनको भनाइ छ ।

तर देशको सबैभन्दा ठुलो र मुख्य तरकारी बजार कालिमाटीमै गोलभेँडाको थोक मूल्य ८ रूपैयाँ प्रतिकिलो छ । यसको न्यूनतम मूल्य प्रतिकिलो ६ रूपैयाँ र अधिकतम मूल्य १० रूपैयाँ कायम रहेको बजार विकास समितिले जनाएको छ । समितिको वेबसाइटमा राखिएको तरकारीको मूल्यसूचीमध्ये सबैभन्दा सस्तो नै स्वदेशी गोलभेँडाको मूल्य देख्न सकिन्छ ।

यसको अर्थ देशको सबैभन्दा ठुलो तरकारी बजारमा बिक्ने कैयौँ तरकारीमध्ये स्वदेशी गोलभेँडा सबैभन्दा सस्तो छ । कालिमाटीमा हाल दुई प्रकारका गोलभेँडा बिक्रीवितरण हुँदै आएको छ । त्यहाँ ठुलो गोलभेँडा (भारतीय) र सानो गोलभेँडा (टनेल नेपाली) गरी दुई प्रकारको गोलभेँडा बिक्री भइरहेको हो ।

कालिमाटीलगायत देशका सम्पूर्ण स्थानमा स्वदेशी गोलभेँडाले न्यून मूल्यमा समेत बजार नपाइरहेको अवस्थामा भारतीय गोलभेँडा भने प्रतिकिलो ४५ रूपैयाँमा बिक्री भइरहेको छ । भारतीय गोलभेँडा (ठुलो) को थोक मूल्य नै ४५ रूपैयाँ छ । यो नेपाली उत्पादनको तुलनामा झन्डै ६ गुणाले बढी हो ।

तीन महिनाको अवधिमा उपत्यकाको उत्पादनले नै सम्पूर्ण देशको माग धान्न सक्ने उत्पादकहरूको भनाइ छ । आर्गानिक युवक किसान सङ्घका अनुसार हाल उपत्यकाका गोलभेँडा काठमाडौँ र पोखराबाहेक अन्यत्र बिक्री भइरहेको छैन । काठमाडौँको पनि थोरै हिस्सा मात्रै स्वदेशी गोलभेँडाले ओगटेको छ । कालिमाटी बजार विकास समितिले नै भारतीय गोलभेँडालाई प्राथमिकतामा राख्ने गरेको किसानहरूको आरोप छ ।

आजभन्दा तीन दिनअघिसम्म पनि कालिमाटीमा भारतबाटै सानो गोलभेँडा आइरहेको थियो । जसका कारण स्वेदशी उत्पादनले न्यून मूल्यमा समेत बजार नपाइरहेको किसानको गुनासो छ । हाल थोक मूल्यमा ८ रूपैयाँ कायम भएको गोलभेँडाको किसानले पाउने मूल्य प्रतिकिलो दुई रूपैयाँ छ । जबकि यसको उत्पादन लागत नै ३५ रूपैयाँ रहेको सङ्घको भनाइ छ ।

यसअघि जेठ १५ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी कृषि उपज वस्तुलाई प्राथमिकतामा राख्ने बताएका थिए । उनले नेपालमा उत्पादन नै नहुने प्याज तथा स्वदेशी उत्पादनको हिस्सा ४० प्रतिशत रहेको आलुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेका थिए । उनले स्वदेशी गोलभेँडा लगायतका वस्तुलाई भने प्राथमिकतामा राख्ने विषयमा सोच पुर्याउन सकेनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप