आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कृषि अनाजको उचित मूल्य व्यवस्था गर्न सांसद बर्तौलाको माग

आइतबार, ०३ असार २०८०, १३ : ०१
आइतबार, ०३ असार २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले किसानले उत्पादन गरेका गोलभेँडालगायतका कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले कालीमाटी बजारमा गोलभेँडाको उचित मूल्य नपाउँदा खेरी किसानहरूले सडकमा नै त्यसलाई फ्याँक्नुपर्ने अवस्था आएको दृष्टान्त पेश गर्दै ती सबै कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

‘हाम्रो देश नेपाल कृषि प्रदान देश हो । हामी बैठकमा सहभागी भइरहेको बेलामा यति नै खेर सयौँ किसानहरू काठमाडौँको कालिमाटीमा उपस्थित भएर उहाँहरूले आफूले उत्पादन गरेको हजारौँ केजी टमाटरलगायत कृषि उत्पादनहरू कालीमाटी चोकमा सडकमा फ्याँकेर आन्दोलन गरिरहनु भएको छ’ उनले भने, ‘उहाँहरूले निकै धेरै मात्रामा नेपाली किसानहरूले तरकारी उत्पादन गरिरहनु भएको छ । गोलभेँडा उत्पादन गरिरहनु भएको छ । तर आफूले उत्पादन गरेको तरकारी आफूले उत्पादन गरेको मूल्य उहाँहरूले पाउन सक्नुभएको छैन । उहाँहरूको प्रतिकेजी उत्पादन लागत नै करिब २०/२५ रुपैयाँ पर्छ । तर उहाँहरूले मूल्य पाउँदाखेरी आज ४/५ रुपैयाँ पाउन पनि गाह्रो छ । किसानहरूको ढुवानीको लागि सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने जरुरी देखिन्छ ।’ 

सचेतक बर्तौलाले किसानहरूलाई आफ्ना अनाजहरूको क्षतिपूर्ति हुने गरी आवश्यक अनुदानको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।  ‘नेपाली किसानहरूलाई कृषि उत्पादन गर भनेर प्रोत्साहित गरिरहँदाखेरी अप्ठ्यारो पर्दा समस्यामा पर्दा राज्य तिम्रो अभिभावक बन्नेछ भन्ने सुनिश्चितता राज्यले देखाउनुपर्छ । किसानहरूले उत्पादन गरेको तरकारी बजार र मूल्य नपाएर सुकेर बसेको छ । मूल्य नपाएर दुध सडकमा पोख्नु परेको छ । मूल्य नपाएर गोलभेँडा सडकमा यसरी फ्याँक्नु परेको छ’ बर्तौलाले भने, ‘म नेपाल सरकारलाई कृषि मन्त्रीज्यूलाई सम्माननीय सभामुख महोदयमार्फत म आग्रह गर्न चाहन्छु–ध्यानाकर्षण गराउन चाहन्छु कि किसानहरूका यी तमाम समस्याहरूलाई दिगो रूपमा समाधान गर्नका लागि क्षतिपूर्तिको व्यवस्था गरियोस् । आवश्यक अनुदानहरूको व्यवस्था गरियोस् ।’

सचेतक बर्तौैलाले मूल्य नपाएर किसानहरूले आफ्नो उत्पादन सडकमा फ्याँक्नुपर्ने अवस्था आउन नदिनेगरी सरकारले सो समस्याको दिगो समाधान गर्नुपर्ने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप