शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेसपा सहअध्यक्ष श्रेष्ठ भन्छन्–हामीलाई थाहा नदिई समाजवादी मोर्चा घोषणा गरियो

मङ्गलबार, ०५ असार २०८०, १८ : २१
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का सहअध्यक्ष तथा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले आफूहरूलाई थाहा नदिईकनै समाजवादी मोर्चा घोषणा गरिएको बताएका छन् । 

मंगलबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहअध्यक्ष श्रेष्ठले नेपाल समाजवादी पार्टीलाई थाहा नै नदिईकन समाजवादी मोर्चा नेपालको घोषणा भएको बताएका हुन् । मोर्चा निर्माणको लागि विगतमा आफ्नो पार्टीसँग पनि छलफल चलेको भएपनि निर्णायक बेलामा आफूहरूलाई खबर नभएको बताए ।   

सहअध्यक्ष श्रेष्ठले केही दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईका बीचमा तत्काल समाजवादी मोर्चा गठन नहुने र गर्दा सल्लाहमै गर्ने सहमति भएपनि अचानक घोषणा हुनुले आश्चर्य लागेको बताए ।  

सहअध्यक्ष श्रेष्ठले समाजवादी मोर्चा नेपालले देशलाई समाजवादी बनाउन कामयावि हुन्छ अथवा सत्ता समीकरणमा मात्रै रुमल्लिन्छ भन्ने प्रश्न उब्जिएको बताए । उनले साँचो अर्थमा समाजवाद निर्माण गर्ने उद्देश्यले मोर्चा बनेको भए आफ्नो पार्टीपनि त्यसमा सहभागी हुने बताए । सत्ता समीकरणका लागि अंक गणितीय दाउपेचमा मोर्चा बनेको हो भने मोर्चा बारे सोच्नुपर्ने उनले बताए ।    

सहअध्यक्ष श्रेष्ठले नेपाल समाजवादी पार्टी मोर्चामा सहभागी नहुनुले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असर नपार्ने बताए । उनले राजनीतिक एजेण्डा, मुद्दा, विचारका आधारमा दुई पार्टीको बीचमा एकता हुने उल्लेख गरे । समाजवादी मोर्चामा सँगै नभएका कारण प्रधानमन्त्री दाहाल र बाबुरामको सम्बन्ध नबिग्रिएको उनको भनाई छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप