आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
एकताको सकस

माओवादीसँग एकता गर्न बाबुरामले राखेको ९ बुँदे सर्तमा के छ ?

पद व्यवस्थापन नमिले बाबुराम बाहिरै, अन्य नेता समाहित हुन तयार
शुक्रबार, ०८ असार २०८०, १७ : ३०
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रसँग एकता गर्न नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले ९ बुँदे सर्त अघि सारेका छन् । माओवादी केन्द्र र नेसपाबीच एकता गर्न नेतृत्वको व्यवस्थापन सहित सङ्गठनात्मक संरचना र वैचारिक पक्षलाई जोडेर उनले सर्त राखेका हुन् ।

नेसपा सहअध्यक्ष एवम् संवाद समितिका संयोजक गङ्गानारायण श्रेष्ठले लिखित रूपमा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समाजवादी मोर्चा बन्नु अगावै ९ बुँदे प्रस्ताव बुझाएका थिए । 

नेसपाले राखेको ९ बुँदे सर्तका विषयमा माओवादी केन्द्रको असार २३ गते बस्ने केन्द्रीय समिति बैठकमा छलफल गर्ने  सहअध्यक्ष श्रेष्ठले बताए । माओवादीसँग एकता भएपछि पार्टी नाम, नेतृत्व, चुनाव चिन्ह, झन्डा, विचार सिद्धान्त, कार्यदिशा, सङ्गठनात्मक संरचनालगायत विषयमा प्रस्ताव गरेको श्रेष्ठले बताए । 

‘नेसपा र माओवादी केन्द्रबीच वार्ता समिति बनाएर धेरै चरणमा छलफल भएर नेसपाको तर्फबाट लिखित रूपमा प्रस्ताव पेस गरेका छौँ । हामीले पठाएको एकताको आधार प्रस्तावको औपचारिक जवाफको प्रतीक्षामा छौँ,’ श्रेष्ठले भने, ‘उहाँहरू (माओवादी केन्द्र) ले जवाफ कहिले दिनुहुन्छ, त्यसको प्रतीक्षामा छौँ । जवाफ आएपछि पार्टी एकताको ठोस निर्णय गरेर अगाडि बढ्ने छौँ ।’

नेसपाले माओवादीसँग एकता गर्न पार्टी नाम, चुनाव चिन्ह र पार्टीको झन्डा फेरेर जानुपर्ने प्रस्ताव राखेको माओवादीका एक नेताले बताए । पार्टी नेतृत्वको व्यवस्थापन र सङ्गठनात्मक संरचना कस्तो हुने भन्ने विषयमा प्रस्तावमा उल्लेख गरिएको छ । साथै, पुरानै ढर्राको नेतृत्व हुने कि सामूहिक नेतृत्वको अभ्यास हुने भन्नेमा उल्लेख गरिएको छ । 

सङ्गठनात्मक संरचना होरिजेन्टल र भर्टिकल दुवै खालको हुनुका साथै आन्तरिक लोकतन्त्रको अभ्यास गरिनुपर्ने प्रस्ताव गरेको ती नेताले बताए । पार्टी सदस्य सार्वभौम हुनुपर्ने र समानुपातिक समावेशीको सिद्धान्तको अभ्यासलाई कसरी गर्ने भन्नेमा प्रश्न गरिएको छ । 

समाजवादी ध्रुवीकरणमा जाँदा दार्शनिक, राजनीतिक, अर्थशास्त्रीय, समाजशास्त्रीय, सांस्कृतिक र मनोवैज्ञानिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका आधारहरू के के हुने भन्नेमा जिज्ञासा छ । 

माओवादी पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले नेसपासँगको एकताको विषयमा केन्द्रीय समिति बैठकमा छलफल हुने बताए । आफूले बाबुरामले राखेको ९ बुँदे प्रस्ताव पढ्न नपाएको बताउँदै उपाध्यायले बैठकमा छलफल गरेर निर्णयमा पुगिने बताए ।  

एकतामा बाबुरामको दोधार

गत असार ४ गते समाजवादी मोर्चामा बाबुरामलाई छुटाएपछि माओवादीसँग एकता गर्न उनी दुबिधामा छन् । माओवादी केन्द्रसहित, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा मोर्चामा समेटिए पनि बाबुराम छुटेका छन् । 

यस सम्बन्धमा जसपा अध्यक्ष उपेन्द्र यादव तगारो बनेपछि प्रधानमन्त्री प्रचण्डले मोर्चामा जोड्न बल नगरेको बाबुरामको बुझाई छ । 

‘समाजवादी मोर्चा बन्नु अघि बाबुराम सरले प्रचण्ड कमरेडलाई भेट्नुभयो । म तपाईँलाई जसरी पनि समेट्छु बाहिरको हल्लाको पछि नलाग्नुस् भन्नुभयो । बाबुराम सरले भेटका बारेमा सामाजिक सञ्जालमा उल्लेख पनि गर्नुभयो,’ नेसपा एक नेताले भने, ‘तर, अन्तिममा मोर्चा घोषणा कार्यक्रममा उपेन्द्र मान्नु भएन भनेर पन्छिनु भयो ।’ प्रचण्डले जोड गरेको भए नेसपालाई मोर्चामा समेट्न सकिने अवस्था देखिएको ती नेताले बताए । समाजवादी मोर्चामा नसमेटिएपछि बाबुराम माओवादीसँग एकता गर्नेमा दोधारमा रहेको ती नेताको भनाई छ । 

तर, बाबुरामका पार्टीका दोस्रो तहका नेताहरू माओवादीसँग एकता गरेर जानुपर्ने भन्दै दबाब बढाएका छन् । खानेपानी मन्त्री महेन्द्र राय यादव, नेता श्रेष्ठ, विश्वदीप पाण्डेलगायत नेताहरू माओवादीसँग एकता गरेर जानुपर्ने पक्षमा छन् । 

पार्टी एकताकै विषयलाई लिएर श्रेष्ठले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, हरिबोल गजुरेल, सचिव देवेन्द्र पौडेललगायत नेताहरूलाई भेटिसकेका छन् । 

बाबुरामलाई पार्टीमा ल्याउन माओवादीका दोस्रो र तेस्रो तहका नेताहरू सकारात्मक देखिएका छन् । तर, बाबुराम आफ्नो व्यवस्थापनसहित पार्टीको नाम, विचार सिद्धान्त र सङ्गठनात्मक संरचनाको विषयमा स्पष्ट भए मात्रै जाने पक्षमा देखिएका छन् ।

माओवादीमा बाबुरामको व्यवस्थापन गर्न कठिन

माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल गरी तीन जना उपाध्यक्ष  तथा महासचिव देव गुरुङ गरी २२ जना पदाधिकारी छन् । अध्यक्षपछि एक वरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष छन् । बाबुरामलाई कुन पदमा व्यवस्थापन गर्ने प्रचण्डलाई कठिन छ । 

तत्कालीन एकीकृत माओवादीमा हुँदा मोहन वैद्य, बाबुराम र नारायणकाजीबीच वरियताको विवाद हुन्थ्यो । बाबुराम वैद्यलाई अध्यक्ष प्रचण्ड पछिको वरियता छोड्न तयार भएपछि नारायणकाजी र बाबुरामबीच वरियतालाई लिएर प्रायः विवाद हुन्थ्यो । कहिले बाबुराम कहिले नारायणकाजी अध्यक्ष प्रचण्ड पछिको वरियतामा हुन्थे । 

२०६९ सालमा वैद्य र २०७२ सालमा बाबुरामले पार्टी छाडेर गएपछि नारायणकाजीलाई सहज भयो । पुनः ८ वर्षपछि बाबुराम प्रचण्ड एउटै पार्टीमा हुने अवस्था आएपछि वरियतालाई लिएर लफडा हुने निश्चित छ । प्रचण्ड पछिको वरियता होल्ड गरेर बसेका नारायणकाजी सजिलै छोड्न सक्ने अवस्था देखिदैन । 

यदि प्रचण्डले आफू पछिको वरियतामा बाबुरामलाई दिए नारायणकाजी टाढिन सक्ने देखिएको छ । पार्टीका उपाध्यक्ष महरा, सापकोटा र भुसाल पनि आफ्नो पदमा सहिद हुन सजिलै मान्ने अवस्था छैन । 

यदि बाबुरामको चित्तबुझ्दो पद व्यवस्थापन नभए निष्क्रिय हुन सक्ने नेसपाकै कतिपयको आकलन छ । माओवादीसँग पार्टी एकता गरेर बाबुराम निष्क्रिय बस्न सक्ने बुझाई छ । यस्तो जटिल अवस्थामा प्रचण्डले बाबुरामको पद व्यवस्थापन गरेर कसरी एकतामा ल्याउँछन् त भन्नेमा धेरै अधीर पर्खाइमा रहेका छन् । 

‘बाबुराम जी बाहेक अरू साथीहरू एकतामा आउन खोजेको बुझिन्छ । यदि माओवादी र नेसपाबीच एकता भए बाबुरामको पद व्यवस्थापन जटिल हुन सक्छ’ माओवादीका एक पदाधिकारीले भने, ‘नेतृत्वको व्यवस्थापन जटिल प्रश्न हो । त्यहीँ कारण तत्कालीन नेकपा फुट्यो । बाबुरामको पद व्यवस्थापन मिल्न नसक्दा एकता गर्न समस्या हुन सक्छ ।’ 

यदि प्रचण्डले बाबुरामको पद व्यवस्थापन मिलाए माओवादी धारमा उत्साह पैदा भने पक्कै हुने ती पदाधिकारीको आकलन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप