आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सरकार

सरकारमाथि दबाब बढाउन खोज्दै कांग्रेस र एकीकृत समाजवादी

सोमबार, ११ असार २०८०, ०६ : ५३
सोमबार, ११ असार २०८०

काठमाडौँ । सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेस र नेकपा एकीकृत  समाजवादी पार्टीले सरकारमाथि दबाब बढाउन थालेका छन् । आफू अनुकूल काम गर्न सहज होस् भन्ने उद्देश्यले दुवै दलले सरकारलाई दबाबमा राख्ने योजना बनाएका हुन् ।

एकीकृत समाजवादीले आगामी आर्थिक वर्षको बजेटका विषयमा असन्तुष्टि राख्दै आएको छ । सत्तारुढ दलभित्रबाट बजेटका सम्बन्धमा आएको असन्तुष्टिले प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई थप सहज भएको छ । विपक्षी कित्तामा रहेको एमालेले स्वाभाविक रूपमा बजेटको विरोध गर्दै आएको समयमा सत्ता पक्षबाटै बजेटको विरोध भएपछि एमालेका लागि धरातल सहज भएको हो ।

नेकपा एकीकृत समाजवादीका सांसदहरूले गोरखा, नुवाकोट र डडेलधुरा जिल्लालाई केन्द्रित गर्दै बजेट विनियोजन गरेको भन्दै आलोचना गरेका छन् । बजेट संशोधन नभए पारित हुन नदिने नेकपा एकीकृत समाजवादीका सांसदहरूको चेतावनी छ ।

आफूहरूसहितको गठबन्धनको सरकार भए पनि बजेटमा आफूहरूमाथि भेदभाव भएको नेकपा एकीकृत समाजवादीका नेताहरू बताउँछन् ।

एकीकृत समाजवादीले धेरै नै विरोध गर्न थालेपछि प्रचण्डले सो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर छलफल गरेका थिए । ‘सरकारको बजेट सन्तुलित रूपमा आएको छैन । बजेट गोरखा, नुवाकोट र डडेलधुरामा बढी विनियोजन गरियो,’ एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले भने, ‘बजेट संशोधन गरेर पारित गर्नुपर्छ । बजेटै पारितै नगर्ने भन्ने हुँदैन ।’

सत्ता गठबन्धनमा सहभागी भएपछि बजेट पारित गर्न नदिने विषय नैतिक रूपमा नमिल्ने चौधरीले बताए । अहिलेकै गठबन्धनमा कुनै समस्या नभएकाले निरन्तर जाने चौधरीको भनाइ छ ।

कांग्रेसप्रति माओवादीको आशंका

कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुबीच पछिल्लो समय संवादको क्रम बढ्न थालेको छ । कांग्रेसकै नेताहरुले गठबन्धन फेरिने संकेत गर्न थालेपछि माओवादी नेताहरू सशंकित भएका छन् । एमालेका नेतासँग कांग्रेसको नेताहरुको छलफल बढ्न थाल्नु प्रधानमन्त्री प्रचण्डका लागि दबाब र आशंका बढाउने मुख्य अस्त्र बनेको छ ।

‘सत्ता गठबन्धन भत्काउन एमाले नेताहरू जोडतोडका साथ लागेका छन् । दुवै पार्टीका नेताहरू गुपचुप रूपमा भेटघाट जारी राखेका छन्,’ माओवादीका एक पदाधिकारीले भने । तर यो गठबन्धन भत्काएर तत्काल कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था नरहेको ती पदाधिकारीले दाबी गरे ।

‘एमाले सत्ता बाहिर भएपछि एक खालको छटपटाहट र हतास देखिन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा एमाले गठबन्धन भत्काउन लागिपर्नु स्वाभाविक हो । यसलाई अन्यथा लिनु हुँदैन ।’

गठबन्धनमा विश्वासको वातावरण सिर्जना गराउने दायित्व माओवादीको भएको ती पदाधिकारीको भनाइ छ ।

यस्तै कांग्रेसका नेता मीन विश्वकर्माले कांग्रेस गठबन्धन फेर्ने सोच र योजनामा नरहेको जिकिर गरे । ‘सत्ता गठबन्धनमा खटपट भइसकेको छैन । केही नयाँ हुन थालेको सन्नाटा जस्तै भएको छ,’ विश्वकर्माले भने, ‘गठबन्धनमै भएका दलहरू बजेटको व्यापक विरोध गर्दै हुनुहुन्छ । समाजवादी मोर्चाको नयाँ संरचनामा सँगै हुनुहुन्छ । संसद्बाट बजेट पारित गर्न दिँदैनौँ पनि भन्नुहुन्छ ।’ गठबन्धन भित्रकै दलहरूले बजेट फेल गराएर सरकार असफल गराउन लागि परेको विश्वकर्मा बताउँछन् ।

तर, सरकारकी प्रवक्ता रेखा शर्माले सत्ता गठबन्धनमा कुनै खटपट नभएको बताइन् । शनिबार बेलुका तीन शीर्ष नेताहरुबीच भएको छलफलले विश्वासको वातावरण बनेको शर्माले बताइन् ।

शर्माले भनिन्, ‘गठबन्धनमा आशंका भए पनि मेटियो र बजेट सजिलै पारित हुने अवस्था भयो ।’ अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष जाने भएकाले त्यसमा कुनै आशंका नगर्न शर्माले आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप