बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

नक्कली भुटानी शरणार्थी काण्डले कानुन मात्रै होइन लोकतन्त्रको सर्वोच्चता स्थापित भयो : प्रचण्ड

बुधबार, १३ असार २०८०, १३ : ०८
बुधबार, १३ असार २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा सफल अनुसन्धान भई कारबाही भएपछि कानुनको सर्वोच्चता मात्रै नभई लोकतन्त्रको सर्वोच्चता समेत स्थापित भएको टिप्पणी गरेका छन् । संसद्मा जवाफ दिने क्रममा बोल्दै प्रचण्डले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा गरेको इतिहासकै ठुलो अनुसन्धान र कारबाहीपछि जनतामा विश्वास जाग्न सुरु गरेको बताए ।

‘मैले नेतृत्व लिँदै गर्दा जनतामा राज्यप्रति र सरकारप्रति जुन निराशा,असन्तोष, आवेग थियो । त्यसमा सुधार भएको छ । यसले जनतामा राज्य र सरकारप्रति भरोसामा अभिवृद्धि भएको छ’ प्रचण्डले भने, ‘यस वीचमा हाइ प्रोफाइल व्यक्तिहरू कानुन भन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनिरहेको थियो । त्यसले जनतामा आक्रोश जन्माई रहेको थियो । त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकारात्मक धारणा बनिरहेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको इतिहासकै ठुलो अनुसन्धान र कारबाहीपछि जनतामा विश्वास जाग्न सुरु भएको छ ।’   

लोकतन्त्रभित्र देखा परेको समस्या लोकतन्त्रबाटै प्राप्त हुन्छ भन्ने राम्रोसँग स्थापित भएको प्रचण्डले बताए ।  देशको एउटा वर्ग कानुन भन्दा माथि छ भन्ने निराशा गलत प्रमाणित हुँदै गएको प्रचण्डले दाबी गरे । ‘भुटानी शरणार्थी प्रकरणले  लोकतन्त्रको सर्भिस र शुद्धीकरण भएको छ । संसद् र आम जनसमुदायलाई यहीँ रोस्टमबाट विश्वास दिलाउन चाहन्छु । यो शुद्धीकरण यतिमै रोकिने छैन । यो निरन्तर अघि बढ्ने छ’ प्रचण्डले भने, प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेका छन् । मिटरब्याजी र ठगहरूमा कारबाही सुरु भई सकेको छ ।’ 

वर्षौ देखि विकृतिको डङ्गुर सफा गर्न सुशासनको लडाइँमा सदन र जनताको समर्थन आवश्यकता महसुस गरेको प्रचण्डले बताए । ‘विकृति विरुद्धको लडाई अगाडि बढाइने छ । लोकतन्त्रको शुद्धीकरणमा अघि बढ्ने विश्वास दिलाउन चाहन्छु’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप