आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

प्रदेशसभाबाट निस्किए मुख्यमन्त्री र मन्त्रीहरू, बैठकमा आउने सभामुखको विश्वास

बिहीबार, १४ असार २०८०, १८ : ३४
बिहीबार, १४ असार २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा राखेको विश्वासको प्रस्तावमाथिको छलफल सकिएको छ । उक्त छलफल सकिएसँगै आधा घण्टाका लागि स्थगित भएको प्रदेशसभाको बैठक अझै सुरु भएको छैन ।

विश्वासको प्रस्तावमाथि छलफलमा सहभागी नेताहरूको जवाफ दिनुपर्ने भएपनि मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू प्रदेशसभाबाट बाहिरिएका हुन् । 

सभामुख बाबुराम गौतमले मुख्यमन्त्रीले आधा घण्टाको समय मागेकाले आफूले समय दिएको बताए । ‘उहाँले समय माग गरेकै कारण आधा घण्टाका लागि बैठक स्थगित गरिएको हो । उहाँ आउनुहुन्छ भन्ने आशामै छौँ । समय गुज्रिन लाग्यो,’ सभामुख गौतमले भने । 

प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस)ले सरकारले राखेको विश्वासको मतको प्रस्तावमा समर्थन गर्न नसकिने बताएका छन् । एमाले र राप्रपाले भने प्रस्तावको पक्षमा बोलेका थिए । १ सांसदमात्रै रहेको जनता समाजवादी पार्टी भने तटस्थ बसेको छ ।

प्रदेशसभा बैठकमा विश्वासको मतको पक्ष र विपक्षमा मतदान गराउने सभामुखको तयारी छ । स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्रीले भोलिको समय माग गरेका थिए । 

सभामुखले नमानेपछि मुख्यमन्त्रीले राजीनामा दिने कि भन्ने विषयमा पनि छलफल सुरु गरेको बताइएको छ । तर एमालेका सांसद एकराज कार्कीले मत विभाजन हुने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप