सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

जनमतमा सांसद फिर्ता बोलाउने निर्णय भएन कार्यान्वयन

आइतबार, १७ असार २०८०, ०७ : १८
आइतबार, १७ असार २०८०

काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टी नेपालले प्रतिनिधि सभाका दुई जना सांसदलाई फिर्ता बोलाएको निर्णय हालसम्म कार्यान्वयनमा ल्याएको छैन । 

जेठ १२ गते बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद मोरङकी सोनु मुर्मुर र सिरहाकी विनिता सिंहलाई सांसदबाट पदबाट हटाउने निर्णय गरेको थियो । तर, सांसदबाट फिर्ता बोलाउने निर्णय जनमतले एक महिनाभन्दा बढी समय हुँदा पनि कार्यान्वयनमा ल्याएको छैन । 

जनमतका अध्यक्ष सिके राउतले सांसद, मन्त्री, जनप्रतिनिधि वा पार्टी पदाधिकारीलाई जुनसुकै बेला पदबाट फिर्ता बोलाउने सकिने ‘राइट टु कल’ नीति अन्तरर्गत त्यसरी फिर्ता बोलाएउने निर्णय गरेका थिए ।

उनीहरुले पार्टीको नीति र निर्णय नमानी अनुशासन उल्लंघन गरेको आरोपमा फिर्ता बोलाइएको थियो । तर जनमत पार्टीका सांसद अनिता साहले प्रतिनिधि सभाबाट फिर्ता बोलाउने निर्णय नभइ अनुशासन उल्लंघनबारे छानविनका लागि पार्टीको अनुशासन समितिमा पठाएको दावी गरिन् । 

कारवाही गर्ने अधिकार अनुशासन समितिलाई मात्र छ, पार्टीले निर्णय गरेर सो समितिमा पठाएको छ । समितिले त्यस विषयमा अध्ययन गरिरहेको छ, उनले भनिन् । तर, जनमतका एक जना केन्द्रीय सदस्यका अनुसार कारवाही गर्ने कि नगर्ने अधिकार पार्टी अध्यक्ष सिके राउतलाई दिइएको छ ।

उनले तत्काल कारवाही नगरी एक पटकलाई दुवै जनालाई सुध्रिने मौका दिएको बताए । मुर्मुर दलित कलस्टरबाट सांसद बनेकी थिइन् भने सिंह जनजाति कोटाबाट सांसद बनेकी थिइन् । केन्द्रीय समितिको बैठकपछि सिके राउतले सार्वजनिक गरेको निर्णयमा यो कारवाहीको विषय उल्लेख थिएन ।

संगठन संचालनमा आइपरेका विभिन्न समस्याहरूमा छलफल गर्दै अनुशासन कडाइका साथ पालन गराउने निर्णयमा भनिएको थियो । पदमा भए जिम्मेवारी बहन गर्नुपर्ने अन्यथा पद छोड्नु पर्ने र जनप्रतिनिधिहरूलाई कडाईका साथ पार्टी र जनताप्रति उत्तरदायी बनाउने जनमतले जनाएको छ ।

पार्टीको निर्देशन पटक–पटक नमान्ने, अटेरी गर्ने, गूटबन्दी गर्ने, पार्टी फुटाउन षड्यन्त्र गर्नेहरूलाई कारबाही गर्ने स्पष्ट नीति लिएको निर्णयमा उल्लेख छ । जनअपेक्षा ठूलो भएको हुँदा पार्टीका पदाधिकारी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू सो अनुरूप काम गर्नुपर्ने अपरिहार्यता रहेको भन्दै राउतले पार्टीप्रति जिम्मेवार नबन्ने पदाधिकारी र जनप्रतिनिधिमाथि चेतावनी पनि दिएका थिए ।

जनमत पार्टी अर्को निर्वाचनको लक्ष्य लिएर संगठन सुदृढिकरणमा लाग्ने अगाडिको योजना तथा कार्यक्रम रहेको उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप