शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभाको बैठक बस्दै, माग सम्बोधन नभए अवरोध गर्ने विपक्षी दलको अडान

आइतबार, १७ असार २०८०, ०८ : ४३
आइतबार, १७ असार २०८०

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज दिउँसो बस्दै छ । प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०-०८१ को बजेट माथिको छलफलमा लागि आइतबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।

प्रदेश सरकारले असार १ गते संसदमा प्रस्तुत गरेको बजेटमाथि छलफलका लागि असार १२ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध पछि ३ दिनका लागि स्थगित गरिएको थियो । बजेटमा विभेद गरिएको, निश्चित निर्वाचन क्षेत्रमा पहुँचका आधारमा बजेट विनियोजन गरेको, मुख्यमन्त्री र मन्त्रीहरूको जिल्लामा बजेट केन्द्रित गरेको लगायतका विषयमा प्रश्न उठाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र विपक्षी दल राप्रपाले १२ गतेदेखिको बैठकमा निरन्तर अवरोध गर्दै आएका छन् ।

विपक्षी दलहरूको अवरोधका कारण १२ गतेको बैठक बस्न नसकेपछि १३ गतेका लागि बैठक आह्वान गरिएको थियो । उक्त दिनमा पनि ३ पटकसम्म बैठक सारिएको थियो । अन्ततः १३ गते ५ः३० बजे प्रदेशसभाको बैठक ३० मिनेट बसेको थियो । उक्त बैठकमा विपक्षी दलको तर्फबाट राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सम्बोधन गरेका थिए ।

बैठकको कार्यसूची अनुसार सभामुख भुवनकुमार पाठकले बैठक सञ्चालन गरे लगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित राप्रपाका सांसदले आसनबाट उठेर विरोध गरेका थिए । उनीहरूको विरोधका बीच सभामुख पाठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलको कार्यसूची अघि बढाएका थिए ।

बजेटमाथिको छलफलमा भाग लिने सहभागीको नाम प्राप्त भएको र राप्रपा संसदीय दलका नेता थापालाई बोल्न समय निर्धारण गर्दै सभामुखले रुलिङ गरेपछि प्रतिपक्ष दलका सांसदहरूले विरोधलाई रोक्दै आसनमा बसेका थिए । नेता थापाको सम्बोधन सकिए लगत्तै सांसदहरूले पुनः विरोधको कार्यक्रमलाई निरन्तरता दिन उभिँदै गर्दा सभामुख पाठकले बैठक स्थगन गरेको रुलिङ गरेका थिए । प्रतिपक्षी दल एमाले र राप्रपाको अवरोधका कारण सभामुख पाठकले प्रदेशसभाको बैठक १७ गते आइतबार दिउँसो २ बजे बस्ने गरी स्थगित गरेका थिए ।

माग सम्बोधन नभए विपक्षीको अवरोध कायम रहने

प्रमुख प्रतिपक्ष दल एमाले सहित विपक्षी दल राप्रपाले बजेट सन्तुलित बनाउन माग गरेका छन् । उनीहरुले सरकार यस तर्फ गम्भीर नभए बैठक चल्न दिने पक्षमा छैनन् । संसद् खुलाउने विषयमा हालसम्म सरकार पक्षबाट कुनै औपचारिक छलफल नभएकाले माग सम्बोधन नभएसम्म बैठक चल्न नलिने एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले जानकारी दिए ।

उनका अनुसार विपक्षी दलहरूले राखेका मागका विषयमा सरकारले अनौपचारिक रूपमा सामान्य कुराकानी भएको भए पनि ठोस निष्कर्ष भने आएको छैन । सरकार प्रतिपक्षको मागका विषयमा ठोस निष्कर्षमा नपुगेसम्म बैठक सञ्चालन हुन नसक्ने उनले बताए ।

प्रदेश सरकारको बजेट विभेदकारी भएको भन्दै पुनः लेखनको माग सहित सदनमा अवरोध कायम गर्दै आएको र माग पूरा नभएसम्म संसद् चल्न नदिने उनको चेतावनी छ । प्रदेश सरकारले बजेट सत्तापक्षका सांसद र सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री, आर्थिक मामिला मन्त्री र भौतिक पूर्वाधार मन्त्रीको निर्वाचन क्षेत्रमा बढी केन्द्रित गरेको भन्दै उनले प्रश्न गरेका छन् । सरकारले दिगो विकासको अवधारणालाई समेत बेवास्ता गरेर बजेट ल्याएको र यसमा समृद्ध प्रदेश निर्माणको कुनै योजना नभएको तथा कार्यकर्ता पोस्ने प्रकृतिको कार्यक्रमहरू बजेटमा समावेश गरेको उनको आरोप छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप