सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलंकाले सजिलै हरायो जिम्बाबेलाई

आइतबार, १७ असार २०८०, २० : ३६
आइतबार, १७ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आइतबार खेलिएको सुपर सिक्स चरणको खेलमा श्रीलंकाले घरेलु टोली जिम्बाबेलाई नौ विकेटको फराकिलो अन्तरले हराएको छ ।

टस हारी पहिलो ब्याटिङ गरेको जिम्बाबेले ३२.२ ओभरमा अलआउट हुनुअघि एक सय ६५ रनमात्र बनाउन सक्यो । जिम्बाबेका लागि सिन विलियम्सले सर्वाधिक ५६ रन बनाए । सिकन्दर राजाले ३१ रनको योगदान गरे ।

केवल ३० रनको कूल स्कोरमा तीन विकेट गुमाएको जिम्बाबेका माथिल्ला तीन ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । 

जिम्बाबेले अतिरिक्त रुपमा १९ रन पाएको थियो । श्रीलंकाका बलर महिश थिक्सनाले चार विकेट लिए । दिल्सान मदुसन्काले तीन विकेट लिए । माथिसा पाथिरानाले पनि दुई विकेट हात पारे । अर्को एक विकेट दासुन सानकाले लिएका हुन् । 

जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले ३३.१ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो । श्रीलंकाका लागि ओपनर ब्याट्सम्यान पाथुम निसान्काले अविजित एक सय एक रनको योगदान गरे । उनले एक सय दुई बलमा १४ वटा चौका प्रहार गरेका थिए । दिमुथ करुनारत्नेले पनि ३० रन बनाए । कुशल मेन्डिजले अविजित २५ रनको योगदान गरे । 

श्रीलंका आठ अंकसहित तालिकाको पहिलो स्थानमा छ । जिम्बाबे ६ अंकसहित दोस्रो स्थानमा आसिन छ । श्रीलंका र जिम्बाबे आगामी एकदिवसीय विश्वकपमा छनोट हुने प्रबल सम्भावना छ । जिम्बाबे र श्रीलंकालाई चार अंकसहित स्कटल्यान्ड र दुई अंकसहित नेदरल्यान्ड्सले चुनौति दिइरहेका छन् । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजले भने आगामी एकदिवसीय विश्वकप खेल्न नपाउने पक्का भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप