शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
महामारी

कर्णालीमा लम्पी स्किनको महामारी : रोग नपुगेको ठाउँ छैन, खरिद गरिएको खोप ‘स्टक’मै

२ लाख ७ हजार बढी चौपायामा सङ्क्रमण, साढे ७ हजारभन्दा बढी चौपाया मरे
बिहीबार, २१ असार २०८०, ०६ : ४६
बिहीबार, २१ असार २०८०

सुर्खेत । ठाटीकाँध गाउँपालिका–१ का कालु विकको एक हल गोरु थियो । खेती लगाउने सिजन सुरु हुन लाग्दा वैशाख दोस्रो सातातिर एउटा गोरु एक्कासि बिरामी पर्यो । सुरुमा उनले के भएको भन्ने पत्तो नै पाएनन् । रेडियोमा गाई, गोरुमा लम्पी स्किन नामक रोगको सङ्क्रमण फैलिरहेको सूचना सुने ।

गाउँमा रोगबाट बचाउने न कुनै उपचार थियो, न उनलाई जानकारी नै । उनको एउटा गोरुको मृत्यु भयो । ‘मानो रोपेर मुरी उब्जाउने बेला खेती लगाउने गोरु नै मर्यो,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर, त्यसमा पनि खेती लगाउने बेला गोरु म¥यो, ऋण गरेर अर्को गोरु किन्नुपर्यो ।’

उनी मात्र होइन, सोही ठाउँमा जीरबहादुर शाहीको पनि एउटा गोरु म¥यो । खेती गर्ने सिजनमै एउटा गोरु मरेपछि २४ हजार खर्च गरेर अर्को गोरु किन्नुपर्यो । यी त केही उदाहरणमात्र हुन् । लम्पी स्किन रोगको सङ्क्रमणबाट कर्णालीमा ७ हजार ६३२ पशुको मृत्यु भएको छ ।

१० जिल्लामा गरी २ लाख ७ हजार २७३ वटा चौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । सङ्क्रमित हुनेमा २८२ चौँरी, २ हजार ३९१ भैँसी, १ लाख १६ हजार ४१४ गोरु, ४५ हजार १३० गाई र ४२ हजार ५०६ बाच्छा बाच्छी छन् ।

विशेष गरी गोरुमा रोगको प्रकोप बढी देखिएका कारण किसानलाई समस्या भएको छ । बर्खे खेती लगाउने समयमा गोरुमा लम्पी स्किनको सङ्क्रमण बढेपछि खेती लगाउन समस्या भएको किसानहरू बताउँछन् । कृषक शाही भन्छन्, ‘रोग लागेका गोरुले त हलो जोत्न पनि सक्दैनन् । निकै समस्या भयो ।’

कर्णालीमा लम्पी स्किन रोगका कारण ४ हजार २६४ वटा गोरुको मृत्यु भएको छ । यस्तै एक हजार ८७१ गाई, एक हजार २४७ बाच्छा÷बाच्छी, २४९ भैँसी र दुई वटा चौँरीको मृत्यु भएको प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

लम्पी स्किन रोगबाट सबैभन्दा बढी दैलेख, जाजरकोट, हुम्ला र सल्यान जिल्ला प्रभावित भएको छ । दैलेखमा ७४ हजार ३१५ वटा पशुमा रोगको सङ्क्रमण देखिएको छ । जसमा ४७४ वटा पशुको मृत्यु भइसकेको छ । जाजरकोटमा २ हजार ४३० वटा पशुको मृत्यु भएको छ । यस्तै हुम्लामा १ हजार ४६६, सल्यानमा १ हजार १३, सुर्खेतमा १ हजार २८ पशुको मृत्यु भएको छ । सङ्क्रमण दैलेख, सल्यान, सुर्खेत, रुकुम पश्चिम, हुम्ला, जाजरकोटमा बढी देखिएको छ ।

चौँरी विशेष गरी कर्णालीका हिमाली जिल्लामा पाइन्छ । डोल्पामा २ वटा चौँरीको मृत्यु भएको छ भने डोल्पामै ३१ वटा र जुम्लामा १६० वटा चौँरीमा लम्पी स्किनको सङ्क्रमण देखिएको छ । कर्णालीमा रोगको सङ्क्रमित पशु बस्तुको आधारमा मृत्युदर ३ दशमलव ६८ प्रतिशत रहेको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव राजु भुजले बताए ।

कर्णालीमा सबैभन्दा पहिला सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकाको विभिन्न क्षेत्रका गाई, गोरुमा समस्या देखिएको थियो । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट ती क्षेत्रका शङ्कास्पद पशु चौपायाको सिरम र छालाको भागका नमुना सङ्कलन गरिएको थियो । २५ चैत्र ०७९ मा उक्त नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाइएको थियो ।

परीक्षण गर्दा सबै नमुना लम्पी स्किन रोग पोजेटिभ देखिएको निमित्त सचिव भुज बताउँछन् । त्यसपछि सल्यानमा रोग फैलियो र पशु बस्तुको मृत्यु हुने क्रम सुरु भएको थियो । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पशुपन्छी विकास महाशाखाका पशु विकास अधिकृत प्रचण्ड खड्काको नेतृत्वमा विशेषज्ञको टोली सल्यान पुगेको थियो । त्यहाँ रोगबारे जनचेतनामूलक कार्यक्रम गरे पनि औषधि पत्ता नलागेका कारण सङ्क्रमण दर दिन प्रतिदिन बढ्यो । मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये १ लाख २५ हजार ९१ वटा पशु बस्तुको उपचार गरिएको थियो ।

जिल्लागत सङ्क्रमित पशुसंख्या, मृत्यु, उपचार गरिएको पशुको विवरण 

photo 1

खोप कहाँ लगाउने ?

पशुपन्छी विकास महाशाखाका पशु विकास अधिकृत प्रचण्ड खड्का लम्पी स्किन रोग नपुगेको कर्णालीको कुनै गाउँ नरहेको बताउँछन् । ‘खासमा अहिले आएको खोप सङ्क्रमण फैलिएको पशु बस्तु भन्दा पनि बाँकी रहेका पशु बस्तुमा लगाउनका लागि हो, ता कि सङ्क्रमण नभएका पशु बस्तुमा रोग नलागोस्,’ उनले भने, ‘सबैतिर रोग फैलिसकेकाले खरिद गरिएको खोप पनि स्टक राख्नुपर्ने अवस्था छ ।’

मन्त्रालयको महामारी रोग नियन्त्रण कार्यक्रमबाट ४ वैशाखमा लम्पी स्किन रोग विरुद्धको २ हजार ५ सय डोज खोप खरिद गरिएको थियो । त्यसमध्ये ५ सय जाजरकोट, १ हजार रुकुम पश्चिम, १ हजार सल्यानमा पठाइएको थियो ।

यस्तै पशुपन्छी विकास निर्देशनालय सुर्खेतबाट १ हजार डोज खरिद गरी पशु अस्पताल तथा पशु सेवा कार्यालय मार्फत पालिकाहरूमा पठाइएको मन्त्रालयले जनाएको छ । अहिले लम्पी स्किन रोकथाम तथा नियन्त्रण लागि ४० लाख रकमान्तर गरी १४ हजार डोज खोप तथा अन्य औषधि खरिद गरिएको छ । कृषि मन्त्री भीम प्रकाश शर्माले लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणबारे मन्त्रालयबाट गरिनुपर्ने काम निरन्तर भइरहेको बताए । ‘हाम्रो तर्फबाट गरिनुपर्ने सबै खाले गतिविधि कुनै पनि कसर नराखेर गरिरहेका छौँ,’ उनले भने ।

मन्त्रालयले सबैगरी १७ हजार खोप खरिद गरिएको बतायो । जसमध्ये ९ हजार ९०१ डोज खोप लगाइएको छ भने ७ हजार ९९ डोज खोप स्टक छ ।

खोपको जिल्लागत विवरण

photo 2

पशु विकास अधिकृत प्रचण्ड खड्का भन्छन्, ‘लम्पी स्किन रोग क्याप्रिपक्स भाइरसका कारण गाई भैँसीमा लाग्ने अत्यधिक सङ्क्रामक रोग हो । रोग लागेपछि घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागमा गिर्खा देखिन्छन् । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, कचेरा र सिँगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने बाँझोपन हुने र गर्भ तुहिने सम्भावना बढी रहन्छ ।’

पशुले घाँस पानी नखाने, नाक, खुट्टा सुन्निने र पशु हिँडडुल गर्न नसक्ने यसका लक्षण हुन् । रोग ठिक भएका पशुहरू दुब्लो हुने, निमोनिया हुने र छालामा धब्बा वा प्वाल हुने गर्दछन् । विशेष गरी यो रोग लामखुट्टे, टोक्ने झिँगा, किर्ना आदिको टोकाइबाट बढी सर्ने गर्दछ । पशु अधिकृत खड्का यो रोगका कारण ८० प्रतिशत दूध उत्पादनमा ह्रास आउने आकलन गरिएको बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप