शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश

गण्डकी प्रदेशको बजेट पारित

शुक्रबार, २२ असार २०८०, १८ : २२
शुक्रबार, २२ असार २०८०

पोखरा । गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । अर्थमन्त्री जीतप्रकाश आले मगरले असार १ गते ल्याएको बजेट शुक्रबार बहुमतले पारित भएको हो । 

अर्थमन्त्री मगरले आगामी आर्थिक वर्षका लागि  ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट पारित गरियोस् भन्न प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई सभामुखले कृष्णप्रसाद धितालले सभासमक्ष निणयर्थ प्रस्तुत गरेका हुन् । 

‘अब यो प्रस्तावलाई निणयर्थ प्रस्तुत गर्छु । यो प्रस्तावको पक्षमा हुने माननीय ज्यूहरुले हुन्छ भन्नुहोला प्रस्तावको विपक्षमा हुने माननीय ज्यूहरुले हुन्न भन्नुहोला,’ सभामुख धितालले भने, ‘हुन्छ भन्ने माननीय सदस्यहरुको बहुमत भएकाले आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको  विधेयक बहुमतले पारित भएको घोषणा गर्दछु ।’

अर्थमन्त्री मगरले ल्याएको बजेटमा ३३ अर्ब ४२ करोड ७२ लाख बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात ३८।१ प्रतिशत विनियोजन भएको छ । यस्तै पुँजीगततर्फ २० अर्ब १९ करोड अर्थात् ६०.४ प्रतिशत बजेट ल्याएको छ भने ५ अर्ब १६ करोड ९१ लाख उठाउने लक्ष्य बजेटले राखेको छ । 

सरकारले ल्याएको बजेटप्रति प्रमुख प्रतिपक्ष दल र केही सत्ता पक्षकै सांसदहरुले चर्को असन्तुष्टि जनाएका थिए । सांसदहरुले कार्यकर्ता रिझाउने गरी बजेट ल्याएको तर, सांसदका योजनामा प्राथमिकता नदिएको भन्दै चर्को आलोचना गरेका थिए । 

बजेटमाथि छलफलमा भाग लिँदै सांसदहरुले कार्यकर्ता र कर्मचारीतन्त्र हाबी भएको आरोप लगाएका थिए । सांसदहरुले  बजेटको कार्यक्रम चुहावट गरेको भन्दै विरोध नै जनाएका थिए । प्रदेश सरकारले यसपटकदेखि नयाँ राजस्वका दर कायम गर्नेगरी आर्थिक ऐन ल्याएको छ । राइड सेयरिङलाई कानुनी दायरामा ल्याउने, सिमेन्ट उद्योगबाट वातावरण कर लिने, दोहोरी, डिस्को जस्ता मनोरञ्जन क्षेत्रबाट पनि दस्तुर उठाउने गरी आर्थिक ऐन ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप