मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

दलवीरको बेमौसमी बन्दाखेती, फेसबुकमार्फत बजारीकरण

बिहीबार, २८ असार २०८०, १६ : २३
बिहीबार, २८ असार २०८०

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गरेका छन् । 

समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन भएको हो । ३७ वर्षीय पुनले १५ रोपनी बरामीमा ‘ग्रिन क्रोनेट’ जातको बन्दाखेती गरेको बताए । 

“बेमौसममा खेती गर्न सकिने जातको बन्दा परीक्षणका लागि भित्र्याएको हो”, उनले भने, “वैशाखमा लगाएको बिरुवा हुर्किएर बन्दाको आकार लिएको छ । साउन पहिलो हप्तादेखि बजार पठाउने तयारीमा छु ।” पानी खप्न सक्ने र चिसो हावापानीमा गर्न सकिने ग्रिन क्रोनेट जातको बेमौसमी बन्दा खेतीले पुनको फार्म हराभरा भएको छ । 

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले जिल्लामा पहिलो पटक बर्खायाममा बन्दा उत्पादन भएको बताए । “बन्दा हिउँदे तरकारी बाली हो, अहिले बर्खामा पनि खेती गर्न सकिने जातको विकास भएको छ”, उनले भने, “बेमौसममा उत्पादन भएको बन्दाले बजार र मूल्य राम्रो पाउँछ ।” 

तीन वर्षदेखि टमाटरखेती गर्दै आएका पुनले यस वर्ष बेमौसमी बन्दाखेती गरेका हुन् । उनको फार्ममा हाल पाँच वटा सेमी हाइटेक टनेलमा टमाटर उत्पादन भएको छ । खुला टनेलमा हावाहुरी र असिनाले क्षति गरेपछि कृषि ज्ञान केन्द्रको सहयोगमा सेमी हाइटेक टनेल बनाएको पुनले बताए । 

पुन विसं २०५७ देखि २०६८ सम्म तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा जनमुक्ति सेनाका रुपमा सहभागी भएका थिए । नेकपा ९माओवादी केन्द्र०को वडा कमिटी अध्यक्ष रहेका पुन दहवन शिविरबाट स्वेच्छिक अवकाश लिएपछि करिब पाँच वर्ष रोल्पामै व्यापार, व्यवसाय गरेका थिए । सात वर्षअघि घर फर्किएर २१ रोपनी जग्गा किनेर कृषि फार्म स्थापना गरेका थिए । 

बाख्रापालनबाट फार्म सुरु गरेका पुन तीन वर्षयता टमाटर र बेमौसमी तरकारी खेतीमा केन्द्रित भएका छन् । फार्ममा हालसम्म रु ५० लाख लगानी भएको पुनले बताए । “कृषिमार्फत नै समृद्धि हासिल गर्न सकिन्छ भन्ने सोचेर विदेश जान छाडेर यही खेती गरेर बसेको हुँ”, उनले भने, “आम्दानीबाट सन्तुष्ट छु । फार्मको पूर्वाधारमा लगानी विस्तार गरेको छु ।” दुई जना छोराछोरीलाई बेनीमा निजी विद्यालयमा पढाएका छन् । 

बिहान झिसमिसेदेखि साँझसम्म फार्ममा काम गर्ने पुनले आवश्यकताअनुसार स्थानीय मजदुरलाई ज्यालामा काम गराउँदै आएका छन् । मसलेदार फल टिम्मुर पनि खेती गरेका पुनको जडीबुटी खेती गर्ने योजना बनाएका छन् । 

सिँचाइ सुविधा र चिसो हावापानी भएकाले तरकारी खेती प्रभावकारी भएको छ । सडक पुगे पनि यातायातको असुविधाका कारण ढुवानीमा धेरै खर्च हुने, बजारमा व्यापारीले भनेको मूल्यमा सामान बेच्नुपर्दा समस्या भएको पुनले बताए । उनले बेनी, बागलुङमा खपत नभएको तरकारी पोखरा पठाउने गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत तरकारीको बजारीकरण गरेको पुनले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप