आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
एकताको सकस

माओवादी निर्णयको प्रतीक्षामा नेसपा : बाबुरामले एकता नचाहे विद्रोह !

अब माओवादी रुपान्तरण सम्भव छ ?
शुक्रबार, २९ असार २०८०, १६ : ४७
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माआवादी केन्द्रसँग गर्ने भनेको एकता माओवादीको आसन्न केन्द्रीय समिति बैठकबाट टुंगो लाग्ने विश्वास गरेको छ ।

यसअघि नै समाजवादी पार्टीले पार्टी एकताका लागि माओवादीलाई लिखित प्रस्ताव पठाएकोमा त्यसको जवाफ प्राप्त भैनसकेको नेसपाका नेताहरुको भनाइ छ ।

तर, केन्द्रीय समितिबाट भने ठोस नतिजा निस्कने समाजवादीका एकता पक्षधर नेताहरुको बुझाइ छ ।

माओवादी केन्द्रसँग अनौपचारिक संवादमा रहेका नेसपाका नेताहरुले केन्द्रीय समिति बैठकमा यसबारे वृहत् छलफल गरेर टुंगोमा पुग्ने आश्वासन पाएको बताएका छन् ।

नेसपाले मुख्यतः नेकपा माओवादी केन्द्रको नाम नै परिवर्तन गर्दै एजेण्डालाई थप परिस्कृत बनाएर अघि बढ्नुपर्नेसहितको सर्त राखेर पत्राचार गरेको थियो ।

पत्रमा नेकपा माओवादी केन्द्रको नाम परिवर्तन गरेर नेकपा समाजवादी राख्नुपर्नेसहितको ९ बुँदे प्रस्ताव रहेको छ । तर, पत्र पठाएको लामो समय वितिसकेपनि जवाफ प्राप्त नभएको नेसपाका नेता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

‘हामी पत्रको प्रतीक्षामै छौँ । आशा छ, माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले यसबारे निर्णय गरेर सकारात्मक नतिजा आउनेछ ।’ उनका अनुसार माओवादीले केन्द्रीय समिति बैठकमा छलफल गरेर जवाफ दिने बताएको छ ।

माओवादी केन्द्रले असार २३ गतेका लागि केन्द्रीय समिति बैठक तय गरेको थियो । तर, सबै प्रदेशमा बजेट अधिवेशन गर्नुपर्ने र असार मसान्तसम्म चालु आवको हिसाब पनि फछ्र्यौट गर्नुपर्ने भएकाले बैठक बस्ने समय परिवर्तन गरे आगामी साउन १७ गतेलाई सारिएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए ।

उक्त बैठकमा पार्टी एकतासहितका विविध विषयमा छलफल गर्ने माओवादीको तयारी छ ।

समाजवादी मोर्चा बनेसँगै एकतामा सकस

गत असार ४ गते चार पार्टी मिलेर समाजवादी मोर्चाको घोषणा भयो । समाजवादी मोर्चामा नेसपाका डा बाबुराम भट्टराईको पनि सहभागिता रहने भनिएपनि अन्तिम समयमा उनी अटाउन सकेनन् । मोर्चामै रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवको अनिच्छासहित बाबुरामकै पनि बेवास्ताले पार्टी मोर्चामा सहभागी नभएको बताइएको छ ।

समाजवादी मोर्चामै बाबुरामको सहभागिता नरहेपछि अब माओवादीसँग एकता के हुने भन्नेबारे प्रश्न पनि उठेको छ । पार्टीका नेताहरुका अनुसार भट्टराईले अब माओवादीसँग तत्काल एकता हुन नसक्ने बताउन थालेका छन् । तर, जनताबाट अनुमोदित भएका संघीय सांसद महेन्द्र राय यादव, बागमती प्रदेशसभा सदस्य समेत रहेका मन्त्री गंगानारायण श्रेष्ठलगायतका कतिपय नेताहरु माओवादीबाट सकारात्मक जवाफ आउनेबित्तिकै माओवादीसँग एकता हुनुपर्ने पक्षमा छन् । त्यसमा पार्टीभित्रका ठूलो समूहको साथ रहेको बताइएको छ ।

एकता पक्षधरहरु माओवादीबाट सकारात्मक जवाफ आएको खण्डमा बाबुरामको अनिच्छाका बीच पनि पार्टीबाट विद्रोह गरेर नेकपामा जाने अवस्था रहेको एक नेताले बताए ।

नाममा मात्रै सीमित रहेको नेसपामा बसेर अब राजनीतिक भविष्य नभएकाले जसरी पनि एकता हुनुपर्ने निष्कर्षमा उनीहरु पुगेका हुन् ।

यता भट्टराईले भने समाजवादी मोर्चाबारे कडा टिप्पणी गर्न थालेपछि एकतामा उनको बेवास्ता बढेको टिप्पणी हुन थालेको छ ।  भट्टराईले मोर्चा कांग्रेसलाई घुर्क्याउन र एमालेलाई तर्साउन बनाएको आरोप समेत लगाउँदै आएका छन् ।

मोर्चाबारे ‘नेगेटिभ’ बनेका भट्टराईले बरु पार्टी बैठकबाटै संगठन विस्तार अभियानलाई अघि बढाउने निर्णय गराइसकेका छन् ।

यसका लागि उनले आफ्नै नेतृत्वमा केन्द्रीय अभियान परिचालन मूल समिति र सचिवालयसमेत गठन गरेका छन् ।

समितिमा अध्यक्ष महेन्द्र राय यादव, गंगा श्रेष्ठ, हिसिला यमी, दुर्गा सोव, रमेश रिजाल, सिर्जना रिजाल, सोनामसिं स्याङ्तान, विश्वदीप पाण्डे र हरि रिजाल सदस्य छन् ।

समाजवादी मोर्चा गठनअघि भने भट्टराईले पार्टीको नाम, नेतृत्व, चुनाव चिन्ह, झन्डा, विचार सिद्धान्त, कार्यदिशा, सङ्गठनात्मक संरचनालगायत विषयमा लिखित प्रस्ताव गरेका थिए । एकताकै नीतिअनुसार गत चुनावमा समेत समाजवादीले माओवादीको चुनाव चिह्न प्रयोग गरेको थियो भने चुनाव लगत्तै विभिन्न चरणमा एकताका लागि वार्ता समेत भएका थिए ।

अहिले आएर बाबुराममा भएको अलमलका बीच नेसपाभित्र एकताको पक्षमा मत बलियो रहेको बताइन्छ । ती नेताहरुले भट्टराईमाथि पनि दबाब बढाउन थालेको बताइएको छ ।

नेसपाका एक नेताले भने, ‘सकिन्छ सँगै जाऔँ, सकिँदैन भने पनि अब काँध थाप्न सकिँदैन भनेर हामीले अध्यक्षलाई प्रष्ट भनिसकेका छौँ ।’

के अब माओवादी रुपान्तरण सम्भव छ ?

रास्वपासहितका दलहरुको उदय भएसँगै ठूला दललाई चुनौती थपिएको विश्लेषण हुन थालेको छ । त्यसमाथि माओवादीको निरन्तरको क्षयीकरणले थप चुनौती बढेको कतिपयको भनाइ छ । यस्तो अवस्थामा के माओवादीमा रुपान्तरण सम्भव छ भन्नेजस्ता प्रश्न पनि उठ्दै आएका छन् ।

तर, एकताका पक्षघर नेसपाका नेता गंगा नारायण श्रेष्ठ अझै पनि आशाहरु जिवितै रहेको बताउँछन् ।

उनको भनाइ छ, ‘एउटा बाध्यता नभइकन कुनै पार्टी रुपान्तरण हुँदैन । यस्तो एउटा बिन्दु वा क्लाइमेक्समा पनि आउनुपर्छ– कि उ सक्किने ठाउँमा पुग्छ कि सच्चिनका लागि वा रुपान्तरणका लागि अरु विकल्प नै हुँदैन ।’

माओवादीमात्रै नभएर जतिपनि संकटग्रस्त पार्टीहरु छन् तिनीहरुका अगाडि अब सक्किने वा रुपान्तरण हुने भन्ने विकल्प मात्रै रहेको उनको भनाइ छ ।

‘पहिलो विकल्प सच्चिने वा रुपान्तरण हुने विकल्प नै हो । दोस्रो भनेको सकिने नै हो’, उनले भने, ‘त्यसकारणले माओवादी पार्टीको नेतृत्व वा नेपाल समाजवादी पार्टीको नेतृत्व सबैले बोध गरेको कुरा के हो भने अब युग सुहाउँदो पार्टीको विचार, सिद्धान्त, नीति, कार्यक्रम, संगठन, नेतृत्व प्रणाली, कार्यशैली, सोच, चिन्तन सबैनै परिवर्तन गर्नुपर्छ ।’

तर, त्यो परिवर्तन एकै झड्कामा भने हुन नसक्ने उनको भनाइ छ । त्यसका लागि सबैभन्दा पहिला नामबाट सुरु गर्नुपर्ने र माओवादीको नाम फेरेर नेकपा समाजवादी राखिनुपर्ने उनको धारणा छ ।

सँगसँगै वैचारिक, राजनीतिक कुराहरु पनि रहेको भन्दै उनले  त्यसबारेमा क्रमशः छलफल हुँदै जानुपर्ने धारणा राखे ।  उनले अब वितगमा जस्तो कोठाभित्र चार जना बसेको भरमा पार्टी चल्न नसक्ने भन्दै जनतासँग जोडिएर उनीहरुकै सल्लाह सुझावअनुसार अघि बढ्नुपर्ने धारण राखे ।

श्रेष्ठले माओवादी रुपान्तरणको थालनी अब नामबाट सुरु हुनुपर्ने र  नीति, विचार कार्यक्रममा पनि सोही अनुसार अगाडि सारिनुपर्ने दोहोर्‍याए ।

श्रेष्ठले वर्तमान प्रचण्ड नेतृत्वको सरकारले सुशासनको सवालमा चालेको कदमलाई थप वृहत् बनाउँदै जनताको विश्वास जित्ने गरी काम गर्दै गए पार्टीको भविष्य अझै सुन्दर रहेको दाबी गरे ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप