शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
वैदिक कथा

धर्मशास्त्रमा छैन नारी–पुरुषबीच विभेद

शनिबार, ३० असार २०८०, ११ : १२
शनिबार, ३० असार २०८०

वैदिक सनातन धर्ममा नारी र पुरुष बीचको विभेद प्रायः सुनिन्छ । भाइबहिनीहरूको जानकारीका लागि यसैको वास्तविकतासम्बन्धी यहाँ एउटा कथा प्रस्तुत गरिएको छ । 

नेपालका भूमि पुत्र महर्षि याज्ञवल्क्य प्रकाण्ड वैदिक विद्वान्मा पर्छन् । राजा जनकको दरवारी गहना मानिने यी विद्वान् मिथिला निवासी मानिन्छन् । उनका मैत्रेयी र कात्यायनी नामका दुई पत्नी थिए । 

वैदिक सनातन धर्ममा ७५ वर्षपछिको उमेरलाई सन्न्यास आश्रमको समय मानिन्छ । त्यसैले, जब उनी ७५ वर्षका भए, तब सन्न्यास लिने विचार गरे । 

उनले पत्नीहरूलाई बोलाएर भने, ‘अब सन्न्यास आश्रममा जाने बेला भएकाले तिमीहरूलाई बोलाएको हुँ । मेरो उपस्थितिमा तिमीहरू मिलेर बसेका छौ । आपसमा झगडा गरेको कहिल्यै सुनेको छैन । म चाहन्छु यस्तो मेलमिलाप मेरो अनुपस्थितिमा पनि कायमै रहोस् । त्यसैले सारा धन सम्पत्ति तिमीहरूलाई बराबर बाँडिदिन चाहन्छु । प्रायः झगडा सम्पत्तिको नाममा हुने भएकाले त्यस्तो नहोस् भनेर बराबर बाँड्ने विचार गरेको हुँ ।’

कात्यायनी सामान्य गृहिणी थिइन् । याज्ञवल्क्यको कुराले खासै फरक परेन तर मैत्रेयी विदुषी थिइन् । उनले भने सामान्य रूपमा लिन सकिनन् र प्रतिक्रिया जनाउँदै भनिन्–

‘ठीकै छ सन्न्यास आश्रममा जान चाहनुहुन्छ भने जान सक्नुहुन्छ, रोक्दिन । तर, पहिले यो बताउनुस् कि तपाईंको सम्पत्तिले हामीलाई आत्मसन्तुष्टि मिल्छ त ?’

मैत्रेयीको कुरा सुनेर याज्ञवल्क्य एकछिन् अन्कनाए । उनलाई लाग्यो कुरा त सही हो, धनसम्पत्तिले आत्मशान्ति हुँदैन । किनकि प्रेम भन्ने कुरो धनसम्पत्तिसँग नभई आत्मासँग हुन्छ । 

त्यसैले, सम्झाउँदै भने, ‘मैत्रेयी ! संसारमा कोही पनि धन सम्पत्तिबाट सन्तुष्ट हुँदैनन् । किनभने प्रेम भौतिक सम्पत्तिसँग नभई आत्मासँग हुन्छ । त्यसैले, संसारमा न पतिले पत्नीसँग पत्नीकै लागि प्रेम गरेका हुन्छन्, न पत्नीले पतिसँग पतिकै लागि प्रेम गरेकी हुन्छिन् । न बाबुले छोरासँग छोराकै लागि प्रेम गरेका हुन्छन्, न छोराले बाबुसँग बाबुकै लागि प्रेम गरेका हुन्छन् । न आमाले छोरासँग छोराकै लागि प्रेम गरेकी हुन्छिन्, न छोराले आमासँग आमाकै लागि प्रेम गरेका हुन्छन् । 

दिदीबहिनी, दाजुभाइ, इष्टमित्र, करकुटुम्बसँगको प्रेम पनि त्यस्तै हो । कसैले पनि कसैका लागि प्रेम गरेका हुँदैनन् । अपितु आफ्नै आत्मासँग नै गरेका हुन्छन् । जब प्रेम नै आत्मसँग हुन्छ भने धनसम्पत्तिबाट सन्तुष्टि मिल्ने प्रश्नै रहन्न ।’

याज्ञवल्क्यको कुरा सुनेर मेत्रेयीले लामो सास फेर्दै भनिन्– ‘त्यसो भए हामीलाई त्यस्तो चीज दिएर किन पन्छिन खोज्दै हुनुहुन्छ ? वेदका ज्ञाता हुनुहुन्छ, प्रकाण्ड विद्वान्मा पर्नुहुन्छ । स्वार्थी भन्न त सक्दिन तर कुरा भने त्यस्तै गरिरहनुभएको छ । 

हो, धर्मशास्त्रले सन्यास आश्रमको कुरा गरेको छ तर त्यस्तो अवस्था त सबैमा लागू हुनुपर्ने हो नि, होइन र ? पतिले ७५ वर्षपछि सन्न्यास आश्रममा जानुपर्छ भने पत्नीले चाहिँ पर्दैन ? तपाईं जाने हो भने हामीलाई पनि जान दिनुपर्ने हुन्छ । धर्ममा पनि कतै नारी र पुरुषमा भेद हुन्छ ? हुन्छ भने कुन धर्मशास्त्रले त्यस्तो भनेको छ, देखाउन सक्नुहुन्छ ? होइन भने हामी पनि तपाईंसँगै सन्यास आश्रममा जान चाहन्छौँ ।’

मैत्रेयीको कुरा सुनेर याज्ञवल्क्यले थप सम्झाउँदै भने, ‘मैत्रेयी ! तिम्रो कुरा पनि सही हो । तर, धर्मशास्त्रमा पुरुषलाई मात्र आश्रम धर्मको व्यवस्था गरिएको छ, नारीलाई छैन । त्यसैले, तिमीहरूलाई गृहस्थीमै रहन आग्रह गरेको हुँ ।’

याज्ञवल्क्यको कुरालाई मैत्रेयीले सिधै नकार्दैै भनिन्, ‘कहाँ त्यस्तो हुन्छ ? धर्मशास्त्रमा उल्लेख छैन भने गर्नुपर्छ । आखिर धर्मशास्त्र लेख्ने भनेको पनि तपाईंहरूजस्तै विद्वान्हरूले हो । व्यवहारमा त नारी र पुरुषबीच भेद गरियो, गरियो । कम्तीमा धर्ममा त नगरियोस् ।’

त्यसपछि याज्ञवल्क्यले यथार्थ बुझाउँदै भने, ‘कुरा त्यसो होइन मैत्रेयी ! प्रकृतिप्रदत्त विभेदबाहेक नारी र पुरुषबीच न धर्ममा विभेद भएको छ, न व्यावहारिक विभेद नै उचित मानेको छ । मात्र के हो भने पुरुषले सन्न्यास धर्ममा गएर जुन स्थान पाउन सक्छन्, त्यस्तो स्थान नारी जातिले गृहस्थीमै बसेर पनि पाउन सक्छन् । 

यसको अर्थ यो होइन कि महिलाहरूलाई सन्न्यास आश्रममा जानै निषेध गरिएको छ । चाहनेहरू जान सक्छन्, गएका पनि छन् । तथापि यथार्थ के हो भने नारी जाति यति बढी त्याग, सेवा र समर्पणधर्मी हुन्छन् कि त्यसैको माध्यमबाट गृहस्थीमै बसेर पनि सन्न्यास आश्रमजन्य लाभ लिन सक्छन् । त्यसैले, यस्तो कुरा गरेको हुँ ।’

याज्ञवल्क्यको कुरा सुनेर मैत्रेयीको चित्त बुझ्यो । उनीहरूले गृहस्थीमै रहेर नारीसुलभ त्याग, सेवा र समर्पणको माध्यमबाट मुक्तिलाभ गरे । याज्ञवल्क्यले सन्न्यास आश्रमको धर्म निर्वाह गरी मुक्ति पाए ।  

वृहदारण्यक उपनिषदमा आएको यस कथामा के कति सत्यता छ, त्यो त थाहा छैन । तर, धर्मशास्त्रमा नारी र पुरुषबीच विभेद छैन भन्ने कुरा भने सत्य हो । 

नारी र पुरुषबीच केही प्राकृतिक भिन्नता छ । सोहीअनुसार हुने प्राकृतिक विभेद अन्य कुनै पनि कुरामा पनि छैन । यदि कहीँ कतै त्यस्तो भएको छ भने त्यो विकृति हो । यस्तो काम मानिसले नै गर्ने भएकाले त्यसलाई सुधार्ने काम पनि मानिसकै हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप