आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

बञ्चरेडाँडामा फोहोर व्यवस्थापन अवरोध, ५० वटा गाडी रोकिए

सोमबार, ०१ साउन २०८०, १५ : १४
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । पटक–पटक रोकिँदै आएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुनः रोकिएको छ ।  फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा आसपासका बासिन्दाको अवरोधका कारण आज काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुन नसकेको हो ।  

यसअघि काठमाडौँ महानगरपालिकासँग भएको सहमति कार्यन्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही  बासिन्दाले अवरोध गरेकाले आज उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुन नसकेको हो ।  

धुनीवेंसी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङ्का अनुसार सहमति भएको एकवर्ष वितिसक्दासम्म महानगरले स्थानीयवासीको मागप्रति व्यवास्ता गरेकाले आजदेखि  फोहर व्यवस्थापनमा रोक लगाइएको हो ।  

उनले भने, “फोहोर र मानिससँगै बस्नै सक्दैन,  कि फोहोरलाई अन्यत्र व्यवस्थापनका लागि  प्रबन्ध गर्नुपर्यो की उक्त स्थानका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्यो, अन्यथा फोहर व्यवस्थापनमा समस्या आइरहन्छन् ।”

आज बिहान फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडी स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडा र सिसडोलको बीचमै रोकिएको  पनि वडाध्यक्ष तामाङले जानकारी दिए ।

फोहोर बोकेका करिब ५० वटा गाडी रोकिएका थिए । स्थानीयवासीले सहमतिका नाममा आफूहरुलाई झुक्याइएको आरोप लगाएका छन् । कामपाले यसअघि कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर कुहिने फोहर मात्र व्यवस्थापन गर्नेलगायत सहमति ल्याण्डफिल्ड साइट पीडित क्षेत्रका बासिन्दासँग गरेको थियो । 

यता कामपाको पूर्वाधार सल्लाहकार सुनिल लम्सालले यसअघि स्थानीयवासीसँग भएको सम्झौताअनुसार नै काम भइरहेको भन्दै फोहोर व्यवस्थापनमा रोक लगाउनु राम्रो नभएको बताए ।  

उनले भने,“स्थानीयवासीको मुख्य माग आसपासका तीन हजार रोपनी जग्गा अतिग्रहण गरिदिनुपर्यो भन्ने हो कामपाले मात्र गर्न सक्दैन त्यसका लागि केन्द्र सरकारसँग छलफल भइरहेको छ ।”

विगतका वर्षमा पनि स्थानीयवासीकै अवरोधका कारण उपत्यकाको फोहर महिनौँ सडकमै थुप्रने गरेको थियो ।   कामपाले यसवर्ष वर्ष फोहर व्यवस्थापनमा कुनै समस्या हुदैन भने पनि साउन महिना लागेसँगै फोहर रोकिन थालेको छ । 

यसअघि सिसडोलमा व्यवस्थापन हुदैँ आएको उपत्यकोको फोहर गत भदौ सातदेखि बञ्चरेडाँडामा व्यवस्थापन हुदैँ आएको छ ।   यसैबीच काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानान्धरले केन्द्रीय सरकारसँगको भएको सहमति कार्यान्वयनको माग राख्दै फोहोर व्यवस्थापनमा अवरोध गरेको बताए ।

उनले रातोपाटीसँग भने, ‘महानगरभन्दा पनि केन्द्रीय सरकारसँग भएको सहमतिसँग सरोकार देखियो । हामीले त विमा, स्वास्थ्य, विकास निर्माणका काम सहमति अनुसार गरेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप