बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

७ प्रदेशमध्ये लुम्बिनीमा मातृ मृत्युदर उच्च

सोमबार, ०१ साउन २०८०, १५ : २६
सोमबार, ०१ साउन २०८०

बुटवल । संघीयता लागु भएपछि तीन तहका सरकारले  नै स्वास्थ्यलाई उच्च प्राथमिकता राख्दै नीति तथा कार्यक्रम तय गर्दै आएका छन् । तर विज्ञहरू मातृ मृत्युदर घटाउन निकै चुनौतीपूर्ण बन्दै गएको बताउँछन् ।

पछिल्लो सरकारी तथ्याङ्कले देशका ७ प्रदेशमध्ये लुम्बिनीमा सबैभन्दा धेरै मातृ मृत्युदर देखाएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकृत भेषराज शर्माका अनुसार १० महिनामा प्रतिलाख गर्भवती÷सुत्केरी आमामा २ सय ७ जनाको मृत्यु लुम्बिनी प्रदेशमा भएको छ ।

नेपालभर प्रतिलाख सुत्केरी÷गर्भवती आमाहरूमा जम्मा १ सय ५१ जनाको मृत्यु भएकोमा लुम्बिनी प्रदेशमा प्रतिलाखमा २ सय ७ जना आमाहरूको मृत्यु हुने गरेको हो ।

सबैभन्दा कम बागमती प्रदेशमा प्रतिलाखमा ९८ मातृ मृत्युदर छ भने सुदूरपश्चिममा १ सय ३०, कर्णालीमा १ सय ७२, गण्डकीमा १ सय ६१, मधेसमा १ सय ४०, कोशीमा १ सय ५७ छ ।

सरकारले मातृ मृत्युदर घटाउन विभिन्न कार्यक्रम ल्याए पनि प्रभावकारी नभएको वरिष्ठ स्त्रीरोग विशेषज्ञ सतिष रुपाखेतीले बताए । उनले तीन तहका सरकारले गरेका काम र लुम्बिनी प्रदेशका १०९ स्थानीय तहका स्वास्थ्य प्रमुखलाई यो रेकर्डले गिज्याएको बताए ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले मन्त्रालयले मातृ मृत्युदर कमी ल्याउन विभिन्न काम गरेको जिकिर गर्दै पछिल्ला वर्षमा अवस्था धेरै सुधार भएको बताए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा गौरव ढकालले  जिल्लामा विगतको तुलनामा केही सुधार आए पनि समस्या धेरै गम्भीर रहेको बताए ।

ttttttt

गर्भावस्थामा अनिवार्य रूपमा ४ पटकसम्म चेकजाँच गर्नुपर्ने भए पनि धेरैले यसलाई बेवास्ता गर्दै आएको उनको जिकिर छ । सुत्केरी भएपछि पनि कम्तीमा ३ पटक आमा र बच्चाको स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । तर यसको पूर्ण रूपमा पालन गर्ने सुत्केरी आमाहरू जम्मा ७९ प्रतिशतमात्रै रहेको सरकारी तथ्याङ्क छ ।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ सतिष रुपाखेतीका अनुसार महिलाको मृत्यु गर्भवती अवस्थामा, सुत्केरी हुने अवस्था र सुत्केरीपछि ४२ दिन भित्र हुने गरेको पाइन्छ । यस्तै गर्भावस्थालाई सामान्य रूपमा लिएर नियमित रूपमा औषधि सेवनदेखि चेकजाँच नगर्ने परिपाटीको कारण महिलाको मृत्यु हुने गरेको उनको भनाइ छ ।

लुम्बिनी प्रदेशमा गर्भपतन गराउने महिलाहरूको संख्या समेत बढ्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा लुम्बिनी प्रदेशमा कुल १७ हजार ४ सय ९७ जनाले गर्भपतन गराएका थिए । यस्तै २०७८÷०७९ मा १८ हजार ४ सय १५ जनाले र २०७९÷०८० को १० महिनामा १४ हजार ३ सय २० जनाले गर्भपतन गराएको पाइएको छ ।

ओएनएमएस सर्वेक्षण अनुसार गत आर्थिक वर्ष २०७९÷८० का कुल गर्भपतन गराएका महिलामध्ये २० प्रतिशत लुम्बिनी प्रदेशका मात्रै छन् । प्रदेशमा कुल गर्भपतन गराउने महिलामध्ये ६ प्रतिशतभन्दा बढी २० वर्षभन्दा कम उमेरका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप