बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
खनिज

नेपालमा खनिज उत्खननको नालीबेली

मङ्गलबार, ०२ साउन २०८०, ०९ : ४९
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । हरिप्रसाद तिम्सिनाको ज्ञानेश्वरस्थित घरको आँगनमा ६० किलोको क्वार्ज (स्फटिक) राखिएको छ । यो क्वार्ज उनले २०७१ सालमा संखुवासभाको सभापोखरीस्थित क्वार्ज खानीबाट ल्याएका हुन् । 

‘त्यतिबेला मैले त्यहाँको खानी उत्खनन गरेको थिएँ,’ तिम्सिना भन्छन्, ‘घरको शोभा र खानी खन्दाको सम्झनाका लागि यसलाई यहाँ राखेको हुँ । अर्को कुरा, रिसाएर आएको व्यक्ति पनि यसलाई देखेपछि शान्त हुन्छ भन्ने मलाई विश्वास छ ।’

उनका अनुसार, क्वार्जले सकारात्मक शक्ति प्रभाव गर्ने विश्वास पश्चिमा देशमा पनि छ र यसको बिक्री हुन्छ । खासगरी धनी मानिसले यसलाई सजावटका लागि र संग्रहालयहरूले संग्रहका लागि किन्छन् । ‘संग्रहालयले विभिन्न आकारका क्वार्ज लगायत खनिज किन्छन् । यस्ता खनिज प्राकृतिक रूपमा कुन आकारमा बन्यो भन्ने महत्त्वपूर्ण हुन्छ,’ उनले भने । 

२३ वर्षको उमेरदेखि अर्थात् २०४१ सालदेखि प्राकृतिक रत्नको खोजतलास तथा उत्खनन गर्दै आएका उनी हाल ‘हिमालय क्वार्ज प्रालि’का प्रोप्राइटर छन् । ६२ वर्षीय तिम्सिनाले जीवनका तीन दशक खानी ठेकदारका रूपमा बिताए । आठ वर्षअघि सरकारले केही खनिज तत्त्वको हकमा प्रशोधन नगरी निकासी गर्न रोक लगाएपछि उनले खानी उत्खननको काम छाडेका रहेछन् ।

केही क्वार्ज र फेल्डस्पारका टुक्रा देखाउँदै उनले भने, ‘यो प्राकृतिक हो, यसको सौन्दर्य र मूल्य प्राकृतिक रहनुमै छ, तर राज्यले भन्छ — यसलाई फिनिसिङ गरेर निकासी गर । यो यसै राम्रो छ, यसलाई घोटियो वा पालिस गरियो भने मूल्यहीन हुन्छ । विदेशीले किन्न मान्दैनन् ।’ 

उनले सन् २००२ देखि जर्मनीमा, सन् २००६ देखि अमेरिका, फ्रान्स, इटाली लगायत देशमा खनिज रत्नको प्रदर्शन तथा बिक्री गर्दै आएका छन् । 

हाम्रो देशमा के कति खानी होलान्, त्यसको सम्भावना के कस्तो होला, खानी उत्खननको काम कहिलेदेखि सुरु भयो — आदि जिज्ञासा मेट्ने क्रममा उनको पुस्तक ‘नेपालका खनिज रत्न’ मेरो हातमा परेको थियो । २०७४ सालमा प्रकाशित यस पुस्तक पल्टाउँदा लाग्यो, लेखक तिम्सिना खनिजविद् नै हुनुपर्छ र उनीसँग नेपालका खनिजसम्बन्धी राम्रै ज्ञान र कथा छ । २८ असारमा समय लिएर म उनको घरमा पुगेको थिएँ । उनले खनिज उत्खननका केही अनुभव सुनाए । 

khanij (1)

उत्खनन अनुभव

संखुवासभाको खाँदबारीका तिम्सिनाले सानैदेखि खानीका कुरा सुन्दै आएका हुन् । बाटैमा घर भएकाले २०३०÷३५ सालतिर खानी खन्ने स्थानीयहरू उनको घरमा पानी पिउन पस्थे र खानीका अनेक कथा सुनाउँथे । खानी के हो ? खनिज कस्तो र कति बहुमूल्य हुन्छ, खनिज निकाल्न कति मेहनत लाग्छ — यी विषय हरिप्रसादका लागि नौला रहेनन् । 

एसएलसी गरेपछि उनी उच्चशिक्षाका लागि काठमाडौँ आए । आईए पास गर्दानगर्दै खानी उत्खननमा लाग्न सरकारसँग अनुमति लिए र करिब नौवटा खानी खने । 

‘संखुवासभामा गोठाला–खेतालाले उहिल्यैदेखि धाउ (धातुको कच्चा वस्तु) भेटिएका क्षेत्रमा खानी खन्दै आएका थिए । यसै आधारमा क्षेत्र तोकी मैले सरकारसँग खानी खन्ने अनुमति लिन्थेँ,’ उनी भन्छन्, ‘खानी खन्ने वैज्ञानिक तरिका बेग्लै छ । जहाँ खनिजका संकेत वा धाउहरू पाइन्छन्, त्यस खोला क्षेत्रको बगरमा तलदेखि माथितिर नियाल्दै जानुपर्छ । तल जहाँ धाउ देखिएका छन्, त्यसदेखि माथितिर जाँदा जहाँसम्म धाउ भेटिन्छ, त्यही क्षेत्रको दायाँ–बायाँ खानीको सम्भावना हुन्छ । हामीकहाँ भने कसैले देखेको वा संकेत पाएको आधारमा खानी खन्ने गरिन्छ ।’ 

उनको अनुभवमा खानी खन्नु भनेको जोखिम मोल्नु वा जुवा खेल्नु हो । ठूलो खर्चमा थुप्रै मजदुर लगाएर खन्नुपर्छ तर के कति माल (खनिजलाई उनी माल भन्छन्) भेटिने भन्ने निश्चित हुँदैन । उनी भन्छन्, ‘चट्टान खन्दै जाँदा बीचमा होल (खाली ठाउँ) भेटिन्छ । त्यो खाली ठाउँमा कहिले खनिज हुन्छ, कहिले पूरै खाली ।’

०४६ सालतिर, संखुवासभाको ह्याकुलेमा पेग्माटाइट खानी खन्न उनले आफ्नै खर्चमा खानी विभागका दुई इन्जिनियर र सरकारको अनुमतिमा केही विस्फोटक पदार्थ लिएर गएका थिए । चट्टानको बीचमा खानी हुने हुँदा त्यसलाई फोर्न विस्फोटक पदार्थ चाहिन्छ । त्यहाँ इन्जिनियरले भनेकै ‘पोइन्ट’मा खन्दा पनि माल नभेटिएपछि उनले विभागमा गुनासो गरे । विभागले आफ्नै खर्चमा एक इन्जिनियरलाई अवलोकनका लागि पठायो । उनले अवलोकन गर्दा सबै ठीक देखियो तर पेग्माटाइट देखिएन । 

त्यही बेला उनलाई अस्ट्रियन वैज्ञानिकहरूले सम्पर्क गरे । सायद उनीहरू नेपालमा खानीको अवस्था बुझ्न चाहन्थे । ती वैज्ञानिकहरू हरिप्रसादसँगै ह्याकुले गए । उनीहरू खासगरी अध्ययनका लागि गएका थिए, खानी भेटिए फाइदा हरिलाई नै हुन्थ्यो । 

khanij (4)

ती वैज्ञानिकले खानीको निरीक्षण गरिसकेपछि भने, ‘मिस्टर तिम्सिना ! तिमीहरूको बुझाइ गलत भयो ।’

हरिले अलि तलबाट सुरुङ खनेका रहेछन् । त्यतिबेला खानी खन्न उनले २० लाख रुपैयाँ खर्चेका थिए । त्यो खानी सानो थुम्कोमा थियो । उनले थुम्को फुटाउनका लागि विस्फोट गराए । १०–१० फायर गरी ३० फायरमा थुम्को भत्कियो, तर भित्र केही थिएन । ‘त्यहाँको खानीमा माथिल्लो तहमा मात्रै खानी रहेछ, जसलाई पुर्खाले पहिले नै सकेका रहेछन्,’ तिम्सिना भन्छन्, ‘पूरै थुम्को फोर्दा भने मैले त्यसदेखि दायाँ–बायाँ खनिज भएको संकेत पाएँ, जसलाई हामी नसा भन्छौँ । त्यही नसा पहिल्याउँदै जाँदा आएको अलिकति खनिजले मलाई घाटा हुनदेखि जोगायो ।’ 

संखुवासभाकै फाकुवाको पेग्माटाइट खानीमा उनले ५–६ वर्ष काम गरे । त्यहाँ पनि अलिअलि खनिज पाइयो । यसरी ह्याकुले र फाकुवामा उनले घाटा बेहोर्नुपरेन ।

उनको अनुभवमा खनिजका लागि हाम्रो मुलुक नयाँ हो । त्यसकारण विश्वका अन्य देशमा जस्तो हामीकहाँ ठुल्ठूला खानी नहुन सक्छन् । ‘हाम्रो भूगोलमा पहिले टेथिस सागर थियो,’ उनी भन्छन्, ‘इन्डियन र तिब्बेतियन टेक्टोनिक प्लेटको टकराबका कारण यहाँको जमिन माथि उठ्यो र यहाँ हिमालय शृंखला बने । भूगर्भ भित्रैबाट आएका खानी हामीकहाँ छैनन्, अर्थात् हामीकहाँ पृथ्वीको गर्भ वा ज्वालामुखीबाट निस्कने र लार्भाबाट बन्ने खानी साह्रै कम छन् ।’ 

उनी अझ ठोकुवा गर्छन्, ‘मेरो अनुभवमा हामीकहाँ टुक्रे खानीहरू छन् । हामीसँग अलि बढी डिपोजिट चाहिँ चुनढुंगाको छ ।’

उनको पुस्तक अनुसार, नेपालमा मुख्य केन्द्रीय दरार (मेन सेन्ट्रल थ्रस्ट) क्षेत्र र महाभारतीय दरार (महाभारतीय थ्रस्ट) क्षेत्रमा खनिजको सम्भावना बढी छ । भारतीय टेक्टोनिक प्लेट उत्तर–पूर्वतर्फ सर्ने क्रममा एसिएन प्लेटमा धक्का दिँदा बढी बल प्रयोग भएको स्थानमा पूर्व–पश्चिम फैलिएको मुख्य केन्द्रीय दरार क्षेत्रको विकास भएको मानिन्छ । यस्तो प्रभाव क्षेत्र महाभारत शृंखलामा समेत देखिन्छ, जसलाई महाभारतीय दरार भनिन्छ । यसको दक्षिण भागमा महाभारत शृंखला र चुरे पहाडको सिमानामा पनि दरार रहेको मानिन्छ । यो दरार रहेको स्थानलाई मुख्य सीमा दरार (मेन बाउन्ड्री थ्रस्ट) भनिन्छ । ‘यो पनि नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको मानिन्छ,’ उनी लेख्छन्, ‘नेपालमा यसै मुख्य केन्द्रीय दरार क्षेत्र र महाभारतीय दरार क्षेत्रमा विभिन्न रत्न खानीहरूको निर्माण भएको पाइएको छ ।’ 

उनका अनुसार, माइकासिस्ट नेपालभरि पाइन्छ, तर त्यसको त्यति मूल्य छैन । माइकासिस्टमा टुर्बालिन, काइनाइट टाँसिएर आउने गर्छ ।

khanij (3)

आईए पढ्दापढ्दै खानी उत्खननमा लागेका उनले प्राइभेटबाट इतिहास र संस्कृति विषयमा स्नातक गरेका छन्, तर उनको विज्ञता खनिजमा छ । विज्ञानमा आधारित यत्तिको पुस्तक लेख्ने ज्ञान उनले कसरी लिए ? ‘मैले यसको विज्ञान पढिनँ, तर विज्ञान पढ्नेले मैले जसरी काम गर्दैनन्, किनभने उनीहरूले रिस्क थाहा पाउँछन्,’ उनी हाँस्दै भन्छन्, ‘मैले खानी खन्दै जाँदा अनुभव बटुल्दै गएँ । विज्ञसँगको संगतले पनि सिकायो । खानी खन्दै जाँदा कहाँ खनिज पाइन्छ भन्ने चासो बढ्दै जानु स्वाभाविक हो । अनि मैले खुब किताब पढेँ । खनिजको सम्बन्धमा अंग्रेजीमा पाइने रसिएन पुस्तक राम्रा छन् ।’ 

हाम्रो देशमा सुन, रुबी, फलाम, तामा आदिको पनि खानी छ भनिन्छ तर उनी किन क्वार्ज, पेग्माटाइट आदितिर लागे ? ‘सुन, फलाम आदितिर प्रक्रिया अलि झन्झटिलो छ,’ उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय बजार भएको खनिजतिर मेरो मन गयो ।’ 

वर्तमान अवस्था

खानी तथा खनिज पदार्थ ऐन, २०४२ ले परिभाषित गरेको छ, ‘खनिज पदार्थ भन्नाले जमिनको सतह वा भूगर्भभित्र पाइने पेट्रोलियम र ग्यास पदार्थबाहेक कुनै निश्चित भौतिक गुण तथा तत्त्वको रासायनिक सम्मिश्रणयुक्त अप्राङ्गणिक (इनअर्गानिक) पदार्थ सम्झनुपर्छ ।’

खानी विभागका सूचना अधिकृत नारायण बाँस्कोटाका अनुसार, विभागले अहिलेसम्म गरेको अनुसन्धानबाट ६३ प्रकारका खनिज पत्ता लागेको छ । यसमध्ये १४ वटाको उत्खननका लागि निजी क्षेत्रलाई लाइसेन्स दिइएको छ । ‘लाइसेन्स लिएकामध्ये पनि ९५ प्रतिशतले चुनढुंगामा काम गरिरहेका छन् । खरी, स्लेट, कोइला आदिमा उत्खनन भएर काम अगाडि बढिरहेको छ,’ उनले भने, ‘क्वार्ज, टुर्मालिन, काइनाइट आदि विदेशमा निकासी नभएका कारण अहिले कसैले लाइसेन्स लिएर खानी खन्ने गरेका छैनन् । सुन, तामा, फलाम आदिमा अनुसन्धान भए पनि उत्खननको काम त्यति भएको छैन ।’

सरकारको आव ०७६÷७७ को वार्षिक प्रगति प्रतिवेदन भन्छ, ‘चुनढुंगाका चार खानी उत्खननका लागि सम्झौता भएको छ । यस्तै, एउटा चुनढुंगा उद्योग, दुइटा सुन उद्योग, चारवटा तामा उद्योग, एउटा कोइला उद्योग तथा एउटा ग्रेनाइट उद्योगको खोजतलास तथा प्रवद्र्धनका लागि निजी लगानीकर्तासँग सम्झौता सम्पन्न भएको छ ।’

सूचना अधिकारी बाँस्कोटाका अनुसार, पेट्रोलियम पदार्थको सम्बन्धमा अहिले चिनियाँ सरकारमार्फत अध्ययन–अनुसन्धानको काम भइरहेको छ । ‘दैलेखमा काम भइरहँदा पोजिटिभ सिन्ड्रोम देखिएको छ । आउँदो अक्टोबरमा करिब चार किलोमिटर ड्रिलिङ गरेर हेर्ने कुरा छ,’ उनले भने, ‘त्यसका लागि मेसिन ल्याउन हाम्रो सडकको मोड ठूलो बनाउनुपर्ने रहेछ । त्यसका लागि पनि प्रक्रिया अगाडि बढेको छ ।’

उत्खनन र अनुसन्धानको इतिहास

प्रसिद्ध चिनियाँ यात्री हुयान साङको वर्णन अनुसार, नेपालबाट भोटमा तामा तथा फलामका वस्तुहरू निकासी हुन्थ्यो । पृथ्वीनारायण शाहले ‘जहाँ खानी पाइन्छ त्यहाँबाट गाउँघर अन्यत्र सार्नू’ भन्ने उपदेश दिनुले पनि हाम्रा पुर्खाले पहिलेदेखि नै खानीलाई महत्त्व दिँदै आएका हुन् ।

हामीकहाँ सरकारले कार्यालय नै खोलेर खानीको अन्वेषण गरेको करिब सय वर्ष पुग्न लाग्यो । १९८६ सालमा नहर तथा जियोलजी अड्डा स्थापना गरी खानीको अन्वेषण र विकासको सुरुवात संस्थागत रूपमा गरिएको थियो ।

यस कार्यालयले १९८६ सालमा सर्वप्रथम जमिनमुनिको पानी र खनिज अन्वेषण गरेको थियो । खासगरी काठमाडौं उपत्यकामा कोइला, काली गण्डकी क्षेत्रमा सुन, बाह्रा (बराह वा बारा भनेको हुन सक्छ कि ?) क्षेत्र र दाङमा कोइलाको खोजीबाट सुरुवात गरेको बुझिन्छ, (२०४१ सालमा प्रकाशित जगत मर्दन थापाको पुस्तक ‘नेपालमा खनिज आधारित उद्योगको विकास’) । 

खानीको खोजी र विकासका निम्ति १९९९ सालमा खानी अड्डाको स्थापना भयो । यस अड्डाले सर्वप्रथम तामा, सुन, कोइला र माइकाको खोजी कार्यको सुरुवात गरेको थियो । त्यसताका खनिज विकासका निम्ति खानी सम्बन्धी कम्पनीहरूमा हिमाल माइनिङ सेन्डिकेट, दाङ कोल कं. र नेपाल माइका कं. निजी क्षेत्रमा स्थापना भएका थिए,’ थापाले लेखेका छन्, ‘तर यिनीहरू केही दिनमै नराम्रोसँग घाटा भई बन्द भयो । त्यसपछि अन्य निजी क्षेत्रमा खनिज सम्पदाको विकासको निम्ति व्यापारिक दृष्टिकोणले कुनै कम्पनी खोलिएन ।’

खानी विभागले २०१८ सालमा ‘खानी र मानिस’ शीर्षकको पुस्तक प्रकाशन गरेको थियो । ‘हाम्रो मुलुकमा यत्तिको आवश्यक तथा महत्त्वपूर्ण खानीबाट हुने उत्पादनको उपयोग गर्ने काममा हामी प्रायः लाग्न सकेका छैनौँ । जे जति हामीले उपयोग गरिरहेका छौँ, सबै प्रायः अन्य मुलुकबाट पैठारी गर्दै आएका छौँ,’ यस पुस्तक भन्छ, ‘हाम्रो मुलुकमा खानी छ छैन भन्ने पनि प्रश्न उठ्न सक्छ । यसबारे हाम्रा पुर्खाले काम गरेको तामा खानी, फलाम खानी दृष्टान्त स्वरूप आजसम्म जिल्ला जिल्लामा स्मारक स्वरूप रहेका खानीको टोपा, चनकहरू अद्यापि छँदै छन् ।’

यसले देखाउँछ, २०१८ सालसम्म हामीले व्यापारिक दृष्टिले खानीबाट खनिज निकाल्न सकेका थिएनौँ । पुर्खाले परम्परागत प्रविधिबाटै काम चलाउँदै आएका थिए । यद्यपि प्रजातन्त्रपछि सरकारले खानी खन्नमा जोड दिएको देखिन्छ । पुस्तक भन्छ, ‘चितवनको रिउ उपत्यकाको मरोडी खोलामा ड्रिलिङ गरी नदीको सतहसम्म पुग्ने प्रयास गरियो । सो सतहमा सुन छ छैन भन्ने पत्ता लगाउन दुईवटा प्वाल खन्दा दुवै प्वालमा सुनका कण पाइएका छन् । व्यापारिक तबरमा काम गर्न हुने नहुने छुट्याउनलाई अझै जाँच पडतालको काम जारी राखिनेछ ।’

khanij (2)

यस पुस्तक अनुसार, त्यतिबेला फलाम खानीमा अलि बढी अनुसन्धान भएका थिए । ‘फुलचोकी फलाम खानीमा धाउको अनुमानित परिणाम एक करोड टन जति रहेको अनुमान गरिएको छ,’ पुस्तक भन्छ, ‘यहाँको करिब तीन सय टन धाउ भारतका नेसनल मेटालर्जिकल लाबोरेटोरीमा पठाई पाइलट प्लान्ट स्केलमा पगाली जँचाउने प्रबन्ध मिलाइएको छ ।’ 

यस्तै, नारायणगढबाट करिब १२ माइल उत्तरतिर लब्धी खोलामा एउटा नयाँ फलाम खानी पत्ता लगाइएको थियो । यहाँको फलामको धाउ फुलचोकीको दाँजोमा अलि कमसल क्वालिटीको भए पनि काम गर्न हुने मात्रामा पाइने प्रमाणित भइसकेको पुस्तक बताउँछ । पुस्तक अनुसार, ठोसे फलाम खानीमा फलाम पगाल्ने काम अघिदेखि भइआएको थियो । यहाँ ८४ लाख टनभन्दा अधिक फलाम भएको अनुमान गरिएको थियो । 

त्यतिबेला भीमफेदीबाट अन्दाजी १२ माइलपूर्व अर्खौलेमा तामा–सिसा खानी पत्ता लागेको थियो । त्यहाँ भारतीयहरूले जाँच पडताल गरिरहेका थिए । पुस्तक भन्छ, ‘तिनीहरूबाट रिपोर्ट प्राप्त नभए पनि सो ठाउँको तामा तथा सिसाको धाउ काम गर्न हुने मात्रामा तथा क्वालिटीको छ भन्ने बुझिएको छ ।’

यस पुस्तकमा सिसा धाउ, राम तिलक (गेरु), खरी, स्लेट, अब्रख, चुनढुंगा, जस्ता, निकल, नुन आदि खानी वा धाउ भेटाइएका ठाउँहरूको बारेमा चर्चा गरिएको छ । 

पेट्रोलियम पदार्थका बारे यस पुस्तक अनुमान गर्छ, ‘मुक्तिनाथ इलाका, प्युठान जोन, सिवालिक जोन — यीमध्ये हाल फिल्ड वर्कबाट दाङ देउखुरी, प्युठान, सल्यानमा भेटाइएको न्युमुलाइट (एक किसिमको सिद्ध ढुंगा) भएको चुनढुंगाले झन् आशाजनक देखाइएको छ । कारण, यी न्युमुलाइट भएको चुनढुंगा पेट्रोलियम खानीको मूल मानिन्छ ।’ 

जगत मर्दन थापाको पुस्तक अनुसार, नेपालको चुरे तथा तराई शृंखलामा पेट्रोलियम तेल तथा ग्यास पाउन सक्ने सम्भावना देखिएकाले आर्थिक वर्ष २०३६÷३७ मा ४८,००० वर्ग किलोमिटर चुरे तथा तराई क्षेत्रको एरो–मेग्नेटिक सर्वेक्षण सम्पन्न गरिएको थियो । सर्वेक्षणले उत्साहबद्र्धक नतिजा दिएपछि ०३९÷४० देखि विश्व बैंंकको ९२ मिलियन युएस डलर ऋण सहायतामा ‘रिकनाइसेन्स साइस्मी सर्भे’ सञ्चालन भएको थियो । २०४१ जेठ (पुस्तक प्रकाशन मिति) सम्म यस कामको विश्लेषण तथा प्रतिवेदन सार्वजनिक भएको थिएन । यत्रो ऋण लिएर पञ्चायत सरकारले के कति उपलब्धि हासिल ग¥यो ? खोजीको विषय छ । 

थापाको पुस्तक अनुसार, २०४० सालदेखि काठमाडौंको टेकुमा मिथेन ग्यास निकालेर प्रयोग गर्न थालिएको थियो । पुस्तक भन्छ, ‘३०० मिटरको गहिराइमा तीन ड्रिल होल गरी टेकुस्थित ५०० घनमिटर क्षमताको ग्यास होल्डरमा ग्यास संंकलन गरी गत वर्ष (२०४० साल)देखि उक्त क्षेत्रमा पर्ने सरकारी कार्यालयहरूमा परीक्षणको रूपमा सफलतापूर्वक ग्यास इन्धन वितरण गरिरहेको छ । यसले ३ हजार परिवारको दैनिक आवश्यकता अन्य इन्धनको मूल्यमा प्रतिस्पर्धा गरी ६५ वर्षसम्म पु¥याउन सक्ने अनुमान गरिएको छ ।’

सरकारी निकायबीच समन्वय भएन ?

सरकारले मुलुकमा उपलब्ध खनिज स्रोतको संरक्षण, संवद्र्धन, उपयोग एवं दिगो विकास गर्दै आर्थिक समुन्नतिमा योगदान पु¥याउने उद्देश्यका साथ ‘राष्ट्रिय खानी नीति २०७४’ ल्याएको छ ।

यस नीति भन्छ, ‘खनिजजन्य उद्योगहरूको पूर्वाधार विकासमा नेपाल सरकारबाट वार्षिक सरदर ६० करोड रुपैयाँ लगानी भइरहेको छ तर विभिन्न नियम–कानुनमा भएका असामञ्जस्यता तथा सरकारी निकायहरूबीच समन्वय अभावका कारण अपेक्षाकृत रूपमा सफलता हासिल गर्न सकिएको छैन ।’

नीतिको ‘मुख्य समस्या र चुनौती’ शीर्षकमा भनिएको छ, ‘नेपालमा खनिज सम्पदाको विकास नहुनुमा समय सान्दर्भिक नीति, ऐन, नियम तयार नहुनु, यथेष्ट लगानी नहुनु र निजी क्षेत्रलाई आकर्षित गर्न नसकिनु नै मुख्य समस्या हुन् ।’

यहाँनेर प्रश्न उब्जन्छ, ‘कुन कुन नियम–कानुन कसरी बाझियो ? कुन–कुन सरकारी निकायबीच समन्वय अभाव रह्यो र अपेक्षाकृत सफलता हासिल गर्न सकिएन ? यसबारे अर्को भागमा चर्चा गर्नेछौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप