सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जनमतले पार्टी कार्यालय स्थापना गर्न अक्षयकोष बनाउने

मङ्गलबार, ०२ साउन २०८०, १८ : ४८
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । जनमतले पार्टी कार्यालय निमार्णका लागि अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले पार्टी कार्यालय निर्माणका लागि अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको हो ।

अक्षयकोषमा रकम संकलन गर्न दाताहरुलाई आह्वान गर्ने निर्णय भएको पार्टीका महासचिव चन्दन सिंहले बताए । अहिले पार्टी कार्यालय बुद्धनगरमा भाडाको घरमा रहेको छ । अब आफ्नै संरचना बनाउन पार्टी तयार भएको बताइएको छ ।

यस्तै बैठकले पार्टीका विभिन्न तहको बैठकको समय निर्धारित गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरुको प्रशिक्षण साउन ८ देखि ९ गतेसम्म धुलिखेलमा राखिएको छ भने साउन ५ गते जिल्ला इन्चार्ज तथा पूर्व जिल्ला इन्चार्जहरुको बैठक काठमाडौँमा बोलाइएको छ । साउन १२ गते मधेस प्रदेश समितिको बैठक बर्दिवासमा राखेको छ भने राष्ट्रिय परिषद्को बैठक साउन १७ गते काठमाडौँमा राखेको छ । त्यस्तै साउन १९ गते स्थानीय जनप्रतिनिधिको बैठक काठमाडौँमा राखिएको महासचिव सिंहले जानकारी दिए ।

जनप्रतिनिधि बारेमा जनमत संग्रह गराउने कार्यक्रमलाई पनि बैठकले सारेको छ । यसअघि साउन ६ गतेका लागि तोकिएको थियो । त्यसलाई साउन २७ र भदौ २ गतेका लागि निर्धारण गरिएको छ । केन्द्रीय सचिवालय र जिल्ला कार्यकारिणी पदाधिकारीको बैठक हरेक आइतबार गर्ने निर्णय पनि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप