स्थानीय तहका जनप्रतिनिधि अझै जबाफदेही बन्नुपर्छ : सभामुख घर्ती मगर

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले स्थानीय तहका जनप्रतिनिधिहरू थप जबाफदेही र जनमैत्री बन्नुपर्ने बताएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका गाउँभाको १३ औँ अधिवेशनलाई सम्बोधन गर्दै सभामुख मगरले स्थानीय तह जनताको घर दैलोको सरकार भएकाले जनप्रतिनिधिहरू थप जिम्मेवार बन्नु पर्ने बताएका हुन् ।
उनले प्रदेशसभाले जनताको काम गर्ने सवालमा कानुनी समस्या भए हल गर्न तत्पर रहेको बताए ।
सभामुख मगरले जनप्रतिनिधिहरूलाई कानुनी शिक्षा दिन र कार्यान्वयनमा आएका ऐन कानुनको जटिलताको हल गर्न प्रदेश सभा सधैँ तयार रहेको पनि बताए ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका १०९ वटा पालिकामा प्रदेश सभा प्रत्येक रूपमा जोडिने गरी काम गर्ने योजनमा प्रदेश सभा रहेको उनको भनाई थियो ।
पालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण जी. सी. समाजसेवी गोपाल पोखरेल ,उपाध्यक्ष कान्ता अधिकारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियो ।