सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या

१ जना प्रहरी नियन्त्रणमा, ७ जना फरार
सोमबार, २२ असार २०८३, १५ : ५८
सोमबार, २२ असार २०८३

बारा । स्थानीय युवाले अपमानित गरेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि बारा कलैयाकी एक बालिकाले आत्महत्या गरेको घटनामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । 

कलैया उपमहानगरपालिका–२१, भौडाहाकी १३ वर्षिया सरिया खातुन गतसाता आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उक्त घटनाको अनुसन्धान क्रममा एक जनालाई नियन्त्रणमा लिएको छ भने ७ जनाविरुद्ध जाहेरी दर्ता गरेको छ । 

असार १५ गते खातुनलाई गाउँका केही स्थानीयले गालीगलौज, धम्की र दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता मिन घलेले बालिका आत्महत्या घटनाबारे अनुसन्धान गर्ने क्रममा भिडिओ भेटिएको जनाएको छ । ‘हामीले पनि घटना भइसकेपछि अनुसन्धान गर्ने क्रममा घरमा झगडा भएको थियो कि भनेर सोधीखोजी गर्दा सो भिडिओ भेटेका हौँ,’ प्रहरी प्रवक्ता मिन घलेले भने, ‘परिवारको निवेदनपछि १ जनालाई नियन्त्रणमा लिएका छौँ भने ७ जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ ।’ 

असार १५ गते खातुन भौडाहस्थित चौरको एक खेतमा साथीसँग बसिरहेकी थिइन् । स्थानीय युवाले ‘त्यो केटासँग किन बसेको’ भन्दै गालीगलौज गर्न सुरु गरेको प्रहरीको भनाइ छ । त्यही अपमान सहन नसकी भोलिपल्ट असार १६ गते सरियाले आत्महत्या गरेकी परिवारको भनाइ छ । 

उनीहरूले सरियासँग गरेको दुर्व्यवहार र कुटपिटको भिडिओ पनि खिचेका थिए । 

त्यो भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि सरियाले मानसिक तनाव झेल्न नसकेकी जिल्ला प्रहरी कार्यालयको भनाइ छ । सार्वजनिक भिडिओमा गाउँका केही युवाले बालिकालाई घेरेर गालीगलौज गरिरहेको, धम्क्याएको देखिन्छ । 

प्रहरीले भिडिओलाई अनुसन्धानको मुख्य प्रमाणका रूपमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप