मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

बालोगुनमाथिको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयप्रति युईएफएको कडा आपत्ति

सोमबार, २२ असार २०८३, १६ : ५०
सोमबार, २२ असार २०८३

सारांश

  • युइएफएले अमेरिकी खेलाडी फोलारिन बालोगुनमाथिको एक खेलको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयको कडा विरोध गरेको छ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई आग्रह गरेपछि फिफाले बालोगुनको प्रतिबन्ध एक वर्षको परीक्षण अवधिका लागि स्थगित गरेको थियो ।
  • फिफाको यो निर्णयपछि विश्व फुटबलमा व्यापक विवाद उत्पन्न भएको छ र बेल्जियमको रोयल फुटबल संघ (आरबीएफए)ले पनि औपचारिक अपिल दर्ता गराएको छ ।

नियोन । युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले अमेरिकी खेलाडी फोलारिन बालोगुनमाथिको एक खेलको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयको कडा विरोध गरेको छ । उक्त निर्णयलाई ‘अभूतपूर्व, बुझ्नै नसकिने र कुनै पनि हिसाबले औचित्य पुष्टि गर्न नसकिने’ भन्दै फिफाले विश्व फुटबलमा रातो रेखा पार गरेको आरोप युइएफएले  लगाएको छ ।

बालोगुनको रातो कार्डमाथि पुनरावलोकन गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई आग्रह गरेपछि फिफाले उनको प्रतिबन्ध एक वर्षको परीक्षण अवधिका लागि स्थगित गरेको थियो । यससँगै बालोगुनले सोमबार बेल्जियमविरुद्धको विश्वकपको अन्तिम १६ को खेल खेल्न पाउने भएका छन् ।

‘जब खेलका नियमहरूको निश्चितता कायम राख्ने जिम्मेवारी नै संरक्षकहरूले पूरा गर्दैनन्, तब खेलको निष्पक्षता जोखिममा पर्छ र प्रतियोगिताको विश्वसनीयता कमजोर हुन्छ,’ युइएफाले सोमबार जारी गरेको विज्ञप्तिमा भनेको छ । फिफाले भने यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । बालोगुनले विश्वकपमा अमेरिकाका लागि तीन गोल गरेका छन् । उनले बोस्निया–हर्जेगोभिनाविरुद्धको अन्तिम ३२ को खेलमा भिडियो सहायक रेफ्री (भिएआर)को समीक्षा पछि रातो कार्ड पाएका थिए ।

उनले बोस्नियाली डिफेन्डर तारिक मुहरेमोभिचको खुट्टामाथि स्टडले प्रहार गरेको निष्कर्षपछि रेफ्रीले उनलाई मैदानबाट बाहिर पठाएका थिए । सामान्य नियमअनुसार रातो कार्ड पाएपछि बालोगुनले बेल्जियमविरुद्धको अन्तिम १६ को खेल गुमाउनुपर्ने थियो । तर ट्रम्पले फिफा अध्यक्ष इन्फान्टिनोसँग निर्णय पुनरावलोकन गर्न आग्रह गरेपछि फिफाले प्रतिबन्धको कार्यान्वयन एक वर्षका लागि स्थगित गरिदिएको हो ।

फिफाले रातो कार्ड भने यथावत् राखेको छ । यदि परीक्षण अवधिभित्र बालोगुनले पुनः अनुशासन उल्लङ्घन गरेमा पुरानो प्रतिबन्ध पनि लागू हुनेछ । फिफाको यो निर्णयपछि विश्व फुटबलमा व्यापक विवाद उत्पन्न भएको छ । बेल्जियमको रोयल फुटबल संघ (आरबीएफए)ले पनि फिफाको निर्णयप्रति आश्चर्य व्यक्त गर्दै त्यसविरुद्ध औपचारिक अपिल दर्ता गराएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप