सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

माउन्ट एल्ब्रसको शिखरमा नेपाली स्पेशालिटी कफी, दाबुटी शेर्पाले गरिन् विश्वसामु प्रवर्द्धन

सोमबार, २२ असार २०८३, १६ : ४६
सोमबार, २२ असार २०८३

काठमाडौं । युरोपको माउन्ट एल्ब्रस (५,६४२ मिटर) शिखरको चुचुरोमा नेपाली स्पेशालिटी कफीको प्रवर्द्धन गरिएको छ । 

लेकाली कफीको स्पेशालिटी कफी मितिनी कफी एकेडेमीको पहलमा सञ्चालन गरिएको यस अभियानमा भियतनाम, सिक्किम तथा अन्य देशका सहभागीहरूले पनि नेपाली कफीको स्वाद चाखेका थिए। 

पर्वतारोही दाबुटी शेर्पाले माउन्ट एल्ब्रसको १९४ पटक सफल आरोहण गरिसकेका चतुर तामाङसहित गायक राजु लामा, अविरल राई, विक्रम कार्की, नुर्बु शेर्पा (संखुवासभा), विकाश तामाङ, भियतनामका Nguyen Dinh Quang तथा सिक्किमकी Tshering Choden लगायतलाई कफीको स्वाद चखाएकी थिइन् ।

आयोजकका अनुसार अभियानको उद्देश्य नेपाली स्पेशालिटी कफी, नेपालको कृषि, पर्यटन तथा नेपाली किसानको मेहनतलाई विश्व समुदायसमक्ष परिचित गराउनु हो।

यस अभियानले अर्को ऐतिहासिक उपलब्धिसमेत हासिल गरेको छ। एउटै टोलीका सात जना नेपालीले माउन्ट एल्ब्रस सफलतापूर्वक आरोहण गर्दै नेपाली पर्वतारोहण इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। टोलीका अनुसार एउटै अभियानमा सात नेपालीले एल्ब्रस सफलतापूर्वक आरोहण गरेको यो पहिलो पटक हो।

अभियानको नेतृत्व गरिरहेकी पर्वतारोही दाबुटी शेर्पाले भनिन्, “माउन्ट एल्ब्रसको शिखरमा तयार गरिएको एउटा कप नेपाली कफी केवल पेय पदार्थ होइन, यो नेपाली किसानको मेहनत, नेपालको पहिचान र विश्व बजारमा नेपाली स्पेशालिटी कफीको सम्भावनाको प्रतीक हो।”

उक्त अभियान ‘सात महादेश, सात शिखर–नेपाली कफीको विश्व अभियान’ अन्तर्गत सञ्चालन भइरहेको हो। अभियानको लक्ष्य विश्वका उच्च शिखरहरूमा नेपाली कफीको पहिचान स्थापित गर्दै नेपालको स्वाद, संस्कृति, कृषि र उद्यमशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउनु रहेको आयोजकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप