शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारका प्रमुख कारक शिक्षा र स्वास्थ्य

बुधबार, ०३ साउन २०८०, १३ : ०८
बुधबार, ०३ साउन २०८०

जबसम्म शिक्षा र स्वास्थ्यमा सम्पूर्ण दायित्व राज्यको हुँदैन, तबसम्म देशमा भ्रष्टाचारको बेथिति रोकिनेवाला छैन । शिक्षा र स्वास्थ्यसँगै रोजगारीमा पनि राज्यको उत्तिकै दायित्व हुनुपर्छ । 

सरकारी सेवाबाहेक उद्योग कल–कारखाना निजी क्षेत्रलाई सञ्चालन गर्न दिएको एउटा खुला अर्थतन्त्र भएको मुलुकले सबैको रोजगारीको दायित्व लिन नसक्ला, तर नीतिगत सुधार गरी रोजगारमैत्री ऐन–कानुन निर्माण गरेर रोजगारी सिर्जनाको वातावरण बनाउनु राज्यको परम कर्तव्य र दायित्व हुन आउँछ । धनीले पढ्ने एउटा शिक्षा र गरिबका लागि अर्को स्कुल, अर्कै शिक्षा रहेसम्म न देशमा बिपी कोइरालाले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवाद स्थापना हुन सक्छ, न लोकतन्त्रको संस्थागत विकास नै ।

अरुको भन्दा आफ्ना छोराछोरी अब्बल बनून्, राम्रो शिक्षा हासिल गरून्, निरोगी र स्वस्थ रहून्, सुयोग्य नागरिक बनेर देशको सेवा गरून् भन्ने भावना जाग्नुलाई प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था भएको लोकतान्त्रिक मुलुकमा स्वाभाविक रूपमा लिन सकिएला । यो प्रतिस्पर्धाका लागि सक्दै नसक्नेले हात उठाउँछन् र आफ्ना सन्तानलाई अरबको मरुभूमिमा ५० डिग्री तापक्रममा सस्तोमा श्रम बेच्न विवश बनाउँछन् । 

छोराछोरी पढाउन र स्वास्थ्योपचारकै चिन्तानले कतिले दायाँबायाँ गर्न थाल्छन् । एउटा जागिरे कर्मचारी वा राजनीतिमा लागेकाहरूले घर खर्च थेग्न नसकेपछि दायाँ–बायाँ गर्ने हुन् । आफ्ना छोराछोरीको शिक्षा, परिवारका सदस्यको स्वास्थ्योपचारको प्रबन्ध मिलाउन नसक्दा अतिरिक्त कमाईका लागि भ्रष्टाचार गर्नुपरेको धेरैले बयान दिइसकेका छन् । देखासिकी, होडबाजी, तड्क–भड्क, अनावश्यक प्रतिस्पर्धा र सान–सौकतले गर्दा मानिस गलत बाटोमा लाग्न बाध्य हुँदै गएको छ ।

यो देशमा सबैका छोराछोरीले विषयगत उच्च गुणस्तरको समान शिक्षा पाउने, राम्रो ओखतीमूलो पाउने, दुई छाक पोषिलो र स्वास्थ्यकर खानेकुरा पाउने सहज वातावरण बन्ने हो भने भ्रष्टाचारी बनेर बदनाम कमाउन कोही चाहँदैन । 

छोराछोरीको स्तरीय शिक्षा, बिहेदान आदिको चिन्ताले व्यक्तिले छिटो कमाउने चोर बाटो खोजिरहेको हुन्छ । सरकारी कर्मचारीले पनि मालदार ठाउँ वा कार्यालय खोज्न थाल्छ । मालदार मन्त्रालय पाउन, त्यहाँ जान जसरी मन्त्रीहरू मरिहत्ते गर्छन्, कर्मचारी पनि त्यस्तै ठाउँमा सरुवा हुन रुचाउँछन् । त्यसपछि उपल्लो कर्मचारी र मन्त्री, मन्त्राणीलाई सगुन भेटी बक्सने कर्म सुरु हुन्छ । 

भ्रष्टाचार बाध्यता कि रहर ?

भ्रष्टाचारलाई बाध्यता भनेर बेथिति र विकृतिलाई समर्थन गर्न सकिन्न, तर किन गर्छ त मान्छेले बारम्बार भ्रष्टाचार ? प्रश्न गम्भीर छ । मालदार ठाउँको एउटा सहयोगी कर्मचारीको मासिक कमाइभन्दा धेरै कम्ती आठौँ–दशौँ तहका कर्मचारीको कमाइ भएपछि हीनताबोध हुन थाल्छ । 

कति अकुत कमाएर समाजमा सान–मान बढाउने रहरले भ्रष्टाचारी बनेका होलान्, कतिले मातापिताको औषधोपचार र केटाकेटीको शिक्षादीक्षाकै लागि गति छाड्नुपरेको अवस्था होला । 

महँगा सामान प्रयोग गर्ने, भोज, सभा–समारोहमा महँगा गहना–घडी, रत्नजडित वस्त्रादिको पहिरनमा सजिनेलाई मात्र इज्जत, मान–सम्मान, मर्यादा दिने आम प्रचलन नहटेसम्म भ्रष्टाचारको जालो तोड्न सजिलो छैन । 

भ्रष्टाचारमा मुछिएका, गन्हाएका वा शंकास्पद ठानिएका व्यक्तिले गर्ने सार्वजनिक वा कुनै पनि कार्यक्रम, उनीहरू वक्ता वा अतिथि रहेको कार्यक्रम र उनीहरुले दिने दान, चन्दा, पुरस्कार आदिलाई समेत बहिष्कार गर्नुपर्छ ।

जसको ठूलो घर, चिल्लो गाडी, महँगा वस्त्र, फजुल खर्च गर्न सक्ने औकात छ, समाजमा उही वरिष्ठ ! देश र जनतालाई लुटेर–ठगेर कमाएको हरामको कमाइको केही हिस्साबाट निहित स्वार्थ राखेर सामाजिक काममा खर्च ग¥यो भने उसलाई वरिष्ठ समाजसेवीको पगरी गुथाउन समाजमा तँछाड–मछाड हुने गरेको छ । त्यही भ्रष्टाचारबाट आर्जन गरेको रकम कनिका छर्नेलाई सञ्चार माध्यमदेखि राजनीतिक दल र समाजका सबै तप्काले सबभन्दा उच्च स्थानमा राखिदिएपछि ऊ देश विकासको मोड र भ्रष्टाचाररहित समाजको विषयमा प्रवचन नै दिन थालिहाल्छ ।

गरिब मुलुकमा प्रशासनमा पहुँच भएकाहरूको प्रतिस्पर्धा धनाढ्यसँग हुन्छ । त्यो ‘इलिट’ वर्गसँग संगत भएपछि, उसैको सिको गर्न थालेपछि मिलेर भ्रष्टाचार गर्न थाल्छन् । इलिटसँगै खर्च गर्न सक्ने आर्थिक हैसियत बनाउन स्रोतमाथि पहुँच हुनेले नै गर्छन् भ्रष्टाचार । गरिब, दुःखीले त भ्रष्टाचारबाट राज्यको स्रोत दोहन भएपछि असुविधा मात्र पाउने हुन् । धेरै कमाउने, अकुत कमाउने र सन्तान–दरसन्तानका लागि अथाह सम्पत्ति जोडिदिने लालसाले भ्रष्टाचारको जरा गाडेको हो । त्यसैले भ्रष्टाचार बाध्यता होइन गति–मति छाडेरै भए पनि धन कमाउने रहर हो ।

कसरी रोक्ने भ्रष्टाचार ?

जबसम्म समाजमा भ्रष्टलाई धन–सम्पत्तिका आधारमा मान–सम्मान गर्ने प्रचलन रहिरहन्छ, तबसम्म भ्रष्टाचार मौलाइरहन्छ । एकैपटक अकुत सम्पत्ति आर्जन गरेको र समाजमा सान–सौकात, औकात बढेको देखिन्छ भने कहाँबाट आयो यत्रो सम्पत्ति ? यसको वैधानिक आर्जन स्रोत के हो भनी प्रश्न उठाउनुपर्छ, सोधीखोजी हुनुपर्छ । राज्यका निकाय अख्तियार, सम्पत्ति शुद्धीकरण लगायत निकायले पनि यसतर्फ ध्यान दिनु जरुरी छ ।

समाज, राजनीतिक दल, संघ–संस्था कहीँ पनि स्थान नदिने, मञ्चासन नगराउने, सार्वजनिक र पारिवारिक कार्यक्रममा नबोलाउने, वास्ता नगर्ने, समग्रमा बहिष्कार नै गर्ने हो भने भ्रष्टाचारीको मनोबल कमजोर हुँदै जान्छ । अरु भ्रष्टले पनि सामाजिक दण्डको सामना गर्नुपर्ने चुनौतीका कारण भ्रष्टाचारका घटना र भ्रष्टाचारीमा कमी आउन सक्छ । 

भ्रष्टाचारीलाई भन्दा श्रमजीवी वर्गलाई संघ–संस्थाका कार्यक्रममा सम्मान, अभिनन्दन गरिनुपर्छ । त्यस्तो कार्यक्रममा हामीले कोही भ्रष्टाचारीलाई कार्यक्रममा निम्ता गरेका छैनौँ र गर्दैनौँ पनि भनेर सार्वजनिक उद्घोषण गर्नुपर्छ ।

भ्रष्टाचारमा मुछिएका, गन्हाएका वा शंकास्पद ठानिएका व्यक्तिले गर्ने सार्वजनिक वा कुनै पनि कार्यक्रम, उनीहरू वक्ता वा अतिथि रहेको कार्यक्रम र उनीहरुले दिने दान, चन्दा, पुरस्कार आदिलाई समेत बहिष्कार गर्नुपर्छ । यस्ता अभियानले भ्रष्टाचारीलाई सामाजिक दबाब पर्न जान्छ । यसो गरेपछि  कि तिनीहरूले अवैध रूपमा आर्जन गरेको सम्पत्ति राज्यकोषमा दाखिला गर्छन्, कि देश छाडेर पलायन हुन्छन् । नत्र कसरी हुन सक्छ त भ्रष्टाचारमा कमी ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण हुमागाईं
कृष्ण हुमागाईं
लेखकबाट थप