आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मौद्रिक नीति अर्थतन्त्रका चुनौती सामना गर्नेगरी आउनुपर्छ : पूर्वअर्थमन्त्री पौडेल

बिहीबार, ०४ साउन २०८०, १९ : २३
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौती सामना गर्नेगरी ल्याउन सुझाव दिएका छन् ।  

बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले आगामी मौद्रिक नीति कसिलो र लचिलो मौद्रिक नीति आउनुपर्ने बाहिर चर्चा भइरहेको बताए । उनले कसिलो र लचिलो मौद्रिक नीतिलाई गाई की त्रिशुल भनेको जस्तो छान्न सकिने विषय नभएको बताए । 

पूर्वअर्थमन्त्री पौडेलले विगतको मौद्रिक नीति सकारात्मक रहेको भन्दै विगतको मौद्रिक नीतिको सापेक्षिक निरन्तरता सहित अहिलेको अर्थतन्त्रलाई सामना गर्नसक्ने मौद्रिक नीति राष्ट्र बैंकले ल्याउनुपर्ने बताए । उनले आवश्यक मात्रामा लचिलो बनेर मौद्रिक नीति आउनुपर्ने बताए । उनले अर्थतन्त्रमा देखिएका नतिजा विगतको मौद्रिक नीतिको प्रभाव भएको भन्ने परीक्षण पछिल्ला आँकडाहरुले दिएको बताए । 

पूर्वअर्थमन्त्री पौडेलले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच हार्दिक सम्बन्ध हुनुपर्ने बताए । उनले अर्थ मन्त्रालय र राष्ट्र बंैकबीच हार्दिक सम्बन्ध नराम्रो छ भन्ने सन्देश बाहिर जाँदा विश्वासको वातावरण नबन्ने बताए । 

पूर्वअर्थमन्त्री पौडेलले दुई निकायबीच सम्बन्ध नराम्रो भएको सन्देशले मुलुकको अर्थतन्त्रलाई लयमा हिँडाउनको निम्ति चुनौती सिर्जना गर्ने बताए । उनले अर्थ मन्त्रालय र राष्ट्र बैंककाबीच अन्तर्विरोध र असमझदारी हुन नहुने भन्दै यस्तो भएमा मुलुकको अर्थतन्त्रमा नयाँ समस्या सिर्जना गर्ने पनि दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप