जोधपुरकी कान्छी महारानी जुबैदा : नायिका बन्दा बन्दुक लिएर स्टुडियो पुगे बुवा, राजासँगै दुर्घटनामा निधन, छोराको टाउको काटिएको शव फेला
परीको कहानी हामी सबैले सुनेका छौँ तर ५० को दशककी एक अभिनेत्री यस्ती थिइन् जसले यो कहानी बाँचेकी थिइन् । उनका लागि घोडामा सवार एक राजा आए र उनको हात सदाका लागि थामे । उनी सम्बन्धविच्छेद भइसकेको एक बच्चाकी आमा थिइन् । यो कहानी हो अभिनेत्री जुबैदा बेगमको । बाल्यकादेखि नै बुवाले उनीमाथि थोपरेको निर्णयले उनलाई स्वतन्त्रताले बाँच्न दिएन । नायिका बनेपछि जबरजस्ती विवाह गराइयो । एक बच्चा काखमा नै थियो, बुवाले जबरजस्ती सम्बन्धविच्छेद पनि गराए । बाध्यतावश महफिलमा गाउन थाल्दा जुबैदामाथि जोधपुरका महाराजा हनवन्त सिंहको नजर पर्यो र उनको जीवन फेरियो ।
जुबैदाको मृत्यु भएको ७१ वर्षपछि उनको जोधपुरमा उनको कुरा उठ्ने गर्छ । स्थानीयका अनुसार जुबैदाको आत्मा आज पनि उम्मेद भवन प्यालेस आसपास भट्किन्छ । केही वर्ष अघि राजमहल नजिकै बनाइएको एक शाही विद्यालयको कोठामा उनको आत्मा कथित रूपमा कैद गरिएको थियो । त्यो विद्यालयका थुप्रै कोठा ठुलठुला ताल्चा र तन्त्र–मन्त्रले बन्द छन् ।
आज परिकथाजस्तो देखिने जुबैदाको पीडादायी जीवन कहानीबारे जानकारी लिऔँ:

५० को दशकमा लिइएको जुबैदाको तस्बिर ।
स्टुडियोका मालिक थिए बुवा
जुबैदा बेगमको जन्म सन् १९२६ मा बम्बेको बोहरा (शिया) मुस्लिम परिवारका एक धनाढ्य स्टुडियोका मालिक श्री कासेमभाइ मेहताको घरमा भएको थियो । उनकी आमा फयाजी बाई गायिका थिइन् । उनी आफ्ना आमा–बुवाकी एक्ली सन्तान थिइन् । बुवाको हिन्दी सिनेमामा यति ठुलो नाम थियो कि फिल्म उद्योगका थुप्रै हस्तीको उनको घरमा आउजाउ हुन्थ्यो । त्यो जमानाकी एक चर्चित अभिनेत्रीसँग पनि बुवाको सम्बन्ध थियो ।

फिल्म उषा किरणको गीतको एक्लो तस्बिर जसमा जुबैदा देखिएकी थिइन् । जुबैदा (दाहिनेतर्फको कुनामा) बीचमा गीता बाली र बायाँ तर्फ कुक्कू मौरे ।
बुवाकी प्रेमिका देखेर नायिका बन्ने चाहना
घरमा ठुला–ठुला व्यक्तित्वहरू आउने गर्दथे, जसलाई देखेर जुबेदाले अभिनेत्री बन्ने सपना बुन्न थालिन् । कासेमभाईको स्टुडियोमा धेरै ठुला फिल्मको सुटिङ हुन्थ्यो । चुलबुली जुबेदा पनि स्कुलबाट भागेर स्टुडियोमा समय बिताउने गर्थिन् । त्यहाँ उनले डान्स मास्टरबाट नृत्य सिक्थिन् र आफैँ अभिनय गर्ने प्रयास गर्थिन् । दिन बितेपछि बुबा स्टुडियो बाहिरबाट हर्न बजाउँथे र जुबेदा घरतिर जान्थिन् ।
जुबैदाका बुबासँग सम्बन्ध राख्ने अभिनेत्री निकै ग्ल्यामरस, स्पष्टवक्ता र उच्च विचारधाराकी थिइन् । जुबैदाले उनलाई आन्टी भनेर बोलाउँथिन् । आन्टीलाई देखेपछि नै आफू नायिका नै हुन्छु भन्ने दृढ सङ्कल्प बोकिन् । सुटिङ हेर्न पुगेकी उनलाई एक निर्देशकले नायिका बन्ने हो भनेर सोधे । उनले झट्ट जवाफ फर्काइहालिन् । बुवा असाध्यै कडा स्वभावका थिए, त्यसैले जुबैदाले उनीबाट अनुमति लिनुको साटो सिधै फिल्मको सुटिङ सुरु गरिन् । आन्टी पनि जुबैदासँग त्यो सुटिङमा पुगेकी थिइन् ।

फिल्मको सुटिङ गरेपछि बुवा बन्दुक बोकेर स्टुडियो पुगे
जुबैदाले सुटिङ सुरु गरेपछि यसबारे उनका बुवालाई यसबारे शङ्का लाग्यो । छोरीलाई सुटिङमा नाच–गान गरिरहेको देखेर उनी बन्दुक लिएर पुगे र सुटिङ रोकिन् । फिल्म पूरा हुन सकेन । त्यो फिल्म त राम्रै बनेको थियो तर कासेमभाइको दबाबमा त्यो कहिल्यै रिलिज भने हुन पाएन ।
जुबैदाको पहिलो र अन्तिम फिल्म ‘उषा किरण’ (१९५२) थियो । जसमा गीता बाली मुख्य भूमिकामा थिइन् । यो फिल्म कहिल्यै रिलिज हुन पाएन ।

खालिद मोहम्मदको बाल्यकालको तस्बिर
पिताको कडाइ, विवाह र सम्बन्धविच्छेद
बुवाले जुबैदा र उनको नायिका बन्ने जिद्दीमाथि नियन्त्रण पाउनका लागि उनको विवाह आफ्नो एक पुराना साथीको छोरासँग निश्चित गरे । जुबैदाले विवाह गर्न अस्वीकार गर्दा उनको जबरजस्ती विवाह गराइयो । कराँचीबाट आएका जुबैदाका श्रीमान्को बम्बेमा कुनै काम थिएन, त्यसैले उनलाई घर ज्वाइँ बनाएर राखे ।
केही महिनापछि जुबैदाले एक छोरा जन्माइन् । उनको नाम राखियो खालिद मोहम्मद ।
बच्चा जन्मिएको केही समयपछि नै उनका श्रीमान् कराँची फर्कनका लागि जिद्दी गर्न थाले तर जुबैदाका बुवा यसको विरुद्धमा थिए । जुबैदा उनीसँग उनकै घरमा होस् भन्ने उनको चाहना थियो तर ससुरा र श्रीमान् इज्जतका लागि बस्न तयार थिएनन् । केही समयपछि दुई परिवारबीच यति ठुलो झगडा भयो कि जुबैदाले पिताले जबरजस्ती उनीहरूको सम्बन्धविच्छेद गराइदिए । श्रीमान् र ससुरा सम्बन्धविच्छेदपछि कराँची फर्किए र जुबैदा नराम्रोसँग टुटिन् ।
श्रीमानसँग अलग्गिएपछि जुबैदाले आफ्नो धेरैजसो समय छोराको लालनपालनमा खर्च गरिन् । उनी घरबाट बाहिर निस्किँदैनथिन् । एक दिन बुवाकी श्रीमती घर आउँदा जुबैदाको अवस्था देखेर उनलाई दया लाग्यो । जुबैदाको जीवन परिवर्तन गर्नका लागि उनलाई आफूसँग पार्टीमा लिएर जान थालिन् । उनी जुबैदाको बुवासँग झुटो बोलेर उनीबाट अनुमति लिने गर्थिन् ।

राजेन्द्र कुमारी र युवराज फतेह सिंह राव गायकवाडको विवाहको तस्बिर
जुबैदा र जोधपुरका महाराजको सुन्दर लभस्टोरी
२२ अप्रिल १९५० को कुरा हो । जोधपुर राजघरानाकी छोरी राजेन्द्र कुमारको विवाह थियो । बडौदा (अहिले वडोदरा) बाट राजघरानाका युवराज फतेह सिंह राव गायकवाड जन्ती लिएर जोधपुर पुगे । यो शाही विवाहमा जोधपुर र बडौदाबाट नाच–गानका लागि ठुलठुला कलाकारलाई बोलाइयो ।
त्यो महफिलमा २४ वर्षकी जुबैदा पनि आफ्नी आन्टीसँग सामेल भइन् । महफिल सुरु भयो र मञ्चमा एक–एक गरी कलाकार राजा महाराजाका लागि नाचगान पेश गरिरहेका थिए । अचानक जुबैदा पनि मञ्चमा आइन् र उनले गाउन सुरु गरिन् । सबैको नजर जुबैदामा थियो । एक त सुन्दर त्यसमाथि आवाज पनि साह्रै मिठो, यसले धेरैको ध्यान आकर्षित गर्यो । त्यो महफिलमा मारवाड रियासतका महाराज हनवन्त सिंह पनि समावेश भएका थिए । जुबैदाको गीत सुन्दा उनी मन्त्रमुग्ध भए ।
पार्टी सकिएपछि महाराजा जुबेदासँग कुरा गर्न सफल भए, तर भोलिपल्ट जुबेदा जन्तीसँगै बडौदा फर्कन लागेकी थिइन् । जुबैदा बडौदा प्रस्थान त गरिन् तर स्वास्थ्य खराब भएका कारण उनी अर्को स्टेसनमा रेलबाट ओर्लिइन् । उनलाई शाही अतिथिको रूपमा जोधपुर फिर्ता बोलाइयो । फर्किएर जुबैदा महाराजका विश्वासपात्र भरतेन्द्र सिंहको बंगलामा पाहुनाको रूपमा बसिन् ।
जुबैदाको उपस्थितिमा भरतेन्द्र सिंहले बंगलामा नै एक महफिल आयोजना गरे । यसमा महाराजा हनवन्त सिंह अतिथिको रूपमा आए । राजस्थानका लोकप्रिय लेखक अयोध्या प्रसादले आफ्नो पुस्तक द रोयल ब्लुमा जुबेदा र महाराजा हनवन्त सिंहबीचको पहिलो कुराकानीबारे उल्लेख गरेका छन् ।

जोधपुरका महाराजा हेमवंत सिंह
किताबका अनुसार –
महफिल समाप्त हुने बित्तिकै महाराजा आफ्नो महल फर्किने तयारी गर्न थाले । उनले महफिल छोड्नु अघि जुबैदाले हिम्मतका साथ भनिन्, ‘भोलि तपाईं पक्कै पनि आउनुहोला, तपाईंलाई केही खास सुनाउनु छ ।’
हनवंत सिंह – खास ? मलाई त आज र आजभन्दा पहिला तपाईंले जे पनि सुनाउनुभयो, त्यो खास नै लाग्यो ।
जुबैदाले लजाउँदै भनिन् – यो तपाईंको दयालुपन हो । सायद यसैकारण म जन्तीसँग फर्कन सकिनँ र बाध्यतावश म पहिलो पटक बिरामी भएँ ।
हनवंत सिंहले त्यसपछि भने – मलाई भारतेन्द्रले तपाईंको स्वास्थ्यबारे जानकारी दिए । जन्ती फर्किएपछि बिरामी भएको नाटक । एकदम पागल हुनुहुन्छ तपाईं ।
जुबैदाले भनिन् – अहिले तपाईंले जे भन्नुभयो, त्यो एक शब्द मेरो जीवनको सबैभन्दा सुन्दर गीत थियो ।
हनवंत सिंहले झट्ट जवाफ दिए – मैले त्यस्तो के भनेँ र ?
जवाफ पाए – तपाईंले मलाई पागल भन्नुभयो ।
हनवंत सिंहले – यदि तिमीलाई यो मनपर्यो भने अब म तिमीलाई पागल नै भन्नेछु ।
कुराकानी गर्दै गर्दा उनीहरूलाई थाहा भइसकेको थियो कि उनीहरूको यो सम्बन्ध लामो समयसम्म चल्नेछ । केही दिनपछि जुबैदाले जोधपुरबाट बम्बे फर्कने योजना बनाइन् । महाराजाले उनलाई रोक्न धेरै प्रयास गरे, तर उनका कडा बुवा र उनको अनुमति नहुँदा उनले फर्कनु नै राम्रो ठानिन् ।
जुबैदा बम्बई फर्कने बित्तिकै महाराजा हनवंत सिंह बेचैन भए । जुबेदालाई भेट्न उनी यति उत्सुक थिए कि उनले आफ्ना नजिकका साथी खुशवंत सिंहलाई जुबेदालाई खोज्न बम्बे पठाए । खुशवंत सिंह सफल भए र सही ठेगाना थाहा पाउने बित्तिकै महाराजा आफैँ बम्बे पुगे ।
महाराजा हनवंत सिंह मुम्बई आएर चर्च गेट नजिकैको एस्टोरिया होटेलमा बसे । अन्ततः आफ्ना नजिकको साथीको सहयोगमा, उनले जुबेदालाई भेट्न निम्तो दिन सफल भए । भेटघाट भयो र दुवैले एक अर्कासँग जीवन बिताउने निर्णय गरे, तर यस्तो हुन सहज थिएन । हनवंत सिंह जोधपुरका राजा थिए भने जुबैदा मुस्लिम अभिनेत्री थिइन् ।

रेडियो शो केका लागि कार्यक्रम गर्न पुगेकी जुबैदा बेगम
महाराजाले यसअघि दुई वटा विवाह गरिसकेका थिए
महाराजा हनवंत सिंह जोधपुरका राजा उम्मेद सिंहका छोरा थिए । उनको जन्म १२ जुन १९२३ मा जोधपुरमा भएको थियो । शाही प्रथा अनुसार महाराजा हनवन्त सिंहको २० वर्षको उमेरमा सन् १९४३ मा ध्रांगध्राकी राजकुमारी कृष्ण कुमारीसँग विवाह भएको थियो । ४ वर्षपछि १९४७ मा महाराजा हनवन्त सिंह जोधपुर रियासतको राजा बने । सन् १९४८ मा उनले १९ वर्षकी स्कटिश नर्स सान्ड्रासँग विवाह गरे । विवाहअघि उनले सान्ड्रालाई धर्म परिवर्तन गराए र उनको नाम शान्ता देवी राखे ।
सान्ड्रा डेढ वर्षपछि इंग्ल्याण्ड फर्किएपछि महाराजाले उनलाई मनाउन धेरै प्रयास गरे तर उनी फर्किनन् । महाराज आफ्नो जेठी पत्नी महारानी कृष्ण कुमारीसँग उम्मेद भवन दरबारमा बस्थे ।
अर्कोतर्फ, जुबैदाका बुबाको पनि कडा व्यक्तित्व थियो । उनले आफ्नी छोरीको जीवनको हरेक निर्णय आफैँ लिन्थे । यी दुईको सम्बन्धबारे त्यतिबेला खुलासा भयो जब महाराजाले पठाउने गरेको मूल्यवान् उपहारबारे जुबैदाकी आमा फयाजी बेगमलाई थाहा भयो । आमालाई मनाउनका लागि एक दिन जुबैदाले महाराजालाई घर बोलाइन् । आमा फयाजीले महाराजको प्रस्ताव ठाडो अस्वीकार गरिन् । उनले भनिन्, ‘हामी मुस्लिम हौँ र छोरीले न धर्म फेर्नेछिन् न अर्की महिलाको सौता बनेर बस्नेछिन् । ’ महाराजाले आफ्नो प्रेम देखावटी नभएको भन्दै जीवन रहुन्जेल उनीसँगको साथ निभाउने बाचा गरे । आमाको मन पक्कै फेरियो तर उनले जुबैदाको अगाडि मुस्किल सर्त राखिन् ।

एक शाही पार्टीमा महाराजा हनवंत सिंहसँग जुबैदा
महाराजाका लागि छोराबाट टाढै रहनुपर्यो
जुबैदाले महाराजासँग विवाह गर्न चाहे आफ्नो दुई वर्षका छोरा खालिदलाई छोडेर जानुपर्ने सर्त आमाले अघि सारिन् । जुबैदा जस्तो सुकै हालतमा छोरालाई आफूबाट टाढा नराख्ने सोचमा थिइन् तर विवाह गरेर हिन्दु बनेपछि जुबैदाको आफ्नो कुनै सन्तान नहुने र खालिदको लालन पालन आमा आफैँले गर्ने बताइन् ।
अन्ततः जुबैदाले आमाको सर्त मान्नुपर्यो । यद्यपि, बुवालाई यो कुनै पनि कुरा थाहा थिएन । एक दिन मौका पाउने बित्तिकै महाराजा हनवंत सिंहले जुबैदालाई आफूसँगै जोधपुर लिएर गए ।
२३ वर्षकी जुबैदाले १७ सेप्टेम्बर १९५० मा ब्यावरको आर्य समाजको रीति–रिवाजमा महाराजा हनवंत सिंहसँग विवाह गरिन् र हिन्दु धर्म अपनाइन् । धर्म फेरेपछि जुबैदाको नाम विद्या रानी राखियो । धर्म परिवर्तनका लागि मन्दिरमा हवन पनि गराइएको थियो, यसको प्रमाण आज पनि ब्यावरको मन्दिरमा दर्ता छ ।

महाराजा हनवंत सिंहकी जेठी श्रीमती कृष्णा कुमारी
शाही जीवन, मृत्यु र राजदरबारको डर
जुबैदाका लागि महाराजाले छोडे शाही उम्मेद भवन महल
महाराजा जुबैदालाई दिएर जोधपुरको महल उम्मेद भवन जाँदा शाही घरानाले एक मुस्लिम नायिकालाई बुहारीको रूपमा अपनाउन अस्वीकार गरे । यस्तोमा महाराजाले उनलाई मेहरानगढको किल्लामा राखे ।
विवाहपछि महाराजाले जुबैदालाई कान्छी रानीको हैसियत दिए तर शाही परिवार र राजपूत समाजले उनलाई कहिल्यै स्विकारेनन् । जुबैदालाई उम्मेद दरबारको भवनमा भएको कुनै पनि छलफलमा भाग लिन दिइएन । उनी शाही सल्लाहकारमा कहिल्यै समावेश भइनन् । महाराजाकी जेठी श्रीमती कृष्ण कुमारीलाई पछि राजमाताको उपाधि दिइयो र सबै शाही निर्णयहरू उनीसँग परामर्श गरेर मात्र लिइन्थ्यो । यो कुराले जुबेदालाई पनि सताउन थाल्यो, यद्यपि उनी र जेठी रानी कृष्णकुमारी राम्रो साथी भइसकेका थिए ।
समय बित्दै गयो र जुबैदाले नचाहँदा नचाहँदै शाही रीतिरिवाज अपनाउन थालिन् । विवाहको एक वर्षपछि २ अगस्ट १९५१ मा जुबैदाले महाराजा हनवंत सिंहका छोरा राव राजा हुकुम सिंहाई जन्म दिइन् । राजा हुकुम सिंहलाई टुटु बन्ना भनिन्थ्यो ।
महाराजाले जुबैदालाई समय–समयमा उनको परिवारलाई भेट्न बम्बे लग्थे । यद्यपि, उनले केही मिनेटका लागि मात्रै छोरा खालिद मोहम्मदलाई भेट्न पाउँथिन् ।

मेहरानगढ किल्ला, जहाँ जुबैदा बस्ने गर्थिन् ।
के महलमा नजरबन्द थिइन् जुबैदा बेगम ?
इतिहासकार डा. मोहनलाल गुप्ताका अनुसार जुबैदा र हनवन्त सिंहले कहिल्यै विवाह गरेनन् । केही महिनाअघि आर्य समाजसँग आबद्ध ओम मुनिले एक भारतीय सञ्चारलाई मन्दिरमा विवाहको नभई धर्म परिवर्तनको प्रमाण मात्रै रहेको बताएका थिए । आर्य समाजको नियमअनुसार श्रीमती हुँदा अर्को विवाह गर्न नसकिने भएकाले पनि विवाहको प्रश्न उठेको थियो । एक अन्तर्वार्तामा जोधपुर घरानाका पूर्व प्रमुख गज सिंहले जुबेदा आफ्नी रानी नभई ‘परयादत’ मात्र भएको बताएका थिए । परयादत भन्नाले राजा र सम्राट्हरूले आफ्नो लागि घरमा नजरबन्दमा राखेका महिलाहरू हुन् ।
एक चुनावले ल्याइदियो जुबैदा र महाराजाबीच दरार
भारत स्वतन्त्र भएपछि राजतन्त्रको अन्त्य गरी सरकार गठन हुँदै थियो । सन् १९४९ मा राजस्थान राज्य बन्यो र कांग्रेसका जैननारायण व्यास मुख्यमन्त्री चुनिए । जोधपुरमा आफ्नो पकड कायम राख्न महाराजा हनवन्त सिंहले १९५२ मा अखिल भारतीय रामराज्य परिषद् पार्टी गठन गरे र आफै चुनाव लडे । उनले लोकसभा र विधानसभा चुनावमा मारवाडका सबै ठाउँबाट उम्मेदवार खडा गरे र काँग्रेसको विरुद्धमा लगभग सबै सीटहरू जितेका थिए । हनवंत सिंह आफैँले तत्कालीन मुख्यमन्त्री जयनारायणको विरुद्ध सरदारपुराको विधानसभा सिटबाट उम्मेदवारी दिएर जितेका थिए ।
चुनाव जित्नका लागि महाराजा हनवंत सिंहले आफ्नो अधिकांश समय आफ्नी जेठी पत्नी महारानी कृष्ण कुमारीसँग प्रचारप्रसारमा बिताएका थिए । यस्तो अवस्थामा जुबैदा र उनीबीचको दूरी बढ्न थाल्यो । जुबैदालाई चुनावी मामिलामा टाढै राखिएको थियो, किनभने मुस्लिम जुबैदाका कारण उनको राजपुताना मतदाता घट्न सक्थ्यो । यी सबै कुराले जुबेदालाई एक्लो बनायो ।

चुनावी यात्राको क्रममा सन् १९५२ मा खिचिएको बोनान्जा बीचक्राफ्टसँग महाराजा हनवंत सिंहको तस्बिर
विमान दुर्घटनामा रहस्यमयी मृत्यु, रहस्य अझै खुल्न सकेको छैन
२६ जनवरी १९५२ थियो, चुनावी नतिजा आउन केही दिन मात्र बाँकी थियो । महाराजा हनवंत सिंह जेठी रानी कृष्णासँग हतारमा एक सहर जान लागेका थिए । त्यतिबेला जुबेदाले सँगै जाने जिद्दी गरिन् । महाराजा हनवंत सिंहले सँगै जान नहुने बताए । तर जुबैदा मानिन् र विमानको सिटमा गएर बसिन् । त्यो विमानमा दुई वटा मात्रै सिट थियो त्यसैले कृष्णा कुमारी जोधपुरमा नै बस्नुपर्यो । उडान भरेको केही बेरपछि नै सुमेरपुर नजिकै विमान दुर्घटना भयो जसमा २६ वर्षकी जुबैदा र २८ वर्षका महाराजा हनवंत सिंहको मृत्यु भयो ।
कतिले महाराजाको मृत्युका लागि जुबैदाको जिद्दीलाई जिम्मेवार बताए । यस्तै केहीले महाराजा चार घण्टा मात्रै सुतेर विमान उडाइरहेका कारण दुर्घटना भएको बताए । यस्तै कतिले महाराजाले चुनाव जित्न लागेको देखेर विपक्षीले उनको हत्याको षड्यन्त्र रचेको पनि भने ।

जुबैदाको २००१ मा बनेको फिल्म जुबैदाका अनुसार, जुबैदा महाराजा आफूबाट टाढा नहुन् भन्ने चाहेकोले उनले महाराजसँगै आत्महत्या गरे । उक्त फिल्मको पटकथा जुबेदाको पहिलो विवाहका छोरा खालिद मोहम्मदले लेखेका थिए । खालिदलाई उनका हजुरबुवा, हजुरआमाले हुर्काएका थिए ।
जुबैदाको मृत्यु हुँदा उनका छोरा टुटु बन्ना ४ महिनाका मात्र थिए, उनलाई राजमाता कृष्णा कुमारीले हुर्काएकी थिइन् । टुटु बन्नाको विवाह अलवरका राव राजा दलजीत सिंहकी छोरी राव रानी राजेश्वरी कुमारी राठोडसँग भएको थियो । उनीहरूका एक छोरा परीक्षित र एक छोरी जयनन्दिनी थिए ।
१७ अप्रिल १९८१ मा जोधपुरको सडकमा टुटू बन्नाको टाउको नभएको शव भेटिएको थियो । उनको आफ्नै तरवारले हत्या भएको थियो र उनको शरीरमा २० वटा गहिरो घाउहरू थिए । उनको हत्याको कारण आजसम्म पनि सुल्झिएको छैन ।

जुबैदा बेगम र महाराजा हनवंत सिंहका छोरा टुटु बन्ना
आज पनि जुबैदाको आत्मा किल्लामा घुमिरहन्छ
आज पनि, जोधपुरका स्थानीय मानिस जुबैदाको आत्माले उम्मेद भवन दरबार र शाही परिवारको विद्यालयलाई सताइरहेको विश्वास गर्छन् । विद्यालयका धेरै कोठामा ठुला–ठुला ताल्चा र तन्त्र–मन्त्रले बन्द गरिएको छ । उनको आत्मालाई कैद गर्न यस्तो गरिएको स्थानीयले बताएका छन् ।
–दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण