सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्जिनियरमाथि किन हुन्छ दुर्व्यवहार ?

बिहीबार, ११ साउन २०८०, १५ : ५२
बिहीबार, ११ साउन २०८०

साउन ३ गते नेपाल इन्जिनियरिङ एसोसिएसन केन्द्रीय समिति र मातहतका सातै प्रादेशिक समितिले नेपाल इन्जिनियरिङ एसोसिएसनको ६१औँ इन्जिनियरिङ दिवस मनायो । दिवसमा ब्याडमिन्टन, फुट्सल, रक्तदान जस्ता कार्यक्रम भएका थिए । एकआर्काप्रति शुभकामना दिने काम पनि भए । तर मधेस प्रदेशमा भने इन्जिनियरहरूले पेसागत सुरक्षा माग राख्दै विरोध र नाराबाजीमा गरिरहेका थिए । जनकपुरका इन्जिनियरमाथि कार्यकक्षमै दुर्व्यवहार भएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका थिए । 

नेपालमा कति इन्जिनियर कार्यरत छन् भन्ने तथ्याङ्क कुनै निकायसँग छैन । खासगरी पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएका सिभिल इन्जिनियर यस्ता दुर्व्यवहारबाट धेरै प्रभावित छन् । वर्षभरि अलिअलि र आर्थिक वर्षको अन्तिम असार मसान्तका बेलामा यस्ता दुर्व्यवहार हुने गर्छन् । 

गत जेठ २२ गते सियारी गाउँपालिका रूपन्देहीमा एक श्रमिकले इन्जिनियरमाथि आक्रमण गरे । त्यसैगरी असार २४ गते बढैयाताल गाउँपालिका, बर्दियामा कार्यरत इन्जिनियरलाई निर्णय उल्ट्याएर भुक्तानी दिन दबाब दिइयो । त्यसको केही दिनपछि असार २६ गते कञ्चन गाउँपालिका रुपन्देहीमा कर्मचारीमाथि दुर्व्यवहार भयो । यस्ता घटनाबारे  विभिन्न समयमा प्रकाशित समाचारले पनि पुष्टि गर्छन् । यस्ता प्रकारका कतिपय घटना कार्यालयभित्रै गुपचुप मिलाइन्छन् । ती कहिल्यै बाहिर आउँदैनन् ।

ऊर्जाशील जनशक्ति दिनहुँ बिदेसिँदै छन् । भर्खरै अध्ययन सकेका इन्जिनियरहरू देशबाहिर नै आफ्नो भविष्य देख्न थालेका छन् । यस्तो अवस्थामा देशमा रहेबसेका इन्जिनियर पूर्वाधारको निर्माण कार्य गर्ने गराउने जिम्मा लिएर बसेका हुन्छन् । ती प्राविधिकलाई उत्साही बनाई राख्नुपर्नेमा कार्यकक्षमै गएर दुर्व्यवहार हुने घटनाले समग्र इन्जिनियर निरुत्साहित बनेका छन् । 

योजना सञ्चालन गर्ने सार्वजनिक कार्यालय र तिनका प्रमुख, निर्माणको जिम्मा पाएका फर्म वा कम्पनी (ठेकदार वा ठेकदार प्रतिनिधि), परामर्शदाता, उपभोक्ता समितिका अध्यक्ष र तिनका पदाधिकारी, स्थानीय लाभग्राही, निर्माण स्थलमा काम गर्ने पेटी ठेकदार र श्रमिकहरू सबै साना ठुला योजना सञ्चालन गर्दाका हिस्सेदारहरू हुन् । इन्जिनियरहरूलाई दुर्व्यवहार भय यिनै हिस्सेदारबाटै हुन्छ । पछिल्लो समयका स्थानीय जनप्रतिनिधि र स्थानीय नेताबाट पनि इन्जिनियरलाई अनावश्यक दबाब दिइएको पाइएको छ ।

दुर्व्यवहार हुने कारणहरू 

स्वीकृत डिजाइन र इस्टिमेटसँगको मापदण्ड अनुसार कार्यको आदेश दिँदादिँदै पनि निर्माणमा संलग्नहरूले आदेशको पालना गर्दैनन् । निर्माणका कतिपय काम गुणस्तरहीन हुन्छन्, निर्माणकर्ताहरू त्यसको सही मूल्याङ्कन स्वीकार गर्न मान्दैनन् । कतिपय काम नियमभन्दा बाहिर गएर इन्जिनियरलाई निर्णय गर्न लगाउँछन् । यस्ता गलत काम लगाउने निर्माण कार्यका हिस्सेदार नै इन्जिनियरहरूप्रति नकारात्मक हुन्छन् । तर यस्ता कार्य व्यावसायिक इन्जिनियरले स्वीकार नगरी नियम र मापदण्डअनुसार काम गराउँदा  इन्जिनियरहरू दुर्व्यवहारको सिकार बन्छन् । 

अहिले समाजमा अराजकता बढ्दो छ । हरेक व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा छ । गुणस्तरीयभन्दा बढी उत्पादनमा मात्र ध्यान दिइन्छ । ऐन नियमको जानकारी सबैले राख्नुपर्ने हो तर ख्याल नै गर्दैनन् । हरेक व्यक्तिले कर्तव्यनिष्ठ नागरिकको भूमिका निर्वाह नगर्दा कार्यान्वयनमा बसेका प्राविधिकमाथि कुनै न कुनै प्रकारले हतोत्साहित गर्ने कार्य हुँदै आएको छ । 

योजना सञ्चालन गर्दा निश्चित नियम र विधिको पालना गर्नुपर्छ । ठेक्का लगाउनुअघि प्रिबिड मिटिङ यथार्थमा नराख्नु, योजनाको जानकारी सर्वसाधारणसम्म नपुग्नु, हिस्सेदारसँग रायसल्लाह नलिनु जिम्मेवारीभन्दा बाहिर जानु हो । योजना कार्यान्वनको सुरुवाती चरणमा प्रारम्भिक मिटिङ नहुनु, विवादहरू बढ्नु र तत्काल हल नगर्नु वा सामान्य व्यवस्थापनका शैलीहरू लागु नर्गनु तथा योजना र परियोजनामा समस्या आईपर्दा राजनीतीकरणले गर्दा इन्जिनियरसँग योजनाका अन्य हिस्सेदारहरूसँग दुरी बढाउँछ । आपसी तीक्तताले आएका यस्ता समस्या समाधान गर्न निकै गाह्रो हुन्छ ।

नेपाल इन्जिनियरिङ एसोसिएसन केन्द्रीय समिति र हरेक प्रादेशिक समितिहरूले इन्जिनियरमाथि हुने यस्ता दुर्व्यवहारको विरोध गर्दै आएको छ । तर पीडकसँग नेतागण नै सम्पर्कमा रहेको पाइएको छ । समानानतर इन्जिनियरिङ समुदायहरू सिडेन, पिन, सिवन र निवनले पनि समय समयमा विरोधका कार्यक्रम पनि चलाएका छन् । यस्ता पर्याप्त संस्था हुँदाहुँदै पनि इन्जिनियर पीडामा छन् । यी संस्थाहरूले इन्जिनियरमाथि हुने दुव्यवहारप्रति आवाज उठाए सुरक्षाका विकल्पहरू पक्कै निस्कन सक्छन् । कानुनी राज्यमा नियमको उल्लङ्घन अपराध हो । काम गर्ने कर्मचारीमाथि दुर्व्यवहार गरेको प्रमाणित भए कसुर गर्ने व्यक्ति २४ दिन जेल बस्नु पर्ने रहेछ । त्यसको पछिल्लो उदाहारण हो रुपन्देहीका इन्जिनियरमाथि भएको दुर्व्यवहारको घटनाको कारवाही ।

समाधानका उपाय

योजना व्यवस्थापनको जिम्मा इन्जिनियरकै हो । इन्जिनियर सामूहिक कार्यमा सहभागी हुनु पर्छ । उसले कार्यालय, कार्यक्षेत्रका शङ्का, अविश्वास निवारण गर्नु पर्छ । कुशल तवरले ठेक्का लगाउने, रायसल्लाह दिने, आय टिपोट गर्ने वा संशोधन गर्नुपर्ने भए ठेक्का संशोधन गर्नुपर्छ । योजनाबारे आयोजना प्रमुखसँग पनि छलफल, परामर्श गर्नुपर्छ । त्यस्तै ऐन नियमको पालना गर्ने गराउने, उपभोक्ता समितिलाई कार्यको प्राविधिक कुरा र कानुनी आवश्यक कागजातबारे जानकारी गराउने काम उसले गर्नुपर्छ । त्यस्तै आफू मातहतका कर्मचारीलाई आवश्यक निर्देशन दिने र प्रतिक्रिया लिइराख्ने, विवादहरू मिलेर समाधान गराउन अग्रसर हुनुपर्छ । निर्माण व्यवसायी प्रतिनिधिलाई बिड डकुमेन्ट पढ्न लगाउने महत्त्वपूर्ण आधारबारे जानकारी दिने गर्नुपर्छ । अग्रज इन्जिनियरसँग अनुभव साटिराख्ने, योजनाका हिस्सेदारहरू र प्रतिनिधिसँग सम्पर्कमा रही फोनको रेस्पोन्स गर्नुपर्छ ।  समय समयमा साइट अनुगमन, पेटी ठेकदार वा श्रमिकसँग भलाकुसारी गर्ने, त्रुटिपूर्ण कार्यलाई निरुत्साहित गर्ने, राम्रो कार्यको प्रशंसा गर्न नहिचकिचाउने हुनुपर्छ । उसले पेसागत बुद्धि विकासमा ध्यान दिने, सम्मान् दिने लिने र आफ्नो भूमिकाप्रति सधैँ खुसी रही देश निर्माणमा सरिक हुनुपर्छ । 

अतः सबै क्षेत्रमा पुँजगत खर्च कम भइराखेको अवस्थामा सरकारी र निजी क्षेत्रका इन्जिनियरहरू, कन्सल्टेन्ट वा निर्माण कम्पनी इन्जिनियरको मनोबल उच्च राख्नु अति आवश्यक छ । इन्जिनियरको पेसालाई सम्मान गर्न गराउन यस्ता सामान्य कुरामा ध्यान दिने हो भने यस्ता घटनाहरू पक्कै कम भएर जान्छन् ।

तिवारी नेपाल इन्जिनियरिङ एसोसिएसन, लुम्बिनी प्रदेशका परामर्शदाता सदस्य हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दर्शन तिवारी
दर्शन तिवारी
लेखकबाट थप