मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

डेंगीको दुई दशक : सरकारले पाठ नसिक्दा संक्रमण दर उच्च

एक्सनमा जान ढिला भैसक्यो : डा. शेरबहादुर पुन
शुक्रबार, १२ साउन २०८०, १९ : २३
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । गएको पुस पहिलो साता यता ४ हजार ६१९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । डेंगीको जोखिम अझै कार्तिकसम्मै रहनेछ । जनस्वास्थ्य विज्ञहरूका अनुसार ७० जिल्लामा डेंगु केस पुष्टि भइसकेकाले गत वर्षजस्तै यस वर्ष पनि संक्रमित र मृत्यु दर बढ्ने सम्भावना प्रबल छ ।

सबैभन्दा बढी कोशी प्रदेशमा २ हजार ९७१ जनामा डेंगी पुष्टि भएको छ । त्यसमा पनि कोशीको सुनसरीमा मात्रै २ हजार ७३७ जनामा केस पुष्टि भएको ईपीडीमीयोलो तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए ।

सन् २०२२ मा ५४ हजार ७८४ जनामा डेंगीको केस पुगेको थियो भने ८० भन्दा धेरैको मृत्यु भएको थियो । यस वर्ष पनि बर्खा लागेसँगै डेंगीको केस बढ्ने प्रमुख डा.दाहाल बताउँछन् ।   

नेपालमा पहिलो पटक २०६१ सालदेखि डेंगु रोग देखिन सुरु भएको हो । त्यसपछि प्रत्येक वर्ष डेंगु रोग कहिले महामारीको रूपमा त कहिले छिटफुट रूपमा देखा पर्ने गरेको छ । 

१९ वर्षअघि देखि डेंगी फैलिए पनि विगतबाट पाठ सिक्न नसकेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । किन नेपालमा बेला बेलामा डेंगीले प्रकोपको रुप लिन्छ ? के यस वर्ष पनि डेंगीले भयावह रुप लिन्छ ? डेंगी नियन्त्रण गर्न सरकार कहाँ चुक्यो ? अहिलेको यक्ष प्रश्न हो यो ।

एक्सनमा जान ढिला भैसक्योः डा. पुन 

डेंगी फैलाउने लामखुट्टेको चार स्टेज अण्डा, प्युपा, लार्भापछि वयस्क भई डेंगी सार्ने अवस्थाको हुन्छ ।  हाल डेंगी सार्ने लामखुट्टे एडल्ट अर्थात् वयस्क भई सार्ने अवस्थामा पुगेकाले अव संक्रमण दर बढ्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । 

लामखुट्टेको पहिलो चरण थाहा नभएपनि प्युपा र लार्भा अवस्था थाहा पाउन सकिन्छ । तर, त्यस समयमा खोज र नष्ट गर अभियानले तीव्रता नपाएकाले फैलिने अवसर पाएको डा. पुन सुनाउँछन् । आँखाले देख्न सकिने लार्भा समयमै नष्ट नगरिएकाले वयस्क भई हजारौ लामखुट्टे बाहिर निस्कएर नियन्त्रण गर्न सम्भव नहुने उनको जिकिर छ । 

दिउँसो एकदमै सक्रिय हुने एडिस जातको लामखुट्टेले घरको एक सदस्यलाई टोक्यो भने एक जनामात्रै प्रभावित नभएर पुरै परिवार नै प्रभावित हुन सक्ने उनले बताए । 

‘जबसम्म सम्बन्धित निकाय एक्सनमा जाँदैन, तबसम्म वयस्क लामखुट्टे एकोहोरो रुपमा फैलिन्छ । फैलावटको गति हेर्दा एक्सनमा जान धेरै ढिला भैसक्यो ।’ डा पुन भन्छन्, ‘तीन तहका सरकारले डेंगी सार्ने लामखुट्टे फैलन नदिन खोज र नष्ट अभियानलाई तीव्रता दिनुपर्छ ।’  

डेंगी संक्रमण गर्ने लामखुट्टे मार्ने एक्सन लिदा चिकनगुनिया जस्ता नदेखिएका जिका भाइरसलगायत अन्य थाहा नपाएका भाइरस मर्ने हुँदा यसबाट तेहोरो फाइदा हुने उनको भनाइ छ । 

एक पटक डेंगी संक्रमण भएको लामखुट्टेले पार्ने अण्डामा भाइरस कायम रहने भएकाले भावी दिनका लागि अझै चुनौती थपिने उनको जिकिर छ ।

आफ्नो एक जीवनकालमा ४ पटकसम्म डेंगीले दुःख दिन सक्ने सम्भावना रहन्छ ।  चार वटा सेरोटाइप जस्तै डेंगी १, २, ३, ४ हुन्छ । जस्तै विगतमा मानौँ कुनै एक ठाउँमा डेंगी १ फेलिएका थियो, त्यहाँ डेंगी १ लाई छाडेर डेंगी २, ३, ४ व्यक्तिमा फैलिएमा पहिलाको भन्दा जटिल हुने उनको भनाइ छ । यदि त्यहाँ पहिलेकै डेंगी १ फैलिएमा भने समस्या हुँदैन । 

झन् जटिलता आउन सक्छ  

डेंगीले आफ्नो स्वरुप जटिलतामा परिर्वतन गर्दै गएकाले प्रत्येक वर्ष झन् झन् जटिलता थपिँदै गएको उनको बुझाइ छ  । भविष्यमा डेंगी विरुद्धको खोप नआए यसबाट प्रभावित हुने अवस्था अझ भयावह हुनेछ । 

उनी भन्छन्, ‘अघिल्ला वर्ष संक्रमितमा ज्वरो आउने, शरीर दुख्ने, आँखा हल्का रातो हुने लगायतका समस्या लिएर टेकुमा आएका मध्ये करिब ९० प्रतिशतले बताउँथे । सन् २०२२ मा आएर संक्रमण हुँदा धेरै जना छोटो समयका लागि बेहोस समेत भए । यसरी अन्य समस्या पनि तपिँदै गएका छन् ।’

उनका अनुसार संक्रमण हुँदा ध्यान नदिएमा रक्तश्राव भएर स्नायूसम्बन्धी समस्या देखिएर झन् खतरा हुने सम्भावना रहेको विभिन्न अध्ययनहरूले देखाएको छ ।   

नेतृत्व तहमा गलत सोचका कारण डेंगी बढ्यो

ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बावुराम मरासिनीका अनुसार डेंगी सार्ने लामखुट्टे कम गर्न सरकारले गएको चैत, वैशाखबाटै  खोज र नष्ट गर्ने अभियान सुरु गर्नु पथ्र्याे । 

उनी भन्छन्, ‘ढिला भए पनि एक्सनमा जानुपर्छ । विगत वर्षमा मलेरिया फैलिन नदिन वैशाख १० देखि १५ गतेसम्म घर घरमा औषधि छर्ने काम हुन्थ्यो । त्यसपछि प्रि मनसुनमा लामखुट्टे बढ्न सक्ने भएकाले भदौमा अन्तिम हप्ता औषधि छर्किने गरिन्थ्यो । त्यसरी मलेरिया नियन्त्रण भएको हो ।’ तर डेंगी नियन्त्रणको सवालमा यो अभियानै भएन ।

कसरी डेगी सार्ने लामखुट्टेले फुल पारेको छ भन्ने कुराको अनुसन्धान नभएसम्म नियन्त्रण गर्न कठिन हुने उनले बताए । ठाउँअनुसार फरक फरक ठाउँमा लामखुट्टेले फुल पारेको हुन्छ, त्यसले कसरी संक्रमण फैलायो  भन्ने एकिन गर्न सरकारले नसकेकाले हाल लामखुट्टेले फैलिएको उनको भनाइ छ ।

सरकारले डेंगी संक्रमणलाई सहज रुपमा लिएकाले केही दिनमै देशका विभिन्न भागमा व्यापक रुपमा फैलिने सम्भावना उच्च रहेको डा. मरासिनीले बताए । लामखुट्टे नियन्त्रण नहुँदासम्म रोगी नघट्ने उनको जिकिर छ ।

डेंगीले ज्वरो आउँछ, अलि दिनमा निको हुन्छ भन्ने गलत सोचाइका कारण नियन्त्रणमा प्राथमिकता नभएको उनले बताए । काठमाडौँ र सुनसरीमा जस्तै अन्य विकट जिल्लामा पनि ब्रेकआउट भएमा धेरै मानिसको ज्यान जाने उनी जिकिर गर्छन् । 

उनी भन्छन्, ‘धरान र काठमाडौंमा सुविधासम्पन्न स्वास्थ्य संस्थाहरू थिए, त्यही डेंगीको व्रेकआउट भयो, कालिकोटमा भए त्यहाँको अवस्था भयावह हुन्छ ।’

डा मरासिनी अगाडि भन्छन्, ‘तत्कालको समस्या एकातिर छ । प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिवहरू अर्कोतिर अनेक गफ लगाएर हिँडेर हुँदैन । नीतिगत निर्णय गरेर प्रधानमन्त्रीले सम्बन्धित निकायलाई एक्सनमा जान निर्देशन दिएमा  डेंगी सार्न लामखुट्टे कम हुनेछ ।’ 

समन्वय हुन सके नियन्त्रणमा आउने

ईडीसीडीका शाखा प्रमुख डा गोकर्ण दाहालले डेंगी रोकथाम र नियन्त्रणका लागि पुस महिनादेखि एक वर्षसम्मका लागि कार्य योजना बनाएर काम गरिरहेको सुनाए । यसका लागि कार्ययोजना बनाएर ७५३ वटै पालिकामा पत्राचार गरिएको उनले बताए ।

‘डेंगी नियन्त्रणमा स्वास्थ्य मन्त्रालय मात्रै नभएर नागरिक पनि जिम्मेवार हुनुपर्छ ।’ उनले भने ।

डेंगी सार्ने लामखुट्टेको वासस्थान नष्ट गरी जीवनचक्र पुरा हुन नदिन पानी सञ्चय भएको ठाउँमा कम्तीमा हप्ताको दुई पटकमा पानी फेर्ने काम गर्न उनको आग्रह छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप