शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सार्वजनिक ऋण व्यवस्थापनका कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्दै

मङ्गलबार, १८ वैशाख २०८१, १२ : ५५
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्दै छ । कार्यालयले वैशाख २० गते अर्थात् बिहीबार निष्कासन गर्नेगरी ८ वर्षे अवधिको विकास ऋणपत्र २०८९ ‘ग’ बोलकबोल गर्न लागेको हो । 

इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, सार्वजनिक संस्था तथा नेपाली नागरिकले विकास ऋणपत्रमा लगानी गर्न सक्नेछन् । मंगलबार बिहान १० बजेदेखि ३ बजेसम्म जारी रहने बोलकबोलका लागि तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् । 

इच्छुक लगानीकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी दुबै प्रणालीमा भाग लिन सक्ने सुविधा रहेकोमा प्रतिस्पर्धी कोटाका लागि कूल निष्कासन रकमको ८५ प्रतिशत अर्थात् ४ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ भने अप्रतिस्पर्धी कोटका लागि १५ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ मात्र छुट्याइएको छ । 

अप्रतिस्पर्धीका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदाताहरुलाई नै बिक्री गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । 

यद्यपि, अप्रतिस्पर्धी बोलदाताहरुलाई छ्ट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा भने समानुपातिक रूपमा ऋणपत्रको रकम बाँडफाँड गरिने कार्यालयले जनाएको छ । 

बोलदाताले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठुलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कट अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलदाताहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ । 

इच्छुक लगानीकर्ताहरुले घटीमा ५ लाख र बढीमा कुल निष्कासन रकमको सीमामा नबढाई ५ लाखले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप