मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भ : विश्व स्तनपान सप्ताह

स्तनपान गराउने आमाले यी कुरामा दिनैपर्छ ध्यान

मङ्गलबार, १६ साउन २०८०, १० : ३८
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । साउन १६ गतेबाट विश्व स्तनपान सप्ताह सुरु भएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी स्तनपान सप्ताह मनाइदैँ छ । नेपालमा स्तनपान गराउने दर घट्दो क्रममा छ । बालरोग विशेषज्ञहरूका अनुसार स्तनपानबारे महत्व नबुझ्दा, दूध चुसाउने आसन नजान्दा स्तपान गराउने दर  घटिरहेको छ । 

बच्चाका लागि आमाको दूध अमृत समान हो । तर, स्तनपान गराउने दर घट्दो क्रममा छ । स्तनपान गराउने दर कम हुनुमा बच्चालाई दूध ख्वाउन नजान्नु पनि एक भएको बताउँछन् बालरोग विशेषज्ञहरू ।

आमाको दूधले बच्चाको शारीरिक, मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका प्रमुख बालरोग विशेषज्ञ, नवजात शिशु विभागका प्रमुख डा. कल्पना उपाध्याय सुवेदी बताउँछिन् ।   

डा. सुवेदीका अनुसार घरमा खास गरी पहिलो बच्चा जन्मिदा बच्चालाई स्तनपान गराउनेबारे केही जानकारी राख्नै पर्ने हुन्छ । केही आमाहरूले दूध राम्रोसँग आएन पनि भन्छन् । दूध नआउने कारणमध्ये कहिलेकाही आमाले दूध ख्वाउन नजान्दा पनि आएको हुँदैन ।

पहिलो पटक बच्चा जन्माउने आमालाई लाग्न सक्छ, स्तनको मुन्टोमा बच्चाको मुखमा भएमा राम्रोसँग दूध आउँछ । तर, दूध भने स्तनको कालो भागमा हुन्छ । जब बच्चाले स्तनको मुन्टो मात्रै चुस्दा दूध नआई झिजिएर रुनुका साथै उता धेरै तान्दा आमालाई पनि दुख्छ । यसले गर्दा दूध आउँदैन  ।

मानसिक असर  

दूध आउने नआउने कुरामा आमाको सोचमा पनि भर पर्छ । स्तनपान गराउने आमाको सकरात्मक सोचको प्रभाव बच्चामा समेत पर्ने डा. सुवेदीले बताइन् । 

उनले भनिन्, ‘बच्चाले कुनै कारण आमाको दूध राम्रोसँग तान्न सकेन, त्यसपछि आमाले आफ्नो दूध निचोर्ने क्रममा बच्चालाई अगाडि राखेर बच्चाले दूध चुसिरहेको छ भन्ने सोचेर निचोडेमा दूध आउँछ । कुनै आमाले पूर्ण स्तनपान गराउँछु भनेर सोच्नु भयो भने दूध आउँछ ।’ तर दूध आउँदैन कि भनेर सोच्यो भने नआउन सक्छ । त्यसैले, नकरात्मक सोच्न नहुने उनको भनाई छ । 

खानपानमा विशेष ख्याल

अन्य समयमा भन्दा स्तनपान गराउने आमाले खानपानमा विशेष ध्यान दिनुपर्छ । किनभने आमाले खाएको खानेकुराहरूबाटै दूध बनेर बच्चाले खाने हो । 

बच्चा जन्मिएदेखि ६ महिनासम्म सम्पूर्ण आहार आमाको दूध नै हो । त्यसैले, आमाले पनि सन्तुलित र पोषिलो खानेकुरा खानुपर्छ । यसबेला फलफूल, झोल पदार्थ, ताजा खानेकुरा, हरियो सागपात, अण्डा, दूध, माछा, मासु प्रशस्त मात्रा खानुपर्छ । 

कस्तो कुरामा ध्यान दिने ?

स्तनपान गराउने आमाले सामान्य कुरामा पनि ध्यान नदिएको खण्डमा स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्छ ।सही तरिकाले स्तनपान नगराउँदा इन्फेक्सन समेत हुन सक्छ । जस्तै बच्चालाई जहाँ पायो, त्यही दूध ख्वाउनु हुँदैन । सफा स्थानमा अनि दूध ख्वाउने क्रममा दूधको निप्पललाई राम्रोसँग सफा गरेर ख्वाउनुपर्छ । 

बच्चालाई दूध ख्वाउनु भन्दा अघि सफा मनतातो पानी, टिस्यू अथवा मलमलको कपडाले दूधको मुन्टा सफा गरेर मात्रै ख्वाउनुपर्छ । 

स्तनपान गराउँदा स्तनमा गाँठागुठी आउन सक्छ । त्यसैले, दैनिक स्तनको मसाज गर्नुपर्छ, जसले रक्तसञ्चार हुन्छ अनि गाँठागुठी आउनबाट जोगाउँछ । स्तनपान गराउने आमाले कसिलो ब्रा नलगाएको राम्रो हुन्छ ।

बच्चालाई दूध ख्वाउने बेला आमाले निम्न कुरामा जानकारी राख्नुपर्छः

– बच्चाको पुरै शरीरलाई आमाको हातले सपोर्ट गर्नुपर्छ । 

–मुख र पेट आमातिर फर्केको हुनुपर्छ । 

–बच्चाको पेट आमासँग टाँसिएर दूध खुवाउनुपर्छ ।

– बच्चाको मुख आमाको स्तनसँग जोडिएको हुनुपर्छ । 

–दूध ख्वाउने क्रममा बच्चाले पुरै मुख खोलेको हुनुपर्छ । 

–दूध ख्वाउँदा बच्चाको नाकले आमाको स्तन छोएको हुनुपर्छ । 

–आमाको निप्पलको वरिपरिको कालो तलको भाग बच्चाको मुखभित्र हुनुपर्छ । 

–बच्चाको तल्लो ओठ बाहिर फर्किएको छ भने बच्चाको मुखभित्र आमाको दूध जान्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप