शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

जनार्दन शर्माको प्रचण्डलाई प्रश्न, ‘हामी तपाईंकै हौँ, मैले कहाँ सहयोग गरिनँ ?’

‘जसलाई महासचिव बनाए पनि मान्य हुन्छ भन्दा किन नयाँ प्रस्ताव ल्याइयो ?’
शनिबार, २० साउन २०८०, १६ : २३
शनिबार, २० साउन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आफूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई असहयोग नगरेको प्रस्टीकरण दिएका छन् ।

काठमाडौँ जारी केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डलाई आफूले सहयोग गरेको तर गलत प्रचार गरेको उनको गुनासो थियो । 

‘अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउँदा, जतिखेर पनि खटनपटनमा लागेकै छु । स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर तैँले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाँती राखेर भए पनि त्यसको पालना गरेकै छु,’ शर्माले केन्द्रीय समिति बैठकमा भने, ‘परिस्थिति अदल बदल गर्नुपर्दा वा अन्य कुनै सङ्कट आइपर्दा सधैँ अध्यक्षको पक्षमा खडा भएकै छु । होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्‍यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ ।’ 

उनको थप गुनासो थियो, ‘अध्यक्ष कमरेडले भन्नुपर्‍यो– कुन चाहिँ अप्ठेरो मोडमा तपाइले मेरो साथ र समर्थन पाउनु भएन ? तल तल कुन चाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ? विधि, विधान, पद्धति, प्रणाली मिचिएको कुरा उठाउनै पर्ने भएर उठाइयो होला । समस्या जे हो त्यो चाहिँ भन्नैपर्छ । चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्‍यो होला।’ 

आफू सधैँ अध्यक्षकै रहेको तर २ जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारेकोमा शर्माले असन्तुष्टि व्यक्त गरे । ’सोही प्रस्तावलाई सहज रूपमा स्वीकार गर्दा पनि अनेकन् प्रचारबाजी गरिन्छ । अनि गरौँ के ?,’ शर्माले प्रश्न गरे ।

शर्माको मन्तव्यको सार संक्षेप

श्रद्धेय अध्यक्ष कमरेड र केन्द्रीय समितिको बैठकमा उपस्थित सम्पूर्ण कमरेडहरू लाल सलाम !

१. समाजवादी हुनुभन्दा पहिले हामी लोकतान्त्रिक संस्कारलाई स्वीकार गरौँ । मान्छे हुनुको नाताले सबैको आ–आफ्नै स्वत्व हुनु स्वाभाविकै छ । अध्यक्ष कमरेडले बेला बेला त्यसमै धार लाइदिनुहुन्छ । तलबाट पनि म फलानाको हुँ र होइन भन्ने चलन छ । अनि त्यसैलाई गुट भनेर ठुलो प्रचार गरिन्छ । हामी तपाइकै हौँ, २ जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ । सोही प्रस्तावलाई सहज रूपमा स्वीकार गर्दा पनि अनेकन् प्रचारबाजी गरिन्छ । अनि गरौँ के ?

२. अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउँदा, जतिखेर पनि खटनपटनमा लागेकै छु ।स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर तैँले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाँती राखेर भए पनि त्यसको पालना गरेकै छु । परिस्थिति अदल बदल गर्नुपर्दा वा अन्य कुनै सङ्कट आइपर्दा सधैँ अध्यक्षको पक्षमा खडा भएकै छु । होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्‍यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ ।अध्यक्ष कमरेडले भन्नुपर्‍यो– कुन चाहिँ अप्ठेरो मोडमा तपाइले मेरो साथ र समर्थन पाउनु भएन ? तल तल कुन चाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ? विधि, विधान, पद्धति, प्रणाली मिचिएको कुरा उठाउनै पर्ने भएर उठाइयो होला । समस्या जे हो त्यो चाहिँ भन्नैपर्छ । चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्‍यो होला।

३. युवा कमरेडलाई यो पनि कुरा स्पष्ट होस् कि हाम्रो पार्टीमा विज्ञापन खुल्ने तर परीक्षा नहुने, भर्ती हुने तर अवकाश नहुने परिस्थिति विद्यमान छ । यसले युवाहरूलाई नीति निर्माणको तहमा ल्याउन समस्या भएकै त छ । आठौँ महाधिवेशनको समापनपूर्व बसेको स्थायी समिति बैठकमा मैले केन्द्रीय समिति बनाउनु पूर्व अवकाश हुने एजेण्डामा छलफल गर्नुपर्छ भन्ने प्रस्ताव गरेको थिएँ । कमिटीहरू समावेशी बनाउने र नयाँ युवाहरूलाई जिम्मेवारी दिने हो भने एक हामी तिहाइ नेताहरूले बिदा लिएर फरक भूमिकामा क्रियाशील हुनुपर्छ भन्ने प्रस्ताव गरेको थिएँ । अहिले यो कुरा सम्भव छैन कसले छोड्न मान्छ र भन्ने कुरा उठ्यो । यसमा सबभन्दा पहिले म तयार छु भनेर मैले भनेँ । त्यसपछि बलदेव, मात्रिका र गणेश शाह कमरेडले यो प्रस्ताव मान्न आफूहरू तयार रहेको कुरा गर्नुभयो ।केहीले यसमा आफूहरू तयार हुन नसकेको कुरा गर्नुभयो भने केही मौन बस्नुभयो ।त्यसपछि छलफल गरौँला भनेर अध्यक्षले यसलाई टार्नुभयो । तर आजसम्म छलफल भएन । मैले अध्यक्षलाई असहयोग नहोस् भनेर संगठन विभागको जिम्मा लिएर काम गरिरहेको छु । पार्टीका हरेक बैठक भन्दा पहिले विभागको तर्फबाट प्रतिवेदन बुझाउने गरेको कुरा स्पष्ट गर्न चाहन्छु ।

४. यसपटक सरकारले गरेका कामबारे म खुल्ला दिलले प्रशंसा गर्दछु । यत्रो ठुलो आँट र हिम्मत भनेको शुद्धीकरणको महान् थालनी हो । सो कुरा संगठन विभागको प्रतिवेदनमा व्यवस्थित रुपले पनि राखिएको छ । मैले संसद्को रोष्टमबाट २०४७ साल यताका सबै नेताहरूको सम्पत्ति छानबिन गरौँ भनेर प्रस्ताव गरेको हुँ । कतिपय नेताले ३२ सिटे भनेर हामीलाई खिसिट्यूरी गर्दा प्रचण्डको साथ र माओवादीको समर्थन विना बालुवाटार प्रवेश सम्भव नभएको भनेर प्रतिवाद पनि  

गरेकै हुँ । पार्टीभित्र पनि सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने कुरामा मेरो दृढ सहमति छ । तर मन्त्रीको हैसियतले सामान्य तोक लगाएको, त्यो पनि राज्यको निकाय सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरेर सम्पत्ति फुकुवा गरेको पत्र देखाए पछि यसबारे के भएको हो ? सत्य तथ्य बुझ्नू र आवश्यक सहजीकरण गर्नू भनी तोक लगाएको विषयलाई अपराध गरेको भनेर दुष्प्रचार गरिन्छ, चरित्र हत्या गर्न खोजिन्छ । म फेरी पनि भन्छु– छानबिन गरौँ कसको सम्पत्ति कति छ ? कसका घर कति छन् ? कसका के के व्यवसाय छन् ? कसका बैक ब्यालेन्स कति छ ? म तयार छु । कुनै गल्ती नगर्दा नगर्दै पनि प्रश्न उठेपछि छानबिनको लागि मार्ग प्रशस्त गर्ने मै हुँ । म ४ पटक गरेर ३९ महिना मन्त्री हुँदा गरेका काम कारबाहीहरु नीति, योजना र त्यसको परिणाम जनताको बिचमा छन् । के के उपलब्धि भए भन्ने कुरा लिखित रूपमा पनि उपलब्ध गराउनेछु ।

५. जहाँसम्म पार्टीको कुरा छ–१० प्रदेशकै सुझाव र आलोचना लिएर संगठन विभागले आफ्नो प्रतिवेदन पेस गरिसकेको कुरा अध्यक्ष स्वयंले भनिसक्नुभएको छ। अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदनले पार्टीलाई नयाँ दिशा प्रदान गर्नेछ । यसमा थप्नुपर्ने केही कुराहरू म यहाँ राख्न चाहन्छु ।

६. हालसम्म प्राप्त उपलब्धिबारे जनताका बीचमा राम्रोसँग नलिएको मात्र हैन युद्ध, शान्ति, संविधान निर्माण र कार्यान्वयनबारेका ऐतिहासिक उपलब्धिहरूको संश्लेषण नगरेर इतिहासको अवमूल्यन भएको छ । यसलाई सच्याउँदै पुष्पलालदेखि पुष्पकमलसम्मको उपलब्धिको संश्लेषण जरुरी छ ।

७. आठौँ महाधिवेशनद्वारा पारित दस्ताबेजमा उल्लेखित अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा, संक्षिप्त ऐतिहासिक पृष्ठभूमि र राष्ट्रिय राजनैतिक परिस्थिति बारे, विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य, पार्टी इतिहासको संक्षिप्त सिंहावलोकनबारे १६ वटा बुँदामा गरिएको संश्लेषणलाई आम कार्यकर्ता र जनताबिच छलफल चलाई सोको अध्ययनसहित निम्न ४ कुराको आधारमा समाजवादको आधार तयार पार्ने:

क) वामपन्थी तथा प्रगतिशील जनमतलाई केन्द्रित गरी उन्नत लोकतन्त्रको अभ्यास गर्नुपर्छ ।

ख) भौगोलिक र पर्यावरणीय विविधता, जातीय विविधता, सांस्कृतिक विविधता, अपार प्राकृतिक साधन श्रोत, युवा बहुल जनसङ्ख्या, श्रमयोग्य शक्तिको प्रचुरतालाई आधार बनाइ आर्थिक विकास, गरिबी अन्त्य, रोजगारी सृजना, आत्मनिर्भरता लागि पहल गर्नुपर्छ ।

ग) सरकार, सदनबाट सुशासन र सामाजिक न्याय लक्षित कार्यक्रममार्फत जनजीविकासँग सम्बन्धित समस्या समाधान गर्नुपर्छ ।

घ)समाजमा विद्यमान विभिन्न विभेद र शोषणका विरुद्ध आम जनताको चेतना वृद्धि सहितको प्रतिरोधका रूपमा सामाजिक सांस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्नुपर्छ ।

ङ) पार्टीलाई विधिसम्मत चलाउन विधान नमिच्ने सङ्कल्प गर्नुपर्छ ।नेतृत्व चयनका लागि पार्टीभित्र मनोनयनको सट्टा निर्वाचनको प्रक्रिया प्रारम्भ गर्नुपर्छ ।समावेशी प्रतिनिधित्वको लागि सम्बन्धित क्लष्टरमा निर्वाचन गर्नुपर्छ ।

च) माओवादी धारालाई अब समाजवादी धारामा रूपान्तरण गरी सोही अनुसार हाम्रो सैद्धान्तिक मार्ग निर्देशन तयार गर्नुपर्छ ।

छ) अहिलेको पदाधिकारी र स्थायी समितिबाट कम्तीमा एक तिहाइले विभागीय काम र सल्लाहकारको जिम्मेवारी लिन तयार हुनुपर्छ ।

ज) पार्टीभित्र आलोचना र आत्मालोचना गर्ने, लागेका कुरा छलफल गरा सही वा गलत के हो भन्ने कुरा स्पष्ट गर्ने, नेतृत्वले एक वा अर्कोलाई अविश्वास र आशङ्काले होइन विश्वासका आधारमा व्यवहार गर्ने पद्धतिको विकास गर्नुपर्छ ।

झ) पार्टीलाई पूर्णतः डिजिटल बनाउनुपर्छ ।डिजिटल पुस्तालाई पार्टीमा भर्ती गर्ने बाटो खोल्नुपर्छ ।उत्तराधिकारीहरूको लामबन्दी तयार गर्नुपर्छ ।

ञ) कार्यकर्ता व्यवस्थापन कोष खडा गर्नुपर्छ ।

ट) शहीद परिवार, बेपत्ता परिवार, घाइते योद्धाहरुलाई आत्मनिर्भर बनाउने योजना ल्याउनुपर्छ ।

ठ)  विभागहरू बनाउँदा विज्ञतालाई आधार बनाउनुपर्छ । विभागहरूलाई थिङ्क ट्याङ्कको रूपमा विकास गर्नुपर्छ ।

द) जवसहरुले पार्टीको नीतिप्रति नैतिक समर्थन जनाउँदै जनवर्गका हितमा काम गर्ने, पार्टी सदस्य बहुमत नहुने गरी प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने र वास्तविक पेसामा रहेका व्यक्तिहरू मात्र सदस्य हुने प्रणाली विकास गर्नुपर्छ ।आफ्नो जनवर्गमा कम्तीमा १० प्रतिशतलाई संगठित गर्नुपर्छ ।

ध)  मोर्चा संगठनमा पहिचान, भाषा संस्कृति, राष्ट्रियताको बारेमा जनतामा व्यापक प्रशिक्षण गर्दै थप अधिकार प्राप्तिका लागि जनपरिचालन गर्ने । आफ्नो जनसङ्ख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने ।

ण)  विदेशमा रहेका श्रमिकहरूका समस्या समाधान गर्न प्रवास पार्टी कमिटीले प्रत्यक्ष सम्पर्क, समस्या सङ्कलन र सरकारको ध्यानाकर्षण गराउने । गैरआवासीय नेपालीका सन्तानलाईसमेत वंशजको नागरिकता प्रदान गरी सधैँ नेपाली हुने अधिकार सुनिश्चित गर्ने ।

त) पार्टी विभाजन लगत्तै माओवादी पुनर्गठन अभियान सञ्चालन गरी नियमित छलफल अन्तरक्रिया र बैठकमार्फत पार्टीमा फर्कने वातावरण बनाएको स्मरण गराउन चाहन्छु । आज पनि बाबुराम भट्टराईको नेसपासँग एकताको लागि भएको सहमति अनुसार अगाडि बढ्नुपर्छ । यसै गरी विप्लव समूहलाई वर्तमान पार्टीको कार्यदिशामा सहमत गराई एकता प्रक्रियालाई अगाडि बढाउनुपर्छ ।

थ) जनसम्बन्ध विस्तारका लागि गरिबी न्यूनीकरणका साथै जनजीविकाका प्रश्नहरूमा जनताकाबीचमा अन्तरक्रिया, प्रचार र संघर्षमार्फत समस्या समाधानको नेतृत्व गर्नुपर्छ ।

ड) नेपालको विकास मोडेल समुदायमा आधारित भएको कुरालाई आत्मसात् गर्दै साना विकास निर्माणका कामहरू समुदायले गर्ने गरी कानुनी व्यवस्थाका लागि पहल गर्नुपर्छ ।

ढ) स्थानीय स्तरमा उपलब्ध प्राकृतिक साधन स्रोत, विकसित प्रविधि, जनश्रम र विकेन्द्रित पुँजीको एकीकृत परिचालनमार्फत उत्पादन तथा रोजगारका लागि समूह, सहकारी, कम्पनीमार्फत पहल गर्नुपर्छ ।

ण) सहुलियतपूर्ण ऋण, बजारीकरण, मल, बीउ, प्रविधि सरकारले उपलब्ध गराउनुपर्छ । साना उद्योग र पर्यटन क्षेत्रमा समेत काम गर्नुपर्छ ।

प) युवाहरूलाई आइटी क्षेत्रको तालिम दिई रोजगारयुक्त बनाउनुपर्छ।

फ) पार्टीभित्र फरक लाइन नभए पनि अविश्वासको मात्रा बढेको छ । त्यसलाई हटाउन मूल नेतृत्वले मुख्य टिमबिच घनिभूत छलफल चलाउनुपर्छ ।

ब) संघीयता कार्यान्वयनबारे अन्य केही पार्टीहरूले समानुपातिक हटाउने, प्रदेश हटाउने, जनमत सङ्ग्रह गर्नुपर्ने जस्ता बहस चलाएको सन्दर्भमा संघीयता कार्यान्वयनको सबलीकरण गर्ने, प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने, संविधानले दिएका अधिकार हस्तान्तरण गर्ने साधन स्रोत वृद्धि गरी संघीयतालाई थप सुदृढ गरेर त्यसको जवाफ दिन जरुरी छ ।

भ)  पहिचान, निर्वाचन प्रणाली, कर्मचारीतन्त्र र न्यायालयको लोकतान्त्रीकरण जस्ता मुद्दाहरूमा बौद्धिक वर्ग, संसद् र दलहरुकाबीच बहस थालनी गर्नुपर्छ ।

६. उन्नत लोकतन्त्रको अभ्यास गर्न, संवैधानिक अधिकारको प्रयोग गर्न समाजमा विद्यमान शोषण उत्पीडन, दलितका नाममा गरिने भेदभावका साथै अन्य विभेद, छाडा संस्कृति, भ्रष्टाचार र भ्रष्टाचारजन्य संस्कृतिका विरुद्ध सामाजिक सांस्कृतिक रूपान्तरण अभियानका रूपमा निरन्तर संघर्ष सञ्चालन गरी त्यसको तागतमा समृद्ध समाज, सुशासनयुक्त प्रणाली र युगको नेतृत्व निर्माणमा निरन्तर लाग्नुपर्छ । धन्यवाद !

जनार्दन शर्मा

२० साउन २०८०

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप