बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

धरानमा डेंगु सङ्क्रमण झनै तीव्र

एकैदिन परीक्षण गरिएकामध्ये ७८ प्रतिशतमा देखियो डेंगु
शनिबार, २० साउन २०८०, २० : २२
शनिबार, २० साउन २०८०

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुको सङ्क्रमण झनै तीव्र गतिमा फैलिइरहेको छ । शुक्रवार परीक्षण गरिएका १ सय ७२ जनामध्ये १३४ जनामा डेंगु देखिएको छ ।

यो ७८ प्रतिशत हो । जसमध्ये ३८ जनामा भने डेंगु भेटिएन । परीक्षणका क्रममा देखिएको यो नतिजाले डेंगु सङ्क्रमण तीव्र भइरहेको देखाएको छ । 

हालसम्म धरानमा ५ हजार ७२ जनाको डेंगु परीक्षण गरिएको छ । जसमध्ये ६२ प्रतिशत अर्थात् ३ हजार १२८ जनामा डेंगु देखिएको छ भने ३८ प्रतिशत अर्थात् १ हजार ९४४ जनामा डेंगुको सङ्क्रमण नभेटिएको धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले जानकारी दिए । 

उनीहरूमध्ये कतिपयको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने सामान्य बिरामीको घरमै उपचार भइरहेको छ । धरानमा वैशाख अन्तिमदेखि डेंगुको प्रकोप बढ्न थालेको हो । 

धरान उपमहानगरपालिकाले डेंगी नियन्त्रणको लागि भन्दै सर्च एन्ड डिस्ट्रोयलाई नै प्रभावकारी उपायको रूपमा लिएर काम अगाडि बढाइरहेको छ । धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ ।

डेंगु तीव्र गतिमा फैलिन थालेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगुको छुट्टै १ सय ५० जनासम्म अट्ने गरी उपचारको व्यवस्था गरिएको छ । जहाँ दिनदिनै उपचारका लागि आउने बिरामीको चाप बढ्दै गएको छ । 

धरानमा ०७७ र ७८ मा फाट्टफुट्ट मात्रै डेंगु देखिएको थियो । त्यतिबेला १०२ जना सङ्क्रमित भएका थिए । २०७५ सालको अन्तिम र २०७६ को सुरुवातमा पनि डेंगुको सङ्क्रमण फैलिएको थियो । त्यसबेला ४ हजार ३ सय मानिस सङ्क्रमित भएका थिए । त्यतिखेर पनि सर्च एन्ड डिस्ट्रोए र फगिङ गरिएको थियो ।

धरानमै डेंगु देखिनुको कारण विभिन्न रहेको मेहताको दाबी छ । एउटा कारण पानीको अभाव हुनु र जम्मा गरेर राख्नु हो । अर्को वनजंगलको क्षेत्र बढी छ । जङ्गलका रुखको टोड्काहरूमा पनि पानी जमेको छ भने त्यो पनि डेंगुको घर हो । यस्तै फूलका गमलाहरू पनि धरानमा धेरै छन् । गमलाको पिँधमा रहेको प्लेटमा पानी रहँदा त्यहाँ पनि डेंगुको घर बनेको छ । गमलाहरूमा पनि देखिएको छ । 

अर्को पानी जम्मा गरेर राखेको ट्याङ्कीहरू घरघरमा छन् । त्यसमा पनि डेंगु बस्ने देखिएको छ । अर्को सुँगुरको खोर धेरै छ । त्यहाँबाट पनि डेंगु सरिरहेको छ । सुँगुर भएको ठाउँमा धेरै हिलोमैलो देखिन्छ ।

डेंगुले सफा पानीमा फूल पारे पनि फोहोरमा हुर्किन्छ । यस्तै कतिपय सडकको ड्रेन तथा नालीहरू पनि सफा छैन । धरानमा डेंगु, मलेरिया र कालाजार रोग सार्न सक्ने खालको लामखुट्टे पाइएको छ । ‘रिसर्च गर्दा डेंगु सार्ने खालको लामखुट्टे धेरै पाइएको छ । यसलाई रोकथाम र नियन्त्रणको एउटै उपाय भनेको सर्च एन्ड डिस्ट्रोए अभियान नै हो,’ मेहताले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप