शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
वान एक्स बेट प्रकरण

जब हतकडीबाट छुटकारा पायौँ, एक अर्कामा अँगालो हालेर रोयौँ

‘छुटेपछि कलाकारिता गर्दिनँ, बिदेसिन्छु भन्ने भावना धेरै पटक आयो’
सोमबार, २२ साउन २०८०, १३ : २९

‘वान एक्स बेट’ प्रचार गरेको मुद्दामा ३० दिनको हिरासतबाट हालै मुक्ति पाइयो । अहिले त्यो समयमा रोकिएको टेलिश्रृङ्खला ‘हल्का रमाइलो’को काम थालिएको,  ‘जुठे’को तयारीमा पनि छु । जीवन पहिले जस्तो चलेको थियो, त्यसरी नै अगाडि लैजाने सोचमा छु ।

नयाँ सिरियल,  राजु पौडेल दाइसँग मेरो मनमुटाव भएको भनेर बाहिर विभिन्न हल्ला चलेका छन् । त्यो सबै फगत हल्ला मात्रै हो । यस विषयमा अहिले केही बोल्दिनँ । यस्ता विषय समाचारबाट थाहा पाउँदा म आफै छक्क परेको छु ।

‘वान एक्स बेट’को घटना प्रकरण मेरो जीवनको सबैभन्दा दुःखदायी घटना हो । मबाट अनजानमा जुन काम भएको थियो, त्यसले ठुलै सबक सिकायो । 

प्रहरीले जुन दिन हामीलाई पक्रियो भने समाचार आयो, वास्तवमा त्यो पक्राउ थिएन । त्यो दिन हामी सिरियलको नियमित सुटिङमा थियौ । प्रहरीबाट बोलावट आयो, हामी सुटिङ छाडेर पुग्यौँ।

प्रहरीले म लगायतलाई ‘वान एक्स बेट’ गैर कानुनी हो । विज्ञापन गर्न मिल्दैन भन्नुभयो । प्रहरीलाई हामीले भन्यौ, ‘थाहा थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी क्रिकेट खेलमा ‘वान एक्स बेट’को जस्तै लोगो राखेर प्रचार भएको थियो । हामीलाई जसले विज्ञापन दिनुभयो, त्यसले एउटै हो भन्यो ।’ हाम्रो कुरा सुनेपछि प्रहरीले मुद्दा चल्छ भन्यो । यसरी २९ रात, ३० दिन प्रहरी हिरासतमा बित्यो ।

प्रहरी हिरासतका विषयमा बेला बेलामा नकारात्मक कुरा सुनिन्थ्यो । त्यसको विषयमा म पनि जानकार थिएँ । त्यसैले, हिरासतमा के हुने हो, कसो हुने हो अनेक डर थिए ।

हामी कलाकार भएको कारणले होला वा के कारणले हो प्रहरीबाट राम्रो व्यवहार मिल्यो । सुत्न पनि अन्य हिरासतमा रहेकाको भन्दा राम्रो थियो । हामीलाई चिया खाने व्यवस्था पनि थियो ।

हतकडी लगाउन नपरे हुन्थ्यो भन्ने लाग्थ्यो । प्रहरीले अदालत लैजाँदा र फर्काउँदा हतकडी लगाउँथ्यो । कलाकार भएर हो कि फर्किदा कहिलेकाहीँ छुट पनि थियो । प्रहरीले गरेको मायाप्रति हामी हिरासतमा रहेका कलाकार कृतज्ञ हुनैपर्छ । हिरासतको समयमा जतिले सहयोग गरे, हृदयदेखि नै आभारी छु ।

अहिले पनि सम्मानित अदालतमा हाम्रो मुद्दा विचाराधीन छ । अदालतले हामी कलाकार भएको हिसाबले थोरै (५ हजार) रकममा धरौटीमा रिहा गर्दियो । म अब अदालतको थप निर्णयको प्रतीक्षामा छु । 

अहिलेसम्म मैले कसैलाई नराम्रो गरेको छैन । चोरी, फटाई वा कसैलाई ठगेको होइन । अनजानमा विज्ञापन बजाएर फसियो । त्यो हामीले गैर कानुनी हो भनेर थाहा भएको भए किन बजाउँथ्यौँ र ? अनजानमा भएको गल्तीको अदालतबाट न्याय हुन्छ भन्ने दृढ विश्वास छ ।

परिवार सम्झन चाहन्नथेँ 

३० दिन हिरासतमा बस्न बाध्य हुनु मेरा लागि जीवनकै सबैभन्दा दुःखको कुरो हो । त्यो भन्दा पनि दुःख ‘वान एक्स बेट’ बाट करोडौँ कमाएको आरोप, जुन बिलकुल गलत थियो ।

यसका मुख्य दोषी दिनेश खड्का र अनिता धिताललाई हामी भन्दा  अघिल्लो दिन प्रहरीले पक्राउ गरेको रहेछ । हामीलाई पनि अदालतमा प्रहरीले हिजोको मुद्दामा मिलान भनेर उहाँहरूकै मुद्दा जोड्यो । दिनेश र अनिताले गरेको ६४ करोडको कारोबार हाम्रो भनेर प्रचार भयो । त्यो झुट थियो । 

झुटो कुरोले निकै मानसिक तनाव दियो । त्यो कारोबार हाम्रो थियो, थिएन, बैंक एकाउन्टमा हेरेको भए हुन्थ्यो । मिडियाले पनि प्रहरीको बोली बोल्यो । हामीलाई सधैँ माया गर्ने मिडियाप्रति यही अलिकति गुनासो रह्यो ।

हिरासतबाट कसैले ७ दिनमा छुट्नु हुन्छ भन्दा खुसी हुन्थ्यौ  तर पुनः म्याद थप्दा दुःखी । ६४ करोडको कारोबार, तीन वर्ष जेललगायत समाचार बाहिर आएको हल्लाको पीडा शब्दमा वर्णन गर्न सक्तिनँ ।

त्यो समय मैले मेरी आमा र सानो छोरो सम्झन नपरे पनि हुन्थ्यो भन्थेँ । किनभने आमाले पढ्नु भएको छैन । आमालाई कति मानिसले के के भने होलान्, मेरी आमा के गर्दैछिन् होला भनेर सम्झँदै म विक्षिप्त हुन्थेँ । अव म भित्रै बस्नु पर्‍यो भने छोरोको भविष्य के होला, परिवारले के गर्लान् ? भनेर सम्झँदै रुन्थेँ, छट्पटाउँथे ।

कोही भएन हाम्रो 

कार्यक्रमको सिलसिलामा अहिलेसम्म १५ देश पुगिएको छ । यो सिलसिलामा विदेश बस्ने नेपाली दाइभाइ, दाजुबहिनीले राम्रो देश आएका छौ । नेपालको करियर राम्रो छैन । यतै बस, हामी मिलाउँछौ भनेर कति भने कति ।

तर, मर्न परे नेपालमै मर्छौँ, देशमै कलाकारिता गर्छाैँ भनेर फर्किएँ । हिरासतमा रहँदा नेपाल फर्किएर गल्ती गरियो भनेर कति पछुतो भयो कति । अव छुटेपछि कलाकारिता गर्दिनँ, बिदेसिन्छु भन्ने भावना धेरै पटक आयो ।

‘वान एक्स बेट’ गैरकानूनी भन्ने थाहा थियो भने किन बन्द गरिएन  ? सरकारलाई यही प्रश्न हो मेरो । जसरी पोर्न साइट खोल्न मिल्दैन । त्यस्तै यो पनि गरे हुन्थ्यो नि ।

हिरासतमै रहँदा अव जीवनभर जेलमै कुहिनु पर्ने हो कि भन्ने डर पनि थियो । एक मन त हामीबाट यो भुल जानी जानी भएको होइन, अनजानमा भएको हो । सुधार्ने अवसर मिल्छ भन्ने थियो, जुन अठोटले हिरासतमा बल मिल्थ्यो ।

हिरासत बसाइँ मेरो लागि एउटा पाठशाला पनि भयो । त्यहाँ धेरै कुरा सिकेँ, बुझेँ र अनुभव गरेँ । मानिस जब अप्ठ्यारोमा पर्छ नि, सबैले साथ छोड्दो रहेछ । २४ घण्टा अघिपछि हिँड्नेले पनि अनेक कुरो गर्दो रहेछ । आफन्त, साथीभाइ र अन्य, को के रहेछ भनेर चिनायो ।

म हाम्रो कला क्षेत्र, हाम्रो कलाकर्मी भनेर गर्व गर्थेँ । त्यो सबै भ्रम रहेछ । यो बुझ्ने सुवर्ण अवसर हिरासतले दियो ।  सबैभन्दा दुःख लागेको कुरो कला क्षेत्रका एक जनाले पनि हाम्रो बारेमा बोलेनन् । हामीलाई कसैले पनि विश्वास गरेनन् ।

जबकि त्यो विज्ञापन हाम्रोमा मात्र थिएन । २ देखि ३ सयसम्म युट्युवर र अन्य नेपालका नाम चलेको कार्यक्रममा पनि बज्थ्यो । फरक यत्ति हो कि हामी निशानामा पर्‍यौँ ।

कला क्षेत्रका र समाजका मानिस अर्काेलाई दुःख पर्दा सपोर्ट गर्ने होइन, झन् पीडा थप्ने, नराम्रो चर्चा गर्ने, ठिक भयो भन्ने खालका हुँदा रहेछन् । 

जब हतकडी खुल्यो

म कुनै ठाउँमा जाँदा भीड लाग्थ्यो, सेल्फी खिच्थे । आज कहाँ पो पुगे भन्ने लाग्यो । समातिएको पहिलो रात कोटेश्वर चौकीमा थिएँ । त्यो दिन रातभर सुत्न सकिनँ । मुटुको धड्कन बढेको थियो । प्रहरीले अलिअलि सम्झाएर पठाउँछ भनेर गएका हामीलाई त्यही पो राख्यो । समाचार नआओस् भनेर कामना गरिए पनि समाचार छ्यापछ्याप्ती भयो ।

अपराध महाशाखाका प्रहरी प्रमुखसँग पनि हामीलाई हतकडी नलगाउनु अनुरोध गरेका थियौँ तर मानेनन् । यो घटनाले अब कुनै विज्ञापन वा अन्य कुरोमा जोडिदा दशौँ पटक सोच्छु । हिरासतको ३० दिनले कानुनी रूपमा के गर्न हुने, के गर्न नहुने धेरै सिकायो । सजग रहन चनाखो बनायो ।

अदालतमा हाम्रो विषयमा भएको बहसमा सहभागी हुन पाएनौँ । भीडभाड भयो भनेर हामीलाई तलै राखियो । जब वकिलमार्फत म लगायत साथीहरू रिहा हुने कुरो थाहा भयो । हामी एक अर्कोमा अँगालो हालेर रोयौँ ।

हतकडीले पिछा छाडेको त्यो पल जीवनको अहिले सम्मकै खुसीको क्षण थियो । रिहाइको कुरो कानमा पर्ने बित्तिकै शरीरमा एक किसिमको ऊर्जा सञ्चार भएको थियो । 

जब हतकडी खुल्यो, हजारौँ किलो बोझ शरीरबाट बिसाए जस्तो भयो । त्यो समय प्रण गरे, अब कुनै काम गर्दा, बोल्दा सोचेर गर्नेछु ।

भित्र रहँदा मेरो करियर सकियो । अव के गर्ने भनेर सोच्थे । बाहिर आएपछि सामाजिक सञ्जालको प्रतिक्रिया ९५ प्रतिशत सकारात्मक पाएँ । त्यो प्रतिक्रियाले अहिले फेरि अगाडि बढ्न ऊर्जा दियो । कलाकारिता छोड्दिन भन्ने लाग्यो । 

(कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ले रातोपाटीका कुवेर गिरीसँग गरेको कुराकानीमा आधारित) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’
मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’
लेखकबाट थप