सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संसद अवरुद्ध

नगल्ने एमाले–नझुक्ने सरकार : उच्चस्तरीय छानबिन समितिमै अड्कियो बैठक

सोमबार, २२ साउन २०८०, १५ : २८
सोमबार, २२ साउन २०८०

काठमाडौँ । प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेको पहलमा बसेको सत्तापक्ष र प्रतिपक्षबीचको छलफल सहमतिबिना सकिएको छ । सोमबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको छलफल सरकार पक्ष र प्रतिपक्षी दल आफ्नो भनाइमा टसको मस नभएपछि फेरि अर्को छलफल गर्न १ घण्टापछि बैठक सारिएको छ । 

सभामुखको पहलमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, ती दलका प्रमुख सचेतक तथा सचेतक सहभागी भएको छलफल बिना निष्कर्ष सकिएको हो । 

एमाले सचेतक महेश वर्तौलाका अनुसार सत्तापक्षको आग्रहमा साढे ३ बजे नयाँ बानेश्वरमा अर्को बैठक बोलाइएको छ । 

सो छलफलका एमालेले गत साउन २ गते विमानस्थल भन्सार कार्यालयबाट भित्रिएको एक क्वीन्टल बढी तस्करीको सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने यसअघिदेखि उठाउँदै आएको माग राखेको छ भने सरकारले अनुसन्धान कार्य जारी रहेकोले विश्वास गर्न प्रतिपक्षी दललाई आग्रह गरेको छ । 

एमालेले राखेको उच्चस्तरीय छानबिन समितिको अडान र सो माग तत्काल पूरा गर्न नसकिने सत्तापक्षको अडानका कारण बैठकमा सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक सञ्चालनमा अन्यौल सिर्जना भएको छ । 

बैठकपछि रातोपाटीसँग कुरा गर्दै एमाले सचेतक महेश बर्तौलाले बैठकबाट संसद् खुलाउने बारेमा केही निचोड नआएको भन्दै सरकार पक्ष जिम्मेवार नभएको आरोप लगाए । उनले भने–‘सरकार प्रतिपक्षीले उठाएको मागप्रति शसकित हुनुपर्ने, डराउनुपर्ने कारण थिएन । बैठकमा हामीले छानबिन समिति बनाउनु सरकारकै स्वास्थ्यकै लागि पनि राम्रो हो । उच्चस्तरीय छानबिन समिति बनाऔँ । मन्त्रीहरु, प्रधानमन्त्रीतिर पनि प्रष्ट सोझिएको छ । त्यसकारण यी सबै कुराहरु निराधार हुन् वा दोषी हो भने संलग्नता रहेछ भन्नका लागि पनि समिति बनाउनुपर्छ भनेर हामीले कुरा राख्यौँ तर उहाँहरुले हामी काम गरिराख्या छौँ । हाम्रो कामलाई विश्वास गर्नुपर्छ भन्ने कुरा राख्नुभयो ।’

सचेतक बर्तौलाले छानबिन समितिका लागि कार्यादेश बनाएर जान आग्रह गरेको तर सत्तापक्षले नमानेको  बताए । उनले सत्तापक्ष संसद् नखुलेकोमा दोष प्रतिपक्षलाई लगाउने तर आफ्नो अभिष्ट पूरा गर्नेगरी अघि बढेको उल्लेख गरे । 

अर्को बैठकमा पनि एमालेले सोही कुरा राख्ने र अर्को कुनै विकल्प नरहेको बताए । उनले प्रतिपक्षले उठाएको विषयमा सरकारले अडान लिन नहुने बताए । 

यता माओवादी केन्द्रले भने अर्को बैठक सकारात्मक हुने अपेक्षा लिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद् खुल्नुपर्छ भन्ने कुरामा दुवै पक्ष एकमत रहेकोले सहमति जुट्ने अपेक्षा व्यक्त गरे । उनले भने–‘सत्तापक्षबाट सदन चलाउनुपर्छ, जे कुरा छ सदनमा राख्नुस् भन्ने कुरा भयो । विपक्षी दल पनि संसद् चलाउनुपर्छ भनिरहेको छ । तर कसरी चलाउने भन्नेबारेमा अझै छलफल गर्नुपर्ने भयो भनेर साढे ३ बजे नेताहरू फेरी छलफलमा बस्ने कुरा भएको छ ।’ 

सुन तस्करी प्रकरणलाई लिएर एमालेले गत साउन १० गते प्रतिनिधि सभाको बैठक अवरोध गरेको थियो । एमालले अवरोध कायमै राख्ने भएपछि गत साउन १६ गते बोलाइएको बैठकपनि सहमति नजुटेपछि सूचना टाँस गरेर स्थगित भएको थियो । 

संसदीय समिति सभापति विहीन भएको अवस्था र संसदमा प्रतिपक्षी दलको अवरोध रहने अवस्था अन्त्य गर्न सभामुख देवराज घिमिरेको पहलमा सोमबार दुईपक्षबीच छलफल भएको हो । तर सत्तापक्ष र प्रतिपक्षीले आफ्नो अडान कायम राखेपछि प्रतिनिधि सभाको बैठक बस्ने समय पछि धकेलिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप