आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

शैक्षिक सुधारको माग राख्ने अभियन्तालाई किन थुनियो ?

सोमबार, २२ साउन २०८०, १९ : ३६
सोमबार, २२ साउन २०८०

विराटनगर । टाउकोमा रातो फेटा, हातमा राष्ट्रिय झण्डा । साथमा शैक्षिक सुधारको माग गर्दै लेखिएका केही हरफसहितको प्लेकार्ड । ख्याउटे शरीर लिएर सधैँजस्तो विराटनगर महानगरपालिकाको गेटमा देखिने ५२ वर्षीय इन्दिरा चापागाईं विगत एक हप्तादेखि थुनामा छिन् ।

उनले विराटनगर महानगरपालिकासँग राखेको माग थियो– गोग्राह कलेजलाई दिँदै आएको ५ लाख अनुदान रकम फिर्ता गरी स्कूलबाट कलेज हटाउनु पर्ने ।

उनका अरु माग पनि छन् । बेलाबेलामा उनी भ्रष्टाचार विरुद्धको अभियानमा सामेल हुन्छिन् । कहिले महिला अधिकारको कुरा गर्छिन् । कहिले विभिन्न सामाजिक आन्दोलनमा सरिक हुन्छिन् । तर, त्यसबेला पनि उनले गोग्राह कलेजलाई हटाएर स्कुल बनाउनु पर्ने माग राख्न छुटाउँदिनन् ।

विराटनगर–५ निवासी चापागाईं यसअघि गोग्राह स्कुल व्यवस्थापन समितिको अध्यक्षसमेत थिइन् । तर, उनै अभियन्ता चापागाईंलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेर एक हप्तादेखि हिरासतमा राखेको छ । उनलाई थप अनुसन्धानका लागि भन्दै सोमबार ८ दिनको म्याद थप गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका सह–प्रवक्ता इन्सपेक्टर पप्पु नायकका अनुसार चापागाईंलाई थुनामै राखेर अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।

उनीविरुद्ध महानगरपालिका कार्यालयले अभद्र व्यवहार मुद्दामा जिल्ला प्रहरी कार्यालय मोरङमा गत १५ गते उजुरी दिएको थियो । गएको जेठदेखि चापागाईं महानगरपालिका कार्यालयअगाडि धर्नामा बस्दै आएकी थिइन् । त्यसअघि पनि उनी धर्ना तथा अभियानमा देखिरहन्थिन् । उनीमाथि महानगरका प्रमुख नागेश कोइरालालाई गाली गलौज गरेको आरोप छ ।

गोग्राह स्कुलको संरचनामा पूर्वाञ्चल विश्वविद्यालयबाट अनुमति लिएर गोग्राहा कलेज सञ्चालित छ । सुरुमा कलेज विद्यालय मातहत नै रहेकोमा पछिल्लो समय भने छुट्टै बनाइएको छ । कलेजले शिक्षा संकायतर्फ बीएडको कक्षा सञ्चालन गर्दै आएको छ । जायज माग राखेर विकृतिविरुद्ध शान्तपूर्ण धर्ना बस्ने र उजुरी गर्ने मौलिक अधिकार भए पनि आफूलाई महानगरले झुटो आरोपमा पक्राउ गर्न लगाएर मुद्दा दर्ता गराएको चापागाईंले बताएकी छन् ।

पटक–पटक नगर प्रहरी र नेपाल प्रहरीले धर्नास्थलबाट हटाउन आफूलाई कुटपिट गरेको उनको गुनासो छ ।

शैक्षिक अभियन्ता अभिषेक घिमिरेले उनलाई तत्काल रिहा गर्न माग गरेका छन् । ‘उहाँले राख्नुभएको माग खासै ठूलो थिएन । महानगरपालिकाले आफैँ बोलाएर कुरा गरेको भए समाधान हुनसक्ने विषय आफैँले अतिरञ्जित किन गरेको होला ? उहाँको शीघ्र रिहाइ होस्,’ घिमिरेले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप