आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
कपनमा तनाव

कपन सात तलेदेखि फैकासम्म नाँपजाँच सुरु, तत्काल डोजर नचल्ने

बिहीबार, २५ साउन २०८०, २० : ३३
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच सात तलेदेखि फैकासम्मको खहरे खोला आसपासमा निर्माण गरिएका भौतिक संरचना भत्काउने कि नभत्काउने भन्ने नाँपजाँचपछिमात्रै टुंगो लगाउने सहमति भएको छ । 

त्यसका लागि बिहीबारबाटै सो क्षेत्रमा मालपोत कार्यालय चाबहिलका प्रतिनिधिसहित, काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाका अमिनले नाँपजाँच सुरु गरेका छन् । 

काठमाडौँ महानगरपालिका कुनै सल्लाह नै नगरी सो क्षेत्रमा बिहीबार डोजरसहित पुगेपछि स्थानीय र महानगर प्रहरीबीच झडप नै भएको थियो । खोला आसपासका स्थानीयले आफ्ना भौतिक संरचनामा महानगरले एक्कासी डोजर चलाउन थालेपछि विरोध गरेका थिए । 

‘सात तलेदेखि फैकासम्मको सीमा क्षेत्र आजैबाट नाँपजाँच सुरु भएको छ । नाँपजाँचपछि के गर्ने भन्ने निर्णय गर्ने सहमति भएको छ’, बुढानीलकण्ठका मेयर अधिकारीले रातोपाटीसँग भने । मेयर अधिकारीका अनुसार एक दुई दिनभित्रै नाँपजाँच सकेर कसरी अघि बढ्ने भन्ने टुंगो लाग्नेछ । 

काठमाडौँ महानगरपालिका १० र बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सीमानामा रहेको सात तले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले महानगर बिहीबार उक्त स्थानका संरचना भत्काउन पुगेको थियो । बर्सेनि डुबान समस्या भौग्दै आएका त्यस क्षेत्रका स्थानीयले महानगरले गरेको काम राम्रो भएको र खहरे खोला मिचेर बनाइएका संरचनाहरु भत्काउनुपर्ने धारणा राखेका छन् । यता बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईले बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई के गरिँदैछ भन्नेकुरा थाहा नदिकनै काठमाडौँ महानगरपालिका दलबलसहित फिल्डमा आएको बताए । उनले चोर बाटोबाट गरिएको निर्णयलाई आत्मसाथ गर्न नसकिने भन्दै बताए । 

‘काठमाडौँ महानगरपालिका दलबलसहित फिल्डमा आयो । यो काठमाडौँ महानगर र बुढानिलकण्ठ नगरपालिकाको सीमानामा पर्छ । बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई के गरिँदैछ भन्नेकुरा थाहा नदिकनै चोरबाटोबाट यो निर्णय गरिएको छ । यो समन्वयबाट समाधान हुनुपर्छ’, भट्टराईको भनाई छ । 

त्यस्तै काठमाडौँ महानगरपालिकाका महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन्द्र शाहबाट खहरे खोला मिचेर बनाएका संरचना भत्काउने आदेश रहेकाले भत्काएरै छोड्ने बताए । 

उनले बूढानीलकण्ठ नगरपालिकाले स्पष्ट हुँदाहुँदै पनि निहुँ खोजेको आरोप समेत लगाए । 

‘महानगरले नापिसकेको, महानगर र उहाँहरुबीच पनि कतिपय कुराकानी भएको, म आफैँ पनि कतिपय ती कार्यमा संलग्न भएको, र अहिले खहरेलाई खोल्ने र डुबानलाई जनताको घरमा गएको पानी जुन छ, बुडानीलकण्ठ तिर साइड अग्लो छ, यताको साइड गहिरो छ । त्यो खोलेपछि बाटो समस्या हुन्छ भनेर निहुँ खोजेको अवस्था हो । कानून हातमा लिन खोजेको हो । हामी आफ्नै सीमानामा बस्छौँ र खोल्छौँ’, पाण्डेको भनाइ छ ।

त्यस्तै स्थानीयहरुले भने बूढानीलकण्ठ नगरपालिकाले खहरे खोलाको संरचना मिचेर घरहरु बनाउन दिएकाले भत्काउनुपर्ने माग राखेका छन् । उनीहरुले मिचेर बनाइएका संरचना नभत्काएसम्म बाढी र डुबानको समस्या समाधान हुन नसक्ने धारणा राखे । उनीहरुले भुमाफियाका कारण अहिलेको समस्या सिर्जना भएको भन्दै महानगरले चालेको कदम सही रहेको बताए ।

खोला मिचेर संरचना बनाउनेहरुलै मात्रै महानगरको विरोध गरिरहेको बताए । बालबालिकाहरुलाई विद्यालय लैजान र ल्याउनका लागि पनि पानी परेको बेलामा जोखिम मोलेर आउने जाने गर्नुपरेको उनीहरुको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप