शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कुलमानकै पत्रकार सम्मेलनमा झ्याप्प झ्याप्प बत्ती गएपछि...

बिहीबार, २५ साउन २०८०, २१ : २६
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेको दुई वर्ष पुगेको उपलक्ष्यमा आज कुलमान घिसिङले पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

तर आफ्नो नेतृत्वमा प्राधिकरणले हासिल गरेको उपलब्धि सुनाउन आयोजना गरेको पत्रकार सम्मेलनमा नै पटक–पटक बत्ती गएपछि प्रबन्ध निर्देशक घिसिङलाई सकस परेको थियो । कुलमानले आफ्नो उपलब्धि सुनाउँदै गर्दा कार्यक्रम अवधिमा दुई पटक बत्ती गएको हो । 

आफू बोल्दै गर्दा झ्याप्प झ्याप्प बत्ती गएपछि कुलमान स्वयम् आजित भएका थिए । किन बत्ती गयो भनेर प्रश्न गर्दा उनले प्रणालीमा आएको समस्याका कारण विद्युत् आपूर्ति अनियमित भएको स्पष्टीकरण दिएका थिए । 

खास गरी पानी पर्ने समयमा उपभोक्ताले झ्याप्प झ्याप्प बत्ती जाने क्रम भोग्दै आएका छन् । यसैले गर्दा नेपालमा लोडसेडिङ अन्त्य गरेर वाहवाही पाएका कुलमानको पनि पछिल्लो समय आलोचना हुने गरेको छ । 

तर प्राधिकरण भने पानी पर्ने समयमा रुखहरूले प्रसारणलाई छुने र त्यसबाट आउने समस्याले बत्ती जाने गरेको बताउँछ । यस्तै समय समयमा वितरणलाई धान्न नसक्ने लोड आउँदा समेत बत्ती जाने गरेको छ । लामो समय अगाडि बनाइएको वितरण प्रणालीले अहिलेको माग थेग्न नसक्ने प्राधिकरण आफै बताउँछ । 

यद्यपि हालको माग धान्ने गरेर नयाँ वितरण प्रणाली बिस्तार गर्ने योजना अघि बढाइएको प्राधिकरणले जनाएको छ । तर यसका लागि अझै अर्बौँ लगानी चाहिने कुलमानको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप