बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

युवाहरुलाई स्वरोजगार बनाउन प्राविधिक शिक्षा आवश्यक : विनोद चौधरी

शुक्रबार, २६ साउन २०८०, १६ : ०७
शुक्रबार, २६ साउन २०८०

बर्दघाट । नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको सीजी पोलिटेक्निकलबाट ७३ युवाले प्राविधिक तालिम पुरा गरेका छन् । ३४ जनाले इलेक्ट्रिक र ३९ जनाले मेकानिकलको तालिम सम्पन्न गरेका हुन् । 

प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका र बर्दघाट नगरपालिकाका युवाहरुले ६ महिने तालिम पुरा गरेका हुन् ।

नवलपरासी–१ बाट निर्वाचित सांसद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा युवाहरुलाई प्राविधिक शिक्षा दिने गरी पोलिटेक्निक सञ्चालनमा ल्याएका हुन् । उनले निर्वाचनका बेला युवाहरुलाई स्वरोजगार बनाउन पोलिटेक्निक सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । चुनावी प्रतिबद्धता अनुसार उनले निर्वाचित भएलगत्तै पोलिटेक्निक सञ्चालनमा ल्याएका हुन् । 

कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चौधरीले युवाहरुलाई स्वरोजगार बनाउन प्राविधिक शिक्षालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।  सांसद चौधरीले प्राविधिक शिक्षाले युवाहरुलाई उद्यमशील बन्न प्रेरित गर्ने बताए । 

शुक्रबार नवलपरासीको प्रतापपुर गाउँपालिकामा सीजी पोलिटेक्निकद्वारा सञ्चालित इलेक्ट्रिक र मेकानिकल तालिमका सहभागीलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले भने, ‘देशभित्र रोजगारीका क्षेत्रहरु सिमित छन् । युवाहरुले सहजै रोजगारी पाइरहेका छैनन् । त्यसका लागि सरकारले प्राविधिक शिक्षामा जोड दिनुपर्छ । प्राविधिक शिक्षा भयो भने युवाहरु आफै स्वरोजगारमूलक काम गर्न सक्छन् ।’

उनले नेपालबाट अदक्ष कामदार श्रमका लागि गइरहेको उल्लेख गर्दै प्राविधिक शिक्षा भए युवाहरुले विदेशमा पनि राम्रो काम पाउने बताए ।

कार्यक्रममा प्रदेश सांसद देवकरणप्रसाद कलवारले प्राविधिक शिक्षाले त्यस क्षेत्रका युवाहरुलाई रोजगारी पाउन सहज हुने विश्वास गरे । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवले गाउँमा प्राविधिक शिक्षा पाएपछि युवाहरु लाभान्वित भएको बताए । 

सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले पनि प्राविधिक शिक्षाको महत्वमाथि जोड दिए । दोस्रो चरणको तालिमका लागि तयारी सुरु भएको सीजी पोलिटेक्निकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप