बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विश्वकप खेल्न बेन स्टोक्सले सन्न्यास फिर्ता लिए

बुधबार, ३१ साउन २०८०, १६ : ०७
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । इङ्ल्यान्डको अलराउन्डर क्रिकेटर बेन स्टोक्सले आईसीसी एकदिवसीय विश्व कप खेल्न सन्न्यास फिर्ता लिएका छन् । ३२ वर्षीय स्टोक्सलाई न्युजिल्यान्डविरुद्घको एकदिवसीय शृंखला खेल्ने इङ्ल्यान्डको टोलीमा समावेश गरिएको छ । 

स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको एक वर्षभन्दा लामो समय बितिसकेको छ । उनले सन् २०२२ को जुलाईमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । स्टोक्सले सन् २०२२ को जुलाई १९ तारिखमा दक्षिण अफ्रिकाविरुद्घ अन्तिम एकदिवसीय प्रतियोगिता खेलेका थिए । 

इङल्यान्डका प्रशिक्षक म्याथ्यु मोट यसै वर्षको अन्त्यमा भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि स्टोक्सलाई टोलीमा समावेश गर्न चाहन्छन् । उनकै विशेष पहलमा स्टोक्स सन्न्यास फिर्ता लिएर एकदिवसीय क्रिकेटमा फर्किएका हुन् । 

प्रशिक्षक म्याथ्युले स्टोक्सलाई सन्न्यास फिर्ता लिएर इङ्ल्यान्डको विश्वकप टोलीमा फर्कन आग्रह गरेका थिए । सन्न्यास फिर्ता गराउन म्याथ्युले स्टोक्सका मित्रहरुलाई पनि आग्रह गरेका थिए । जस बट्लरले पनि उनलाई सन्न्यास फिर्ता लिन आग्रह गरेका थिए ।  

आगामी विश्वकपका लागि इङ्ल्यान्डले प्रारम्भिक टोलीको घोषणा भने गरिसकेको छैन । सेप्टेम्बरमा न्युजिल्यान्डविरुद्घ खेलिने चारवटा एकदिवसीय खेलको शृंखलाका लागि घोषित १५ सदस्यीय टोलीमा स्टोक्सलाई समावेश गरिएको छ । त्यसपछि विश्वकप टोलीमा पनि उनलाई स्थान दिइने छ ।  

इङ्ल्यान्डले आगामी सेप्टेम्बर ८ देखि १५ तारिखसम्म न्युजिल्यान्डसँग एकदिवसीय शृंखला खेल्ने कार्यक्रम रहेको छ । न्युजिल्यान्डविरुद्घको एकदिवसीय शृंखलाका लागि जस बट्लरको कप्तानीमा इङ्ल्यान्डको टोली घोषणा गरिएको छ । 

स्टोक्सले टेस्ट र टीट्वान्टी क्रिकेटबाट भने सन्न्यास लिएका थिएनन् । उनी इङ्ल्यान्डको टेस्ट टोलीको कप्तान पनि हुन् । हालै सम्पन्न इङ्ल्यान्डविरुद्घको परम्परागत एसेस टेस्ट शृंखलामा पनि उनले उत्कृष्ट ब्याटिङ गरेका थिए । 

अहिले पनि स्टोक्सको ब्याटिङ लयमा देखिन्छ । पाँच टेस्टको एसेस शृंखलामा उनले कूल चार सय पाँच रन बनाए । एक खेलमा उनले एक सय ५५ रन बनाएका थिए । एसेस शृंखलामा पनि उनले २९ ओभर बलिङ गरेर तीन विकेट पनि लिएका थिए । 

इङ्ल्यान्डलाई सन् २०१९ को एकदिवसीय विश्वकपको उपाधि चुमाउन पनि स्टोक्सले महत्वपूणर् योगदान गरेका थिए । त्यो विश्वकपको फाइनलमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई हराएको थियो । स्टोक्स उक्त विश्व कपको फाइनलमा म्यान अफ दी म्याच घोषित भएका थिए । उनले फाइनलमा अविजित ८४ रन बनाएका थिए । एकदिवसीय विश्वकपको १३औं संस्करण आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा आयोजना हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप