शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
अर्थ

के चीन नेपालमा बैंक ल्याउन चाहन्छ ?

बिहीबार, ३२ साउन २०८०, ११ : ५३
बिहीबार, ३२ साउन २०८०

काठमाडौं । पछिल्लो समय नेपालमा चिनियाँ बैंक आउन लागेको चर्चा चुलिएको छ । उदयमान शक्ति राष्ट्र चीनले विश्व बजारमा दरिलो आर्थिक उपस्थिति जनाइरहेका बेला नेपालमा आफ्नै बैंक खोल्ने तयारी गरिरहेको समाचार बाहिरिएका छन् ।

गत हप्ता राजधानीमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का प्रतिनिधिसँगको भेटका क्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले चीनले नेपालमा बैंक खोल्न चाहेको बताएपछि एकाएक बजार तरङ्गित हुन पुगेको हो ।

भारतपछि नेपाली उपभोग्य बजारमा राम्रो उपस्थिति जनाइरहेको चीनले बैंक नै खोलेर वित्तीय कारोबार गर्ने भएपछि यसको चर्चा वित्तीय परिधिमा चुलिएको छ । पछिल्लो समय चिनियाँ लगानीमा नेपालमा थुप्रै भौतिक निर्माणका परियोजनासमेत सञ्चालित छन् ।

राजदूत सोङ्गको भनाइ अनुसार अब चीन नेपालमा प्रत्यक्ष रुपमै वित्तीय उपस्थिति जनाउने गरी अघि बढिरहेको छ । नेपालमा चिनियाँ लगानीको बैंक खोल्नेबारे आवश्यक काम भइरहेको उनको भनाइ छ ।

तर, कुन मोडालिटीमा चीनले नेपालमा बैंकिङ्ग लगानी गर्न चाहिरहेको छ भन्नेबारे उनले स्पष्ट पारेका छैनन् । आधिकारिक रुपमा लाइसेन्स नै लिएर नेपालमा बैंक खोल्न लागिएको हो कि, चिनियाँ बैंकको कुनै शाखा नेपालमा विस्तार गर्ने हो वा नेपालमा हाल सञ्चालित कुनै बैंकको प्रमोटर (संस्थापक) सेयर खरिद गर्न चाहेको हो भन्ने खुलाइएको छैन ।

चिनियाँ बैंक आउँछ भने खुसीकै कुरा हो : डेपुटी गभर्नर मिश्र

केन्द्रीय बैंक ‘नेपाल राष्ट्र बैंक’ का डेपुटी गभर्नर बमबहादुर मिश्र यदि चिनियाँ बैंक नेपाल आउन चाहेको हो भने यो खुसीकै कुरा रहेको बताउँछन् ।

‘अहिलेसम्म चिनियाँ बैंक नेपाल आउने वा लगानी ल्याउने सम्बन्धमा केन्द्रीय बैंकलाई कुनै जानकारी छैन । बैंक खोल्नकै लागि कुनै अनुमति माग गरिएको छैन । लगानी प्रस्ताव गरेको पनि सुनिएको छैन,’ डेपुटी गभर्नर मिश्रले रातोपाटीसँग भने, ‘तर नेपालमा चिनियाँ बैंक आउँछ भने यो खुसीकै कुरा हो ।’

सरकारले उत्पादन वृद्धिका लागि औद्योगिक र कृषि क्षेत्रमा लगानी चाहिरहेका बेला नेपालको वित्तीय क्षेत्रमा आउने विदेशी लगानीले फाइदा नै हुने मिश्रको भनाइ छ ।

तर, यस्तो बैंकिङ क्षेत्रमा चीनले लगानी नै गर्नेगरी तयारी गरिरहेको भने आफूलाई जानकारीमा नरहेको उनले प्रस्ट पारे ।

हाल नेपाली बैंकमा रहेको प्रत्यक्ष विदेशी लगानी

हालसम्म नेपालका कुनै पनि बैंकमा चिनियाँ लगानी नभए पनि अन्य केही देशको भने प्रत्यक्ष लगानी रहँदै आएको छ । अर्को छिमेकी देश भारतसँगै पाकिस्तान र तेस्रो मुलुक बेलायतसम्मको लगानी नेपाली बैंकमा छ । एसबीआई बैंक र एभरेष्ट बैंकमा भारतको प्रत्यक्ष लगानी छ । नेपालमा रहेको एसबीआई बैंकमा भारतीय सरकारी बैंक एसबीआईको प्रत्यक्ष लगानी छ भने एभरेष्ट बैंकमा पञ्चाब नेशनल बैंकको २० प्रतिशत सेयर लगानी छ ।

यसैगरी नेपालको आकर्षक वाणिज्य बैंकहरु मध्येको अर्को हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत लगानी छ । तथापि, पछिल्लो समय हबिब हिमालयन बैंकको सेयर बेचेर एग्जिट (बाहिरिन) चाहेको बुझिएको छ ।

यसैगरी बेलायती लगानी रहेको स्ट्याण्डर्ड चाटर्ड बैंकमा १७ प्रतिशत विदेशी लगानी छ ।

नेपाल बंगलादेश बैंकसँग गत वर्षमात्र मर्जरमा गएको नबिल बैंकमा बंगलादेशको आइएफआईसी बैंकको करिब ७.७ प्रतिशत लगानी छ । नेपाल बंगलादेश बैंकमा यसअघि करिब ४० प्रतिशत रहेको सेयर स्वामित्व नबिलसँग मर्जरसँगै घट्न पुगेको हो ।

यसैगरी एनएमबी बैंकमा नेदरल्याण्डको डच डेभलपमेन्ट बैंकका तर्फबाट एफएमओको १३.६९ प्रतिशत लगानी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप