आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता सुरु, नेपाललाई दोहाेरो सफलता

शुक्रबार, ०१ भदौ २०८०, १७ : ३५
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौँमा सुरु भएको छ । कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरे । प्रतियोगिताको मिक्स टिम स्पर्धामा नेपाली खेलाडीले दोहोरो जित हात पारेका छन् । नेपालले यू–१५ र र यू–१७ स्पर्धामा विजयी सुरुआत गरेको हो । यू–१५ र यू–१७ दुवै स्पर्धामा नेपालले माल्दिभ्सलाई ५-० सेटमा हरायो । 

प्रतियोगितामा आयोजक राष्ट्र नेपालसहित श्रीलंका, पाकिस्तान, माल्दिभ्स, भुटान र बंगलादेशका खेलाडी सहभागी छन् । यू—१५ तर्फ नेपालका सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले माल्दिभ्सका फरुजन अहमद फलाह र हुसैन जुरी याल्भीको जोडीलाई २१–११, २१–६ अंकले हरायो । अर्को खेलमा रिहानाले अदिल मोहम्मद कियानलाई २१–९, २१–६ अंकले हराइन् । सुविनले फरुजनलाई २१–७, २१–८ अंकले पाखा लगाए । दिलाशा राना र रिहाना शेरचनको जोडीले अदिल मोहम्मद र हुसैन जुरीको जोडीलाई २१–८, २१–१० ले पराजित गर्‍यो । सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीले फरुजन र अहमद मम्दु इयानलाई २१–३, २१–८ अंकले पराजित गर्‍यो । 

यसैगरी यू— १७ तर्फ नेपालका कविर केसी। र रोजी राईको जोडीले माल्दिभ्सका अजहर मोहम्मद आयुब र ऐस्था जोया हुसैनको जोडीलाई २१–१, २१–४ ले हरायो । रोजी राईले ऐस्थालाई २१–१०, २१–८ अंकले पराजित गरिन् । कविरले अजहरलाई २१–७, २१–१० अंकले पाखा लगाए । 

अन्जिल लिम्बु र रोजी राईको जोडीले ऐस्था र मोहम्मद शरिफ सैयवको जोडीलाई २०–२२, २१–१८, २१–१० अंकले पराजित गर्‍यो । कविर केसी र अभय महराको जोडीले अजहर र युसुफ मुनाधी माथलुवको जोडीलाई २१–१५, २१–१५ अंकले हरायो । अन्य खेलमा बंगलादेशले यू—१५ तर्फको खेलमा भुटानलाई ५–० र यू—१७ तर्फको खेलमा माल्दिभ्स लाई ५–० सेटले पराजित गर्‍यो । श्रीलंकाले यू—१५ तर्फ माल्दिभ्सलाई ५० सेटले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप