आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रजतमै समेटियो नेपालका कविर र अभयको जोडी

मङ्गलबार, ०५ भदौ २०८०, १५ : ४६
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । नेपालका कविर केसी र अभय महराको जोडी काठमाडौँमा जारी ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपको यू—१७ पुरुष युगलतर्फ रजत पदकमै सीमित भएको छ । 

ब्याडमिन्टन एशियाको आयोजनामा भएको च्याम्पियनसिपको फाइनलमा कविर र अभयको जोडी बंगलादेशका रजोन मिया र एस. एम. सिफत उल्लाहसँग २१-११, २१-११ अंकले पराजित भयो । 

नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा भएको च्याम्पियनसिपको यू—१७ को पुरुष एकलतर्फ पनि बंगलादेशका एस. एम. सिफत उल्लाहले स्वर्ण पदक हात पारे । पुरुष युगलमा स्वर्ण जितेका उल्लाहले एकलतर्फको फाइनलमा श्रीलंकाका थिदासा वेरागोडालाई २१-१६, १२-२१, २१-१७ अंकले पराजित गरे । 

यसैगरी महिला एकलतर्फ श्रीलंकाकी रनिथमा लियांगेले स्वर्ण पदक जितिन् । उनले आफ्नै देशकी रनुमी मनागेलाई २१-६, २१-८ अंकले हराइन् । महिला युगलतर्फ पनि रनिथमाले रनुमी मनागेसँग मिलेर अर्को स्वर्ण पदक जितिन् । उक्त जोडीले फाइनलमा मालदिभ्सका ऐसत जोया हुसैन र मोहम्मद सरिफ सैबाको जोडीलाई २१-६, २१-६ अंकले हरायो ।

यसैगरी मिक्स डबल्सतर्फ श्रीलंकाका थिदासा वेरागोडा र रनिथमा लियांगेको जोडी पहिलो भयो । उक्त जोडीले फाइनलमा आफ्नै देशका हिरुका अलुथ पतबेदांगे र रनुमी मनागेको जोडीलाई २१-१४, २१-१६ अंकले पराजित गर्दै स्वर्ण पदक हात पारेको हो ।

सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा भएको च्याम्पियनसिपको यू—१५ तर्फ महिलाको एकलमा श्रीलंकाकी नेथमी रत्नायकले श्रीलंकाकै सिथुली रनसिंघलाई २१-१३, २१-१० अंकले पराजित गर्दै उपाधि हात पारिन् । नेथमीले मिक्स डबल्स स्पर्धामा पनि सेनुथ सेथमिता पेरेरासँग मिलेर स्वर्ण जितिन् । उक्त जोडीले फाइनलमा आफ्नै देशका केनिथ अरुगोडा र सिथुली सनसिंघाको जोडीलाई २२-२०, २१-१२ अंकले पराजित गर्‍यो । 

यसैगरी पुरुषतर्फ बंगलादेशका वाली उल्लाहले बंगलादेशकै मोस्तकीम होसेनलाई २१-१५, २१-१५ अंकको समान अन्तरले पराजित गर्दै स्वर्ण हात पारे । मिक्स डबल्स स्पर्धामा स्वर्ण जितेका सेनुथ सेथमिता पेरेराले पुरुष युगलतर्फ पनि केनिथ अरुगोडासँग मिलेर बंगलादेशका मोस्तकीम होसेन र वाली उल्लाहलाई २१-१५, १९-२१, २३-२१ अंकले हराउँदै दोश्रो स्वर्ण चुमे । 

यसैगरी महिला युगलतर्फ श्रलंकाका सिथुली रनसिंघ र नेथिम रत्नायकेको जोडीले स्वर्ण पदक जित्यो । उक्त जोडीले फाइनलमा नेपालका दिलाशा राना र रिहाना शेरचनको जोडीलाई २१-१२, २१-४ अंकले पराजित गर्दै स्वर्ण हात पारेको हो । श्रीलंकाले च्याम्पियनसिपमा मिक्स टिम इभेन्ट्सको दुईसहित कुल नौवटा स्वर्ण पदक जित्यो । 

बंगलादेशले तीनवटा स्वर्ण पदक हात पार्‍यो । विजयी खेलाडीलाई ब्याडमिन्टन एशियाका डेभलपमेन्ट चेयर वाजिद अली चौधरी, नेपाल ब्याडमिन्टन संघ तदर्थ समितिका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी बलका अतिरि सशस्त्र प्रहरी महानिरीक्षक चन्द्रप्रकास गौतमलगायतले पुरस्कार वितरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप