आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
अदालत

वकिलको ‘मोडस ओपरेण्डी’ : हवसका लागि विवाह, मन भरिएपछि गलहत्याउने नीति !

आफ्नै श्रीमतीलाई घरनिकाला गर्न तयार पारे नक्कली श्रीमान
बिहीबार, १४ भदौ २०८०, ११ : २२
बिहीबार, १४ भदौ २०८०

काठमाडौंबाट करिब ४५ मिनेटको सवारीसाधनको यात्रामा पुगिने धादिङको क्षत्रेदेउरालीमा भूकम्पपछि निर्माण भएको एक तले घर छ । घरमा छन् ७३ वर्षीय गंगा थापा र ६८ वर्षीय कृष्णबहादुर थापा । वृद्ध उमेरका यी दुई जना श्रीमान–श्रीमती हुन् ।

मंगलबार रातोपाटीको टोली कृष्णबहादुर थापालाई खोज्दै उनको घरमा पुगेको थियो । सानो जङ्गलको नजिकै पाखामा घर बनाएर बसेका कृष्णबहादुरलाई खोज्नुको कारण थियो– काठमाडौं जिल्ला अदालतमा उनको नामबाट दर्ता भएको एउटा नाता कायमको मुद्दा ।

२०७९ साउन २२ गते नाता कायमका लागि उनकै नामबाट मुद्दा दर्ता भएको थियो । अरु कसैको श्रीमतीसँग नाता कायम गरिपाउँ भन्दै अदालतमा निवेदन दर्ता भएको थियो ।

Krishna Bahadur Thapa (2)

हो, कृष्णबहादुर थापा तिनै व्यक्ति थिए जसले काठमाडौंको गोंगबुनिवासी ४६ वर्षीय समता केसी (नाम परिवर्तन)सँग नाता कायम गरिपाउँ भन्दै काठमाडौं जिल्ला अदालतमा फिरादपत्र दायर गरेका थिए । फिरादपत्र दायर गर्ने क्रममा भने कृष्णबहादुर थापा अदालतमा पुगेनन्, उनको तर्फबाट मिनप्रसाद गजुरेल नाम गरेका व्यक्ति वारेस बनेर अदालतमा पुगे ।

पहिले कृष्णको नामबाट दर्ता भएको फिरादपत्रमा भएको केही विवरण हेरौं ।

12

‘कानुनी हैसियत नाता कायम यकिन गरिपाउँ’ भन्दै दायर भएको मुद्दाको फिरादपत्रमा समता केसीसँग २०७३ मंसिर ५ गते तिलगंगा आँखा अस्पताल एरियामा चिया पसलमा भेटघाट भएको दाबी गरिएको छ । उक्त भेटघाटपछि आफूहरुबिच सामिप्यता बढेको, चिनजान भएको दुई महिनापछि माया प्रेममा रहेको र त्यसपछि ‘लिभ इन रिलेसन’मा रहेको दाबी गरियो ।

‘लिभ इन रिलेसन’पछि समता आफ्नो कोठामा आएको समयमा छिमेकीहरुले थाहा पाएको र अब यसरी नबसौं, विवाह गरौं भन्दा समताले इष्टमित्रसँग कुरा गर्छु भनेकीमा २०७८ चैत २० गते अब सम्बन्ध टुटाउन चाहेको बताइन् भन्ने उल्लेख छ । तर आफूहरुबिच अन्तरङ्ग सम्बन्ध रहेको र पछि पत्नी मान्नुपर्ने हो कि होइन, कानुनी हैसियत के हुने हो स्पष्ट पारिदिनका लागि भन्दै निवेदन दर्ता भयो ।

उक्त फिरादपत्रपछि काठमाडौं जिल्ला अदालतले साक्षी बकपत्र गराएको छ भने वारेसमार्फत् नै वादी कृष्णबहादुर थापालाई अदालतमा झिकाउन भनेको थियो । प्रतिवादी बनाइएकी समता केसीको तर्फबाट प्रतिउत्तर पनि दर्ता भइसकेको थियो ।

काठमाडौं जिल्ला अदालतले वारेसमार्फत् नै वादीलाई झिकाउन २०७९ माघ २४ गते आदेश गरेकामा वारेस मिनप्रसाद गजुरेलले २०७९ चैत १ गते अदालतमा निवेदन दिँदै वादी कृष्णबहादुर थापा हाल नेपालमा नरहेको भन्ने जानकारी पाएको र निजको परिवारसँग कुराकानी गर्दा रोजगारीका लागि भारत गएको र कहिले फर्किने भन्ने यकिन नभएको भन्दै निवेदन दिइएको छ ।

4

तर वारेस मिनप्रसाद गजुरेलले रोजगारीका लागि भारत गएको भने पनि कृष्णबहादुर थापा भने आफ्नै घरमा भेटिए । रातोपाटीको टिम धादिङको छत्रेदेउरालीमा रहेको उनको घरमा पुग्दा कृष्णबहादुर थापा उनकी पत्नीसँग घरमै थिए । हामीले आफूहरु पत्रकार रहेको र काठमाडौं जिल्ला अदालतमा दर्ता भएको नाता कायमको मुद्दाबारे कुराकानी गर्न आएको भन्दै कुराकानी गर्दा कृष्ण आफैँ अचम्ममा परे ।

आफ्नो त घरमा श्रीमती रहेको, समता केसीलाई नचिनेको, अदालतमा त्यस्तो मुद्दा पनि नहालेको भन्दै उनले अनभिज्ञता देखाए । उनको तर्फबाट वारेस बसेको भनिएका व्यक्ति मिनप्रसाद गजुरेललाई पनि नचिनेको जवाफ दिए ।

Krishna Bahadur Thapa (7)

कुराकानीकै क्रममा कृष्णले आफूले चिनजानका व्यक्ति भोजबहादुर केसीले आफ्नी श्रीमती पोइला गएको कारण कानुनी प्रक्रिया पूरा गर्न श्रीमतीको नाम हटाउन लागेकाले साक्षी बसिदिन भनेर आग्रह गरेको कारण कुनै कागजमा हस्ताक्षर गरेर साक्षीसम्म बसेको बताए ।

थापा भन्छन्– त्यो वकिल त फटाहा पो रहेछ

धादिङस्थित उनको घरमा पुग्दा निधारमा रातो टिका, कालो विनसिटर र हाफ पाइन्ट लगाएर बसिरहेको अवस्थामा भेटिए कृष्ण । केही समयको अनौपचारिक कुराकानीसँगै उनी भिडियोमै कुराकानी गर्न तयार भए ।

घरमा श्रीमती हुनुहुँदो रहेछ, फेरि अर्की महिलासँग नाता कायमको मुद्दा दर्ता गर्नुभएको रहेछ के हो ?

कहाँ त्यस्तो मुद्दा दिनु ? त्यस्तो मुद्दा दिएकै छैन । मेरो त घरमा श्रीमती छिन्, यिनीबाहेक अरु कोही छैन, मैले त्यस्तो मुद्दा दिएको छैन ।

अनि .... भन्ने महिलासँग नाता कायमको मुद्दा दर्ता भएको रहेछ त मिनप्रसाद गजुरेल भन्ने व्यक्तिलाई वारेस पठाएर, के हो ?

छैन, छैन । मैले त्यस्तो गरेकै छैन । मैले त त्यो महिलालाई चिनेको पनि छैन । अब चिन्दै नचिनेको व्यक्तिलाई कहाँ श्रीमती हो भन्नु नि !

त्यसोभए कसरी त्यस्तो मुद्दा दर्ता भयो त ?

खै मलाई त भोजबहादुर केसी भन्ने व्यक्तिले मेरो श्रीमती पोइला गई, कागजी प्रक्रिया पूरा गर्नुपर्यो, साक्षी बसिदिनुस् भनेकाले साक्षीमात्रै बसिदिएको हो । उसैले कागजात तयार पारेर ल्याएको थियो । साक्षी बसिदिनुस् भनेकाले साक्षीमात्रै बसिदिएको थिएँ, तर त्यस्तो कागज हो भन्ने त मलाई थाहा नै थिएन ।

तपाईं पढ्न र लेख्न जान्नुहुन्छ कि जान्नुहुँदैन ?

मैले पढ्न र लेख्न जानेको छैन । त्यो कागजमा मैले केही नपढी हस्ताक्षर गरिदिएको हो ।

हस्ताक्षर गरेपछि त्यो कागज कसलाई दिनुभयो त ?

त्यो कागज त सबै भोजबहादुरलाई नै दिएको हो ।

भोजबहादुर केसीलाई कसरी चिन्नुभएको हो ?

त्यो मेरो नातिनीको 'बर्थ डे'मा आएको थियो, त्यतिबेला नै चिनजान भएको हो । त्यो पनि आफन्तको आफन्त रहेछ, त्यही भएर चिनजान भएको हो । त्यसबाहेक अरु कुनै चिनजान छैन ।

तपाईं  अदालतमा नगए पक्राउ गरेर पनि लैजान सक्छ, अब के गर्नुहुन्छ त ?

होइन, मलाई खबर नै आएको छैन । मलाई त्यस्तो मुद्दा छ भन्ने पनि थाहा छैन । अदालतले बोलाएको समयमा उपस्थित हुन्छु र साँचो कुरा जे हो, त्यही भनिदिन्छु । मलाई कुनै डर छैन । बिराएको भए पो डराउनु, केही बिराएको छैन भने किन डराउनु ?

तपाईंलाई थाहा छ, त्यो महिला त अहिले पनि भोजबहादुर केसीकै श्रीमती हो नि ?

लौ, हो र ? मलाई त पोइला गइसकेकी हो भनेको थियो । त्यही भएर साक्षी बसिदिनुस् भनेको थियो । त्यो त फटाहा मान्छे रहेछ । वकिल हुँ भन्थ्यो, तर फटाहा वकिल पो रहेछ ।

हेर्नुहोस्, कृष्णबहादुर थापासँगको कुराकानीको भिडियो

कृष्णबहादुर थापासँगै हामीले उनको श्रीमती गंगा थापासँग पनि कुरा गर्यौँ । गंगाले आफ्नो श्रीमान काठमाडौंमा डेरा गरेर नबसेको बताइन् । आफूसँगै बसिरहेको र त्यस्तो केही थाहा नभएको गंगाको भनाइ छ ।

भोजबहादुरले किन गरे आफ्नै श्रीमतीविरुद्ध यस्तो हर्कत ?

नुवाकोट स्थायी ठेगाना भएका भोजबहादुर केसी अधिवक्ताको लाइसेन्स लिएर बसेका वकिल हुन् । यद्यपि उनले वकालत पेसा भने खासै गरेका छैनन् । अभिवक्ताबाट परीक्षा दिएर उनी अधिवक्ता बनेका हुन् । कानुनको विषय र छिद्र खोज्नमा माहिर भोजबहादुरले सम्पत्तिबाट बेदखल गर्न आफ्नै श्रीमतीलाई अरु कसैको श्रीमती हो भनेर पुष्टी गराउन डमी व्यक्ति तयार पारेर अदालतमा मुद्दा हाल्न लगाएका थिए ।

समता थिइन् भोजबहादुरकी श्रीमती

अधिवक्ता भोजबहादुर केसीले डमी व्यक्ति तयार पारेर जुन महिलाविरुद्ध नाता कायमको मुद्दा हाल्न लगाएका थिए, ती महिला अरु कोही नभएर भोजबहादुरकै श्रीमती समता केसी (नाम परिवर्तन) थिइन् ।

भोजबहादुर केसीको पहिलो पत्नीको निधन भएपछि उनले पत्रिकामा विज्ञापन नै गरेर श्रीमतीको रुपमा महिलाको खोजी गरेका थिए । त्यतिबेला उनले विज्ञापन दिने क्रममा लेखेका थिए, ‘चालिसदेखि बयालिससम्मको ग्राजुयट कन्या, विधवा, डिभोर्सी, क्षेत्री वधु चाहियो । काठमाडौंबासी अधवैंशे अरबपतिलाई ।’

Bihabari Bigyapan Closeup 01

त्यतिबेला उनले आफ्नो सम्पर्क नम्बर ९८६०१६८८७७ राखेका थिए र इमेल ठेगानामा [email protected] उल्लेख गरेका थिए । नेपाल टेलिकमसँग सम्पर्क राखी उक्त नम्बर भेरिफाई गर्दा उक्त सिमकार्ड भोजबहादुर केसीकै नाममा रहेको र हाल रिचार्ज नगरेको कारण नचलेको पाइएको छ ।

... अनि जोडिइन् समता

श्रीमानको मृत्यु भएपछि एकल जीवन बिताइरहेकी समतालाई घर र माइती दुबै तर्फबाट अर्को विवाह गर्न दबाब आइरहेको थियो । विवाह गरे पनि छोरीलाई हुर्काएपछि मात्रै विवाह गर्ने भनेर बसिरहेकी समतालाई आफन्तले नै विज्ञापन देखाए । सुरुमा आफन्तले नै विज्ञापनमा भएको नम्बरमा सम्पर्क गरेर कुराकानी गरे । त्यसपछि ती व्यक्तिले वधुसँग नै कुरा गर्ने भनेपछि समता आफैँले दिएको नम्बरमा कुरा गरिन् ।

सुरुमा उक्त नम्बरमा कुराकानी गर्ने व्यक्तिले आफू पुरेत भएको र एक अधवैंशे उमेरका व्यक्तिलाई वधु चाहिएको बताए । विवाह गर्न चाहने व्यक्तिको उमेर ५२ वर्ष भएको बताइयो । केही समयको कुराकानीपछि ती व्यक्तिले दुलाहा आफैँ भएको बताए । आफ्नो नाम भोजबहादुर केसी भएको र आफ्नो उमेर ५३ वर्ष भएको उनले बताए ।

बुढेसकालमा साथी चाहिन्छ भनेर समता पनि भोजबहादुरसँग विवाह गर्न तयार भइन् । भोजबहादुरले आफ्ना दुई छोरी र एक छोरा भएको भन्दै दुई छोरीहरु अमेरिकामा रहेको र छोरा पनि अमेरिका जान लागेको बताए । छोरा अमेरिका जानुभन्दा पहिले फ्ल्याटमा लिभिङ टुगेदर बस्ने र छोरा अमेरिका गएलगत्तै घरमा लैजाने उनले बताए । त्यसपछि भोजबहादुरले ती महिलालाई माइतीघरबाट निकालेर एउटा फ्ल्याटमा राखे ।

तर भोजबहादुरले भनेको समयमा न छोरा अमेरिका गए, न त समतालाई श्रीमती बनाएर घरमा भित्र्याए । लिभिङमा मात्रै बस्न खोजेपछि समताले आफू यसरी नबस्ने भन्दै औपचारिक रुपमा विवाह गरेर घर लैजान भनिन् । तर भोजबहादुरले बहाना मात्रै बनाएपछि समताले आफू त्यसरी नबस्ने भन्दै माइत गइन् । अनिमात्रै भोजबहादुरले समतासँग विवाह भएको भन्दै विवाह दर्ता गरिदिन तयार भए र कामनपा–१६ बाट विवाह दर्ता गराइदिए । यद्यपि घरमा भने अझै लगेनन् ।

सुरुमा छोराको उमेर पुगेका कारण अप्ठ्यारो हुने भन्दै घरमा नलगेका भोजबहादुरले पछि भने समतालाई घरमै लगे । तर जब समतालाई घरमा लगे, तब घरमा तनाब हुन थाल्यो । समतालाई किचनमा जान नदिने र एउठा कोठामा बन्दीजस्तै बनाइयो । अनि सानो सानो कुरामा झगडा गर्न थाले । भोजबहादुरकी बहिनी, छोराछोरी सबैले रिस गरेपछि समता उक्त घरमा बस्न सकिनन् र भोजबहादुरकै गोदाम घरमा गएर बसिन् । सुरुसुरुमा भोजबहादुर पनि त्यहीँ गएर बस्थे ।

विवाह गरेको करिब ३ वर्ष भएपछि भोजबहादुरले समतासँग निहुँ खोज्न थाले । सुरुवाती चरणमा खर्च दिन बन्द गरेका भोजबहादुरले समता आफैँलाई कमाउन जान दबाब दिए । समतालाई पठाओ चलाउनसमेत दबाब दिन थाले, जतिबेला समताको उमेर ४५ वर्ष भइसकेको थियो । कमाउन नगए खान नदिने धम्कीसमेत दिन थालियो । समता भने आफ्नी भाइबुहारीको पसलमा काम गर्न थालिन् ।

जब समता आफ्नी भाइ बुहारीकोमा गएर काम गर्न थालिन्, तब सुरु भयो थप दबाब र तनाब । कहाँ गइस्, किन गइस्, कसलाई भेटेर आइस् जस्ता कुराहरुले टर्चर दिन थालियो । तर पनि समता चुपचाप नै बसिरहिन् ।

तर एक वर्ष अगाडि एकाएक समताविरुद्ध माथि उल्लेख गरिएकै कृष्णबहादुर थापाको नामबाट नाता कायमका लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भयो । समताले यो कुरा अदालतबाट मोबाइलमा फोन आएर तारेख पर्चा लिन आउन बोलाएपछि मात्रै थाहा पाइन् ।

समतालाई न कृष्णबहादुर थापा भन्ने व्यक्तिको बारेमा जानकारी थियो, न ती व्यक्तिसँग कहीँ कतै भेट गरेकी थिइन् । तर चिन्दै नचिनेको र भेट्दै नभेटेको व्यक्तिले एकाएक पत्नीको नाता कायमका लागि फिराद दिएपछि मात्रै समतालाई थाहा भयो । त्यसको प्रतिउत्तरमा आफूले कृष्णबहादुर थापा भन्ने व्यक्तिसँग कहिल्यै नभेटेको र आफूले नचिनेको जवाफ दिइन् ।

तर समतामाथि त्यसपछि झनै बढी टर्चर सुरु भयो । श्रीमान भोजबहादुर केसीले समताका आफन्तहरुलाई त्यही फिरादपत्र पठाउन थाले । अनि समतालाई कृष्णबहादुर थापाकी श्रीमती भनेर चरित्रहत्या गर्न थाले । सामाजिक सञ्जाल, समताका आफन्त, समताका छोरी सबैलाई उक्त म्यासेज पठाएर चरित्रहत्या गर्न थाले । जबकि डमी व्यक्ति तयार पारेर आफ्नै श्रीमतीलाई अरु कसैसँग सम्बन्ध भएको भन्दै फिरादपत्र हाल्न लगाउने व्यक्ति उनै भोजबहादुर केसी थिए ।

उनैले कृष्णबहादुर थापालाई श्रीमती पोइला गएको कारण साक्षी बस्न भन्दै कागजमा हस्ताक्षर गर्न लगाएर अदालतमा नाता कायमको मुद्दा दायर गर्न लगाएका थिए ।

उक्त मुद्दामा वारेस बसेका मिनप्रसाद गजुरेल पनि भोजबहादुरले नै खटाएका व्यक्ति थिए । पछि त्यही नाता कायमको मुद्दाको आधारमा भोजबहादुरले श्रीमती अरु कोहीसँग पोइला गएको भन्दै श्रीमतीको नाताबाट हटाउन र सम्पत्तिबाट बेदखल गर्न अदालतमा निवेदन दिएका थिए ।

samata-kcccccc

भोजबहादुरकी श्रीमती समता केसीले रातोपाटीसँग भनिन्, ‘मेरो जीन्दगी राम्रैसँग चलिरहेको थियो । तर जब भोजबहादुरसँग विवाह गरे, तब कहिल्यै शान्ति छैन । हुँदाहुँदा आफ्नै श्रीमतीविरुद्ध नक्कली मान्छे खडा गरेर नाता कायमसम्मको मुद्दा हाल्न लगाएछ । अहिले त त्यही मुद्दाका आधारमा मसँग सम्बन्धविच्छेदको मुद्दा पनि दर्ता गराएको छ ।’

वारेस रहेका मिनप्रसाद भन्छन्– कृष्ण थापालाई चिन्दिन, भोज बहादुरले भनेअनुसार गरेको हो

समतासँग नाता कायमका लागि फिरादपत्र दिने कृष्णबहादुर थापाको वारेस बसेका नुवाकोटकै मिनप्रसाद गजुरेलले पनि कृष्णबहादुर थापालाई नचिन्ने बताए । आफू पहिलेदेखि नै अधिवक्ता भोजबहादुर केसीसँग काम गर्ने गरेका कारण भोजबहादुर केसीले नै तयार पारेको कागजात अदालतमा गएर दर्ता गरिदिएको बताए ।

कृष्णबहादुर थापा किन नेपालमा छैनन् भनेर निवेदन दिनु भएको भनी सोध्दा उनले अप्ठ्यारो परेकाले त्यस्तो निवेदन दिएको बताए । रातोपाटीसँग मिनप्रसादले भने, ‘भोजबहादुर अपराधी नै रहेछ । समता मेरी छोरी उमेरकी नानी हो, उसलाई त्यस्तो दुःख दिएको रहेछ । मैले त पहिले नै मिल्नुहोस् भनिसकेको छु ।’

समतामात्रै होइन, अर्की महिलालाई पनि दिएका थिए धोका

अपराध र न्याय सम्पादनमा दुई शब्दको एउटा वाक्य छ ‘मोडस ओपरेण्डी’ । ल्याटिन भाषाबाट आएको ‘मोडस ओपरेण्डी’को अर्थ हुन्छ कामको तौरतरिका । अपराध र न्यायक्षेत्रमा यसको अर्थ अपराधको तौरतरिका भन्ने अर्थ लाग्छ । अधिवक्ता भोजबहादुर केसीको ‘मोडस ओपरेण्डी’ भने अचम्मको छ ।

पत्रिकामा विज्ञापन गरेर श्रीमती खोज्ने, डेढ दुई वर्ष बस्ने, यौन शोषण गर्ने, अनि लाञ्छना लगाएर निकाल्ने । निश्चित समय श्रीमती बनाएर राख्ने अनि मन भरिएपछि लाञ्छना लगाउँदै गलहत्याएर निकाल्ने ।

समतामात्रै होइन, अन्य दुई महिलालाई पनि भोजबहादुर केसीले त्यसै गरेका छन् । ढुङ्गेअड्डा काठमाडौंकी नम्रता शर्मा र चितवनकी पूर्णिमा खत्रीलाई पनि भोजबहादुरले त्यस्तै व्यवहार गरेका हुन् । नम्रता शर्माको सम्बन्धमा रातोपाटीले यसअघि नै समाचार प्रकाशन गरिसकेको छ भने पूर्णिमाले समाचारमा आउन अस्वीकार गरेकी छन् ।

हेर्नुहोस्, नम्रता शर्मासँग सम्बन्धित समाचार

श्रीमतीको रुपमा समता केसी घरमा हुँदाहुँदै भोजबहादुरले पत्रिकामा विज्ञापन गरेर नम्रता शर्मासँग ‘लिभिङ टुगेदर’मा बसेका थिए । २०७६ सालमा भोजबहादुरले पत्रिकामा विज्ञापन दिएरै नम्रतासँग जोडिएका थिए । त्यसको जानकारी २०८० सालको असार महिनामा मात्रै नम्रतालाई भएको थियो ।

समता र नम्रतासँग सम्बन्ध हुँदाहुँदै चितवनकी पूर्णिमा खत्रीसँग पनि भोजबहादुरको सम्बन्ध रहेको केही तथ्य रातोपाटीले प्राप्त गरेको छ । यद्यपि पूर्णिमाले भने पहिलेको कुरा भन्दै त्यस विषयमा थप कुरा गर्न अस्वीकार गरिन् ।

बलात्कारको कसुरमा केसीमाथि पक्राउ पुर्जी, पक्राउ गर्न प्रहरी पुगेपछि बेहोस भएको नाटक

भोजबहादुर केसीविरुद्ध एक महिलाले प्रहरी वृत्त थानकोटमा बलात्कारको जाहेरी दिएकी थिइन् । जाहेरीपछि अदालतबाट पक्राउ पुर्जी लिई अनुसन्धानका लागि प्रहरी भोजबहादुरको घरमा पुगेको थियो । पक्राउका लागि प्रहरी घरमै आइपुगेपछि भोजबहादुरले बेहोस् भएको नाटक गर्दै सुरुमा मनमोहन मुटुरोग अस्पताल गएका थिए ।

त्यहाँ तीन दिन बसेपछि प्रहरीले स्वास्थ्य अवस्था र के कस्तो उपचार गर्नुपर्ने हो भनी पत्र काटेपछि अस्पतालले रिफर गर्ने तयारी गरेको थियो । पक्राउ पर्ने डरले त्यसपछि होहल्ला गर्दै उनले मानसिक रोगीको नाटक गरेका थिए । प्रहरीले मानसिक अस्पतालमा समेत भोजबहादुरको उपचारपछि बुझाइदिनु भनेर पत्र दिएको छ भने अस्पताल परिसरमै प्रहरीलाई खटाइएको छ ।

बरु आफू अस्पतालमै भएको समयमा अधिवक्ता भोजबहादुर केसीले कानुनी छिद्रको प्रयोग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । भदौ १ गते दर्ता भएको केसीको रिट भदौ ३ गतेको पेसीमा चढ्दा जाहेरवालीसमेतको नाममा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो ।

त्यसपछि भदौ १२ गतेको पेसीमा चढेको उक्त रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएको छ । यद्यपि प्रहरीले पक्राउ नै गर्न नपाएको कारण अनुसन्धान सुरु नै भएको छैन र जाहेरी र पक्राउ पूर्जी बाहेक अरु कागजात नभएको प्रहरीको दाबी छ ।

अधिवक्ता भोजबहादुर केसीले बिरामी, उमेर धेरै भएको आदि कारण देखाएर बलात्कारजस्तो जघन्य कसुरमा पनि अनुसन्धान नै गर्न नदिने गरी बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । सो रिटमा अदालतले पनि अनुसन्धान नै सुरु नभएको घटनामा ‘मिसिल झिकाउने’ आदेश गरेको छ ।

मानसिक रोगी भन्दै मानसिक अस्पतालमा उपचारको बहानामा पक्राउ पर्नबाट जोगिएका अधिवक्ता केसी मंगलबार इजलासमै पुगेर बेहोस बनेको नाटकसमेत गर्न भ्याएका थिए । इजलासलाई ‘इमोसनल ब्ल्याकमेल’ गरेपछि इजलासले मिसिल झिकाउने आदेश जारी गरेको छ ।

(यस समाचारका लागि हामी धादिङको क्षत्रेदेउराली पुगी कृष्णबहादुर थापासँग भेट गरेका छौँ । त्यसबाहेक मिनप्रसाद गजुरेल, समता केसी, पूर्णिमा खत्री, काठमाडौं जिल्ला अदालत, नेपाल टेलिकमसँग कुराकानी गरेका छौँ । कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित विवाहको विज्ञापन खोज्न कान्तिपुरको तीनकुनेस्थित लाइब्रेरीमा पुगेर भेरिफाई गरेका छौँ । भोजबहादुर केसीसँग भने सम्पर्क हुन सकेन । –सम्वाददाता)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप