बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
टी–२० विश्वकप २०२६

पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता

बिहीबार, ०४ असार २०८३, २० : ३९
बिहीबार, ०४ असार २०८३

सारांश

  • बीबीसी स्पोर्टका विज्ञहरूले प्रतियोगितामा सहभागी सबै ४८ टोलीहरूको पहिलो खेल हेरेपछि वरीयता सार्वजनिक गरेका छन् ।
  • फ्रान्स शीर्ष स्थानमा छ, त्यसपछि इङ्ग्ल्यान्ड र अर्जेन्टिना क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
  • जर्मनी चौथो र अमेरिका पाँचौं स्थानमा रहँदा कुरासाओ सूचीको अन्तिम ४८औँ स्थानमा छ ।

अर्जेन्टिनाले आफ्नो विश्वकप उपाधि रक्षा अभियान प्रभावशाली जितसँगै सुरु गर्‍यो । तर बीबीसी स्पोर्टका विज्ञहरूका अनुसार उनीहरू हालसम्म खेलिएका खेलका आधारमा यस विश्वकपको उत्कृष्ट टोली भने होइनन् ।

हामीले पत्रकारहरूको एउटा सानो टोलीलाई एकसाथ ल्याएका छौँ, जसले मिलेर प्रतियोगितामा सहभागी सबै टोलीहरूको पहिलो खेल हेरेका छन् । र उनीहरूले प्रतियोगिताका सबै ४८ टोलीलाई पहिलोदेखि अन्तिमसम्म वरीयतामा राखेका छन् ।

के तपाईंलाई उनीहरूको निर्णय सही लाग्छ ? 

१–१० सम्मका राष्ट्रहरू

१. फ्रान्स

समूह आई । सेनेगललाई ३–१ ले हरायो । दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्दै प्रतियोगिताअघिको अपेक्षाअनुसार खेल्यो । प्रत्येक स्थानमा बलियो । उपाधिका योग्य प्रमुख दाबेदार ।

२. इङ्ग्ल्यान्ड

समूह एल । क्रोएसियालाई ४–२ ले हरायो । चार गोल गर्‍यो । अझ उत्कृष्ट गर्न सक्थ्यो । ह्यारी केनको नेतृत्वमा शानदार र आक्रमणात्मक प्रदर्शन । रक्षापङ्क्तिमा भने केही चिन्ता ।

३. अर्जेन्टिना 

समूह जी । अल्जेरियालाई ३–० ले हरायो । उनीहरूसँग लियोनल मेसी छन् र उनको उपस्थिति तथा प्रतिभाले टोलीको मनोबल उच्च छ । शीर्ष तीनमा पर्न यही नै पर्याप्त छ ।

४. जर्मनी

समूह ई । कुरासाओलाई ७–१ ले हरायो । आफ्नो पहिलो खेलमै सात गोल गर्ने टोलीलाई बेवास्ता गर्न सकिँदैन चाहे विपक्षीको स्तर जस्तोसुकै किन नहोस् । 

५. अमेरिका

समूह डी । पाराग्वेलाई ४–१ ले हरायो । शीर्ष पाँचमा परेको आश्चर्यजनक टोली । उत्कृष्ट प्रदर्शन गर्दै पाराग्वेलाई ध्वस्त पार्‍यो र घरेलु समर्थकहरूको साथ पनि उनीहरूसँग छ । 

६. नर्वे

समूह आई । इराकलाई ४–१ ले हरायो ।

एर्लिङ हालान्डलाई केन्द्रमा राखेर निर्माण गरिएको टोली, जसले उनको क्षमताअनुसार खेल्ने प्रबनध मिलाइको छ ।

७. कोलम्बिया

समूह के । उज्बेकिस्तानलाई ३–१ ले हरायो ।

शक्तिशाली, तीव्र र लुइस डियाजको चमकले भरिएको टोली । कोलम्बियाले धेरै टोलीलाई समस्यामा पार्नेछ ।

८. मोरक्को

समूह सी । ब्राजिलसँग १–१ को बराबरी ।

पहिलो २० मिनेटमा ब्राजिललाई दबाबमा पार्ने जस्तो देखियो । त्यसपछि दोस्रो हाफमा बराबरीमै सन्तुष्ट देखियो । अझ धेरै क्षमता देखाउन सक्छ ।

९. ब्राजिल

समूह सी । मोरक्कोसँग १–१ को बराबरी ।

कमजोर सुरुआतले यो पुरानो ब्राजिल हो कि भन्ने प्रश्न उठायो । तर अनुभवी टोलीले हार मान्न अस्वीकार गर्‍यो ।

१०. स्विडेन

समूह एफ । ट्युनिसियालाई ५–१ ले हरायो ।

प्रिमियर लिगका दुई घातक स्ट्राइकर र गोल गर्ने क्षमता भएको मिडफिल्ड उनीहरूसँग छ ।

११–२० सम्मका राष्ट्र

११. अस्ट्रेलिया

समूह डी । टर्कीलाई २–० ले हरायो ।

तीव्र गतिको प्रदर्शनले तुलनात्मक रुपमा बलियो मानिएको टर्कीलाई सहजै पराजित गर्‍यो ।

१२. स्पेन

समूह एच । केप भर्डेसँग ०–० को बराबरी ।

हालसम्मको प्रतियोगिताकै सबैभन्दा ठूलो झट्का । तर जित्न पर्याप्त अवसर सिर्जना गरेको थियो । अझै धेरै टाढासम्म पुग्ने सम्भावना छ । 

१३. नेदरल्यान्ड्स

समूह एफ । जापानसँग २–२ को बराबरी ।

जापानविरुद्धको खेल सहज जित्नुपर्ने थियो । रक्षात्मक कमजोरी नभएको भए अझ माथि पर्थ्यो ।

१४. मेक्सिको

समूह ए । दक्षिण अफ्रिकालाई २–० ले हरायो ।

कमजोर दक्षिण अफ्रिकी टोलीभन्दा निकै माथिल्लो स्तरमा देखियो । तर सेसर मोन्टेसको अन्तिम समयमा रातो कार्ड पाउनु ठूलो धक्का रह्यो ।

१५. जापान

समूह एफ। नेदरल्यान्ड्ससँग २–२ को बराबरी ।

हारको मुखबाट बराबरी निकाल्दै प्रभावशाली संघर्ष गर्‍यो । तर सधैँको ‘डार्क हर्स’ टोलीबाट अझ बढी महत्वाकांक्षा अपेक्षित थियो । 

१६. स्कटल्यान्ड

समूह सी । हाइटीलाई १–० ले हरायो ।

नतिजा राम्रो । प्रदर्शन कमजोर । तर सम्भवतः २८ वर्षपछि विश्वकप खेल्नुको दबाबले प्रभाव पारेको हुन सक्छ ।

१७. केप भर्डे

समूह एच । स्पेनसँग ०–० को बराबरी ।

अब विश्वकपमा सबैको दोस्रो मनपर्ने टोली । अनुभवी गोलरक्षक भोजिन्हाको प्रेरणादायी प्रदर्शनका कारण प्रतियोगिताको आश्चर्यजनक टोली बनेको छ ।

१८. बेल्जियम

समूह जी । इजिप्टसँग १–१ को बराबरी ।

बलियो इजिप्टविरुद्ध बराबरी गर्न आत्मघाती गोलको सहारा लिनुपर्‍यो । राम्रो अवसरहरू सिर्जना गर्‍यो र समूहको सबैभन्दा कठिन खेल अब सकिएको छ ।

१९. इजिप्ट

समूह जी । बेल्जियमसँग १–१ को बराबरी ।

विश्वकप इतिहासकै पहिलो जित नजिक पुगेको देखिएको थियो । इमाम आशोरको गोल उत्कृष्ट थियो, तर त्यसबाहेक धेरै अवसर सिर्जना गर्न सकेन ।

२०. सेनेगल

समूह आई । फ्रान्ससँग ३–१ ले पराजित । 

फ्रान्ससँग हार्नु लाजको विषय होइन । ६६औँ मिनेटसम्म गोल खानुपरेन र पहिलो हाफमा निकोलस ज्याक्सनको प्रहार पोस्टमा लागेन भने अगाडि पनि हुन सक्थ्यो ।

२१–३० सम्मका राष्ट्र

२१. पोर्चुगल

समूह के । डीआर कङ्गोसँग १–१ को बराबरी ।

उनीहरूसँग अझै क्रिस्टियानो रोनाल्डो छन् । र एउटा यस्तो टोली पनि, जसले सबै कुराको केन्द्रमा रहने उनको चाहनाको भार बोकेको छ ।

२२. क्रोएसिया

समूह एल । इङ्ग्ल्यान्डसँग ४–२ ले पराजित ।

इङ्ग्ल्यान्डविरुद्ध दुई उत्कृष्ट गोल गर्‍यो । तर रक्षात्मक रूपमा कमजोर देखियो र उमेर ढल्कँदै गरेका स्टारहरूमा अत्यधिक निर्भर छ ।

२३. डीआर कङ्गो

समूह के । पोर्चुगलसँग १–१ को बराबरी ।

संगठित र उत्कृष्ट रक्षात्मक खेलमार्फत पोर्चुगललाई चकित पार्‍यो । प्रतिआक्रमणमा पनि खतरनाक देखियो ।

२४. स्विट्जरल्यान्ड

समूह बी । कतारसँग १–१ को बराबरी ।

ठूलो निराशा । प्रशस्त अवसर सिर्जना गर्‍यो तर आक्रमणमा अत्यन्तै फितलो रह्यो ।

२५. न्युजिल्यान्ड

समूह जी । इरानसँग २–२ को बराबरी ।

प्रतियोगिताको सबैभन्दा तल्लो वरीयतामा रहेको टोलीको छवि विपरीत साहसी प्रदर्शन । एलिजा जस्ट नयाँ उदाउँदो स्टारका रूपमा देखा परेका छन् ।

२६. इरान

समूह जी । न्युजिल्यान्डसँग २–२ को बराबरी ।

रक्षामा अस्थिर देखियो र एक अंक बचाउन भाग्यमानी रह्यो ।

२७. साउदी अरेबिया

समूह एच । उरुग्वेसँग १–१ को बराबरी ।

संगठित खेल र प्रतिआक्रमणमा खतरनाक। प्रतियोगिताका सजिलो सिकार बन्ने दिनहरू अब धेरै पछाडि छुटिसकेका छन् ।

२८. हाइटी

समूह सी । स्कटल्यान्डसँग १–० ले पराजित ।

स्कटल्यान्डलाई समस्या दियो तर निर्णायक अवसर उपयोग गर्ने क्षमता देखाउन सकेन । बलियो र शारीरिक रूपमा सक्षम भए पनि गुणस्तरको कमी ।

२९. दक्षिण कोरिया

समूह ए । चेक गणतन्त्रलाई २–१ ले हरायो । केही समयसम्म चेक गणतन्त्रको रक्षा भेदन गर्न संघर्ष गर्‍यो, तर आवश्यक समयमा उत्कृष्ट खेल्यो । निर्णायक फिनिसिङको कमी हुन सक्छ ।

३०. उरुग्वे

समूह एच । साउदी अरेबियासँग १–१ को बराबरी ।

साउदी अरेबियाविरुद्ध २८ प्रहार गर्‍यो र अन्ततः ढिलो बराबरी गोल निकाल्यो । मार्सेलो बिएल्साको टोलीले फिनिसिङ सुधार गर्नुपर्नेछ ।

३१–४० सम्मका राष्ट्र

३१. टर्की

समूह डी । अस्ट्रेलियासँग २–० ले पराजित ।

७० प्रतिशतभन्दा बढी बल नियन्त्रण गरे पनि अस्ट्रेलियासँग स्तब्ध बन्यो । सन् २००२ मा तेस्रो भएपछि विश्वकपमा फर्किएको टोलीका लागि यो सपनाजस्तो सुरुआत भएन । 

३२. अस्ट्रिया

समूह जे । जोर्डनलाई ३–१ ले हरायो ।

जित्न आत्मघाती गोल र पेनाल्टीको सहारा लिनुपर्‍यो । प्रेरणादायी प्रदर्शन होइन। अब सामना विश्वविजेता अर्जेन्टिनासँग ।

३३. आइभरी कोस्ट

समूह ई । इक्वेडरलाई १–० ले हरायो ।

सुरुआती खेलमा निकै संघर्ष गर्‍यो । अमाद डियालो मैदान प्रवेश गरेपछि खेलमा चमक थपियो र आगामी यात्राका लागि आशा जगायो ।

३४. घाना

समूह एल । पनामालाई १–० ले हरायो ।

पनामाविरुद्ध लामो समय कमजोर देखियो तर ९५औँ मिनेटको विजयी गोलले बचायो । बलिया टोलीविरुद्ध कठिनाइ हुनेछ । अब इङ्ग्ल्यान्ड र क्रोएसियासँग खेल बाँकी छ ।

३५. अल्जेरिया

समूह जे । अर्जेन्टिनासँग ३–० ले पराजित ।

मेसीको जादुले प्रभावित । लक्ष्यतर्फ एउटा पनि प्रहार गर्न सकेन ।

३६. जोर्डन

समूह जे । अस्ट्रियासँग ३–१ ले पराजित ।

एकदमै राम्रो गोल गर्‍यो । तर अस्ट्रियालाई हराउने वास्तविक खतरा कहिल्यै बन्न सकेन । समूह चरण पार गर्न कठिन हुनेछ ।

३७. बोस्निया–हर्जेगोभिना

समूह बी । क्यानाडासँग १–१ को बराबरी । सुरुआती खेल जित्ने अवस्थामा थियो तर टोरोन्टोमा डिफ्लेक्ट भएको गोलले जित खोस्यो ।

३८. क्यानाडा 

समूह बी । बोस्निया–हर्जेगोभिनासँग १–१ को बराबरी । घरेलु समर्थकहरूको अगाडि खेले पनि ढिलो बराबरी निकाल्न डिफ्लेक्ट भएको गोल आवश्यक पर्‍यो ।

३९. इराक

समूह आई । नर्वेसँग ४–१ ले पराजित । एर्लिङ हालान्डलाई रोक्न धेरै टोली सक्षम हुँदैनन् र इराक पनि त्यसमा पर्न सकेन ।

४०. इक्वेडर

समूह ई । आइभरी कोस्टसँग १–० ले पराजित । प्रतियोगिताको सम्भावित ‘डार्क हर्स’ मानिएको टोली भए पनि केही अवसर सिर्जना गरे तापनि निराशाजनक प्रदर्शन गर्‍यो । तर जर्सी भने आकर्षक थियो ।

४१–४८ सम्मका राष्ट्रहरू

४१. चेक गणतन्त्र 

समूह ए । दक्षिण कोरियासँग २–१ ले पराजित ।

ढिलो र सुस्त । अग्रता जोगाउन सकेन । यो युरो ९६ मा सबैको मन जित्ने चेक गणतन्त्र होइन ।

४२. उज्बेकिस्तान

समूह के । कोलम्बियासँग ३–१ ले पराजित । साहसको कमी थिएन र विश्वकप इतिहासकै पहिलो गोलको आनन्द पनि लियो । तर कोलम्बियाको गतिशील खेलसँग जुध्न कठिन भयो ।

४३. दक्षिण अफ्रिका

समूह ए । मेक्सिकोसँग २–० ले पराजित । उद्घाटन खेलका आयोजकहरूलाई अत्यधिक उदार साबित भयो । आक्रमणमा खासै केही देखाएन । बल सजिलै गुमायो । अन्त्यमा नौ खेलाडीमा सीमित रह्यो ।

४४. कतार 

समूह बी । स्विट्जरल्यान्डसँग १–१ को बराबरी । भाग्यमानी सावित । स्विट्जरल्यान्डले उनीहरूलाई पूर्ण रूपमा दबाबमा राखेको थियो र परिणाम भयावय हुन सक्थ्यो ।

४५. पाराग्वे 

समूह डी । अमेरिकासँग ४–१ ले पराजित ।

अमेरिकासँग नराम्ररी पराजित भयो र अवस्था अझ खराब हुन सक्थ्यो । रक्षात्मक शैली हेर्न निकै निराशाजनक ।

४६. ट्युनिसिया 

समूह एफ । स्विडेनसँग ५–१ ले पराजित । इतिहास रच्यो । पहिलो खेलपछि नै प्रशिक्षक बर्खास्त गरियो । ट्युनिसियाको प्रदर्शन कति खराब थियो भन्ने यहीबाट स्पष्ट हुन्छ ।

४७. पनामा 

समूह एल । घानासँग १–० ले पराजित । हालसम्मकै विश्वकपका सबैभन्दा कमजोर खेलमध्ये एकमा सहभागी रह्यो । बराबरीका लागि खेलिरहेको बेला घानाले ९५औँ मिनेटमा विजयी गोल गर्‍यो ।

४८. कुरासाओ 

समूह ई । जर्मनीसँग ७–१ ले पराजित । विश्वकप डेब्युमा ७–१ को भारी हार बेहोरे पनि जर्मनीविरुद्ध गरेको बराबरी गोल उनीहरूले जीवनभर सम्झिने क्षण रहनेछ ।

बीबीसी स्पोर्ट्स रिपोर्टमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप