मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
एसिया कप

आफ्ना खेलाडीलाई घरेलु मैदानमै खेलेको अनुभूति दिन श्रीलङ्कामा ओइरिए नेपाली समर्थक

सोमबार, १८ भदौ २०८०, १३ : ४७
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेटमा सोमबार नेपालले आफूभन्दा निकै बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । आईसीसी एकदिवसीय वरीयतामा भारत तेस्रो नम्बरमा छ भने नेपाल १५औँ स्थानमा छ । नेपालले पहिलो पटक एसिया कप खेल्दैछ भने भारतले सात पटक एसिया कपको उपाधि नै चुमिसकेको छ ।

यसका अतिरिक्त भारत दुई पटकको विश्वकप विजेता राष्ट्र पनि हो । यी दुई चरित्र बोकेका टोली सोमबार एसिया कपमा ‘सुपर फोर’ चरणमा पुग्ने लक्ष्यसहित आपसमा भिड्दै छन् । उक्त खेलमा विजयी हुने टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्नेछ । 

त्यसैले यतिबेला ठुलो सङ्ख्यामा नेपाली समर्थक आफ्नो टोलीको हौसला बढाउन श्रीलङ्काको केन्डी पुगेका छन् । पहिलो पटक एसिया कप खेलिरहेका आफ्ना खेलाडीको मनोबल बढाउन नेपालबाट विभिन्न क्षेत्रका व्यक्ति अहिले केन्डीमा छन् । 

नेपाल र भारतबीचको खेल केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय रंगशालामा खेलिँदैछ । नेपाली क्रिकेटका लागि यो ऐतिहासिक क्षण भएकाले ठुलो सङ्ख्यामा नेपाली समर्थक श्रीलङ्का पुगेका हुन् । नेपाली क्रिकेटको सबैभन्दा लोभलाग्दो पक्ष भनेकै मैदानमा समर्थकहरूको उल्लासमय उपस्थिति हो ।

image0

यो यथार्थबाट विश्व क्रिकेट पनि राम्ररी परिचित छ । घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदा हजारौँको सङ्ख्यामा समर्थकहरू आफ्ना खेलाडीको हौसला बढाउन रंगशाला पुगेका हुन्छन् । चाहे वर्षा होस् वा चर्को घाम, नेपाली क्रिकेट समर्थकलाई रंगशाला पुग्नबाट कुनै पनि प्रतिकुल परिस्थितिले रोक्न सकेको देखिँदैन ।

प्रतियोगिता सुरु हुनुभन्दा निकै अगाडि रंगशालामा ओइरिने यी समर्थकहरू नै वास्तवमा नेपाली क्रिकेटको सबैभन्दा सुन्दर पक्ष हो । नेपाली क्रिकेट खेलाडी पनि आफूलाई हृदयदेखि माया गर्ने हजारौँ समर्थकमाझ खेल्न अभ्यस्त भइसकेका छन् । 

तर, विदेशी भूमिमा आयोजना हुने प्रतियोगिताहरूमा भने नेपाली खेलाडीले नेपाली क्रिकेटलाई मनैदेखि माया गर्ने समर्थकको खासै साथ पाउँदैनन् । क्रिकेट टोलीको हौसला बढाउन विदेश जाने परिपाटी पनि नेपाली समर्थकमा खासै बसिसकेको छैन ।

kheladi

तर, यसपटक नेपाली टोली एसिया कपजस्तो महत्त्वपूर्ण मञ्चमा उपस्थित भएकाले यो ऐतिहासिक क्षणलाई उल्लासमय बनाउन ठुलो सङ्ख्यामा नेपाली क्रिकेट समर्थक श्रीलङ्कामा ओइरिएका छन् । यसअघि आयोजक राष्ट्रविरुद्धको खेलमा आफ्नो टोलीको हौसला बढाउन पनि ठुलो सङ्ख्यामा नेपाली समर्थक पाकिस्तान पुगेका थिए । 

तर, पाकिस्तानभन्दा पनि बढी नेपाली क्रिकेट समर्थक अहिले श्रीलङ्कामा ओइरिएका छन्, एउटा ऐतिहासिक क्षणको साक्षी बन्न । पक्कै पनि श्रीलङ्काको केन्डीमा ऐतिहासिक प्रतियोगिता खेलिरहेका नेपाली क्रिकेटरको मनोबल उच्च बनाउन समर्थकहरूको यो उत्साहजनक उपस्थितिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।   

यसरी आफ्ना खेलाडीको मनोबल बढाउन श्रीलङ्का पुग्ने समर्थकमा राजनीतिज्ञदेखि लिएर कलाकारसम्म रहेका छन् । यसका अतिरिक्त ठुलो सङ्ख्यामा उद्योगी—व्यवसायी र सञ्चारकर्मी पनि नेपाली टोलीको हौसला बढाउन श्रीलङ्का पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप