कांग्रेसमा खोलियो २० जिल्लाको उजुरी, अनुशासन समितिले सोध्न थाल्यो स्पष्टीकरण
काठमाडौँ । नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टी अनुशासन उल्लङ्घन गरेका नेता–कार्यकर्तामाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन भएको एक वर्षपछि अन्तर्घातका उजुरीमाथि अनुशासन समितिले छानबिनको प्रक्रिया अगाडि बढाएको हो ।
कांग्रेसमा गत स्थानीय, प्रदेश र संघीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा ४३ जिल्लाबाट दुई हजार ३ सय उजुरी परेको छ ।
अनुशासन समितिले कार्यविधि नै बनाएर उक्त उजुरीमाथि ‘फास्टट्र्याक’ कारबाही अगाडि बढाउने निर्वाचन समितिका संयोजक आनन्द ढुंगानाले बताए । भदौ ५ मा अनुशासन समितिले पूर्णता पाएपछि १५–२० जिल्लाको उजुरी हेरेर भ्याएको उनको भनाइ छ ।
गत वर्ष साउनमा ढुंगानाको नेतृत्वमा बनेको अनुशासन समिति सदस्यमा ५ भदौमा ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइराला मनोनीत भएका थिए । पूर्णता पाएपछि अनुशासन समितिले ११ भदौमा कार्यविधि बनाएको थियो ।
कार्यविधिमा व्यक्तिगत रूपमा परेका उजुरी र पार्टीका निकायबाट कारबाही सिफारिस भएका उजुरी छानबिनको प्रक्रिया, निर्णयको मापदण्ड र पुनरावेदनको प्रक्रिया समान रहने व्यवस्था छ । समितिले १२ भदौबाट उजुरी खोलेको संयोजक ढुंगानाले बताए ।
‘उजुरी हेरेर स–साना नोटहरु गरेका छौं । त्यसलाई अन्तिम निर्णय गर्न बाँकी छ । खोटाङमा स्पष्टीकरण सोधिएको छ । अरु ठाउँको हेर्दै छौं,’ उनले भने, ‘कसैले इर्स्या पनि उजुरी दिएको होलान् । हामीले बुझ्नु पनि पर्छ । हामीले जिल्ला सभापतिसँग पनि बुझेका छौं । अन्य साथीहरुसँग पनि बुझेका छौं ।’
सत्य र तथ्यका आधारमा मात्र समितिले कारबाही अगाडि बनाउने संयोजक ढुंगानाको भनाइ छ । केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले महासमिति सदस्य चयन हुन नसकेका जिल्ला केन्द्रित उजुरी छानबिन सुरु गरिएको बताए ।
उनका अनुसार १९ जिल्लाका २५ स्थानमा महासमिति सदस्य चयन हुन बाँकी छ । केन्द्रीय निर्वाचन समितिसँग समन्वयमा उक्त जिल्लाका उजुरी छानबिन भइरहेको उनको भनाइ छ ।
‘महासमिति सदस्य निर्वाचनका लागि हामीले निर्णय दिनुपर्ने हुन्छ । त्यसैले सुरुमा निर्वाचन समितिसँगको समन्वयमा महासमिति सदस्य निर्वाचन हुन नसकेका १९ जिल्ला प्राथमिकतामा राखेर छानबिन गरिरहेका छौँ,’ उनले भने ।
कांग्रेसले मंसिर १३ देखि १५ सम्म काठमाडौँमा महासमिति बैठक तय गरिसकेको छ । छानबिनको विषय टुंग्याएर महासमिति सदस्य निर्वाचन गर्ने कांग्रेसको तयारी छ ।
कांग्रेसमा केन्द्रीय सदस्य मधु आचार्य, गणेश लामा, आङ्गेलु शेर्पा, मदन अमात्य, तारामान गुरुङ, चन्द्रमोहन यादव लगायतमाथि कारबाहीको उजुरी परेको छ । पार्टीका दुई दर्जनभन्दा बढी महाधिवेशन प्रतिनिधिमाथि पनि कारबाहीको उजुरी परेको छ । पार्टीका प्रदेश, जिल्ला, क्षेत्र र पालिका कमिटीका पदाधिकारी र सदस्यमाथि पनि उजुरी आएको ढुंगानाले बताए । कारबाहीका लागि उजुरी परेकोहरु जोगाउन अनुशासन समितिमा गुटगत छाया देखिएको छ ।
पाँच सदस्यीय समितिमा संस्थापन पक्षबाट संयोजकसहित तीन जना र इतर पक्षबाट २ जनाको सहभागिता छ । ढुंगाना, न्यौपाने र वाग्लेले संस्थापन पक्षीय हुन् भने गौतम र कोइराला इतर निकट मान्छिन् । संयोजक ढुंगानाले ९९ प्रतिशत उजुरी सर्वसम्मत ढंगले टुंगिने बताए ।
उनले भने, ‘९९ प्रतिशत उजुरी सर्वसम्मत ढंगले टुंगिन्छ । कुनै कुनै विन्दुमा बहुमतबाट पनि निर्णय हुन्छ । हाम्रो कोसिस सबै उजुरी सहमतिबाटै टुंग्याउने छ ।’
अनुशासन समिति सदस्य सञ्जय गौतमले पनि सर्वसम्मत ढंगले उजुरीमाथि छानविन हुने बताए । ‘अनुशासनको कुराले पार्टीका जिल्ला तहमा ठूलो सदस्या देखिएको छ । एकले अर्कालाई अपमान गर्ने काम पनि भएको छ,’ उनी भन्छन्, ‘त्यसैले हामी यसलाई चाडोभन्दा चाडो टुंग्याउने तयारीमा छौं । सबैलाई मिलाएर पार्टी बलियो बनाउनु छ । निर्णयहरु सर्वसम्मत हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण