मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
सानेपामा उजुरीको चाङ

कांग्रेसका आधा दर्जन केन्द्रीय सदस्यमाथि अन्तर्घातको उजुरी

अनुशासन समितिले थाल्याे छानबिन प्रक्रिया
शुक्रबार, १९ साउन २०८०, १७ : १८
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टी अनुशासन उल्लङ्घन गरेका नेता–कार्यकर्तामाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन भएको एक वर्षपछि अन्तर्घातका उजुरीमाथि अनुशासन समितिले छानबिनको प्रक्रिया अगाडि बढाएको हो ।

कांग्रेसमा गत स्थानीय, प्रदेश र संघीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा दुई हजार एक सय उजुरी परेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाको संयोजनमा पार्टी कार्यालयका कर्मचारीहरूले उजुरी सर्टिङ गरिरहेका छन् ।

जिल्लाबाट कारबाहीका लागि सिफारिस भएका नेताहरूको तह छुट्याएर २१ सय उजुरीको सूची तयार पार्ने काम भइरहेको ढुङ्गानाले बताए ।

उनका अनुसार आजभोलि नै अनुशासन समितिलाई पूर्णता दिने तयारीसमेत भइरहेको छ । गत वर्ष साउन २ को केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य ढुंगानालाई अनुशासन समिति संयोजकमा मनोनीत गरेको थियो। एक वर्षसम्म समितिले पूर्णता भने पाउन नसकेको हो।

ढुङ्गानाका अनुसार केन्द्रीय सदस्यमध्येबाट अनुशासन समितिका ४ जना सदस्य मनोनीत गर्न लागिएको छ । पाँच सदस्यीय समितिमा सभापित शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका दुई –दुई जनालाई राखेर पूर्णता दिइने छ ।

समितिको पूर्णता दिने विषयमा बिहीबार नेता कोइरालासँग छलफल गरेका ढुङ्गानाले आज बिहान पार्टी सभापति देउवालाई भेटेका थिए ।

उनले भने, ‘सम्भवतः आज भोलि नै समितिले पूर्णता पाउँछ । त्यसपछि हामी छानबिनलाई अगाडि बढाउँछौँ । एक हप्तामा छानबिन टुङ्ग्याउने योजना छ ।’

पार्टीका केन्द्रीय सदस्यमाथि नै अन्तर्घातको आरोपमा उजुरी परेकाले कारबाहीमा जान ढुङ्गानालाई सजिलो भने छैन । ढुङ्गानाका अनुसार आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यलाई कारबाहीका लागि उजुरी परेको छ ।

कारबाहीका लागि उजुरी पर्नेमा केन्द्रीय सदस्य मधु आचार्य, गणेश लामा, आङ्गेलु शेर्पा, मदन अमात्य, तारामान गुरुङ, चन्द्रमोहन यादव लगायत छन् । काभ्रेका आचार्य र लामालाई गत निर्वाचनमा शिवप्रसाद हुमागाईंलाई अन्तर्घात गरेको आरोप छ । काभ्रे- २ मा हुमागाईँ एमालेका गोकुल बास्कोटासँग पराजित भएका थिए ।

सोलुखुम्बुका शेर्पामाथि नेता बलबहादुर केसीमाथि अन्तर्घात गरेको उजुरी छ । एमालेका मानवीर राईले केसीलाई पराजित गरेका थिए ।

अमात्यमाथि ललितपुर–३ को (२) का उम्मेदवार तथा जिल्ला सभापति जितेन्द्र श्रेष्ठलाई असहयोग गरेको आरोप छ । कांग्रेसका श्रेष्ठ एमालेका प्रेमभक्त महर्जनसँग पराजित भएका थिए ।

सङ्खुवासभाबाट चुनाव जितेका दीपक खड्काले पनि केन्द्रीय सदस्य तारामान गुरुङविरुद्ध उजुरी दिएका छन् । गुरुङमाथि निर्वाचनमा असहयोग गरेको उजुरीमा उल्लेख छ । कांग्रेसका जिल्ला सभापति समेत रहेका खड्काले एमालेका राजेन्द्र गौतमलाई पराजित गरेका थिए ।

सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय सदस्य चन्द्रमोहन  यादवमाथि कारबाही गर्न माग गरेका छन् । पूर्व राष्ट्रपति रामवरण यादवका छोरा समेत रहेका चन्द्रमोहनले निर्वाचनमा आफूलाई हराउन भूमिका खेलेको महेन्द्रको दाबी छ । साउन पहिलो साता बसेको केन्द्रीय समिति बैठकमा पनि सहमहामन्त्री यादवले मोहनचन्द्रमाथि कारबाहीको माग गरेका थिए । अनुशासन मितिमा केही प्रदेश, जिल्ला , क्षेत्रीय, पालिका र वडा सभापतिमाथि पनि उजुरी परेको बुझिएको छ ।

सबैभन्दा बढी उजुरी मधेस प्रदेशबाट आएको संयोजक ढुङ्गानाले बताए । जसमा महाधिवेशन प्रतिनिधि, पूर्व सांसद, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्यविरुद्ध सबैभन्दा बढी अन्तर्घातको उजुरी छ ।

‘प्रमाण पुगेको उजुरीमाथि खुट्टा नकमाएर कारबाही हुन्छ । पार्टीमा अनुशासन कायम गर्ने कुरामा मैले कुनै सम्झौता गर्दिनँ,’ ढुङ्गानाले भने । उनका अनुसार पूर्वाग्रहपूर्ण उजुरीलाई भने समितिले सिधै खारेज गरिदिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप